विगत १५ वर्षदेखि हर्कबहादुर बमले कैयौं ब्यानर बनाए, समृद्धिका नारा लेखे, झन्डा, होर्डिङ बोर्ड, साइनबोट, नेमप्लेट, चित्र बनाए तर परिवर्तन भने कहिल्यै देखेनन्। ४५ वर्षीय हर्कबहादुरले कालीकोटको सदरमुकाम मान्मबाट २०६५ सालदेखि व्यावसायिक रूपमा आर्ट (बोर्ड, ब्यानर लेखन) पेसा अपनाएका थिए।
२०५९ सालमा नेपाल प्रहरीको असही पदमा छनोट भएका बम घरपरिवारको दबाबले गर्दा भर्ना भएर पनि तालिममा गएनन्। द्वन्द्वकालको समय भएकाले परिवारले प्रहरीको जागिर खान जान नदिएपछि बमले आर्ट पेसा रोज्दा उनलाई निकै सकस भएको थियो। तर, यो पेसाले उनलाई जिल्लाभरमै उदाहरणीय पनि बनायो। बमको घर पलाँता गाउँपालिका–९ थिर्पु हो। विद्यालय पढ्ने उमेरदेखि नै उनले विद्यालयको ब्यानर लेख्दै आएको बताए।
२०३५ सालमा जन्मेका बम परिवारका कान्छा छोरा हुन्। उनी अहिले पनि आफ्नो पेसाप्रति इमानदार रूपमा लागिरहेका छन्। उनलाई धेरै काम आएकाले फुर्सद पनि छैन। सदरमुकाम मान्म आएर २०६० सालमा पत्रकार महासंघ कालीकोटको सदस्य, २०६० मै अनेरास्ववियु जिल्ला अध्यक्ष, ७०६१ सालमा इन्सेक प्रतिनिधि भएर दुई वर्ष काम गरेका थिए। एमएडसम्म अध्ययन गरेका बम अहिले आफ्नो पेसामा आबद्ध छन्।
‘हातैले लेख्दा गौरव महसुस हुन्छ, त्यसबेला इनामेल ल्याउनसमेत हिँडेर मान्म पुग्नुपथ्र्यो। सुर्खेतबाट बोर्ड ल्याउनुपर्ने अवस्था थियो। यो बाध्यताको अन्त्य बमले नै गरे। उनी भन्छन्, ‘मेरो पहिलो बोर्ड इलाका प्रहरी कार्यालय थिर्पुबाट सुरु भयो, त्यसबेला हातले लेख्नेबाहेक विकल्प थिएन। त्यही बेलाको सीपले अहिले पनि उनको हात खाली छैन।’ आर्ट पेसा बमको रुचिको विषय हो।
उनले कुनै तालिम वा प्रशिक्षण लिएका छैनन्। ‘केही सरकारी कार्यालय र होटलले बाहेक बोर्ड बनाउने चलन थिएन,’ उनी सम्झन्छन्, ‘अहिले डिजिटल ब्यानर र बोर्ड बजारमा आएका छन्। सस्तो, मिहिनेत र समय कम लाग्ने भएकाले डिजिटलप्रति आकर्षण हुनु स्वाभाविकै हो। तर, बलियो र गुणस्तर खोज्नेहरू हातले लेखेकै बोर्ड–ब्यानर खोज्ने उनी बताउँछन्।
यही कारण बमले लेख्न छाडेका छैनन्। बमकोमा अहिले विभिन्न विकास आयोजनाको होर्डिङ बोर्ड, साइनबोर्ड र नेमप्लेट बनाउनेहरू आउँछन्। हातले लेख्दा मिहिनेत र समय बढी लाग्ने भएकाले अलि महँगो पनि छ। उनी साइजअनुसार एक हजारदेखि पाँच हजारसम्मका होर्डिङ बोर्ड र साइनबोर्ड बनाउँछन्।
उनले एचबी आर्ट दर्ता गरेर काम सुरु गरेको धेरै भएको छ। उनले दुई दशकसम्म धानेको पेसालाई आफ्नै सन्तानले भने अनुशरण गर्न सकेनन्। हकबहादुरका दुई छोरी र एक छोरा छन्। उनी आर्ट गर्दैनन्। बमले हातले झन्डा, ब्यानर, साइनबोर्डसँगै होर्डिङ बोर्ड र नेमप्लेट बनाउँदै आएका छन्। उनी मासिक २०÷३० हजार सहजै आम्दानी गर्छन्।
व्यवस्था परिवर्तन र समृद्धिका थुप्रै नारा, झन्डा तथा पार्टीका ब्यानरमा कोरेरै कपाल फुलाए। तर, देशको अवस्था नफेरिएकामा उनी दुःख मान्छन्। उनकोमा झन्डा बनाउन सबै पार्टीका मानिस आए, आउँछन्। यो उनको मौसमी व्यापार हो। उनी सानादेखि ठूला झन्डा बनाएको ७ सयदेखि १४ सयसम्म लिन्छन्।
झन्डा र ब्यानर पनि मेसिनमार्फत छाप्न थालेकाले अब पेसा नै संकटमा पर्न लागेको उनको अनुभव छ। ‘धेरै वर्षदेखि पार्टीका झन्डा र ब्यानर बनाएको छु। कैयौं समृद्धिका नारा पनि पार्टीका ब्यानर र भित्तामा लेखें,’ उनी भन्छन्, ‘अहिले आफ्नो कमाइबाट तीन सन्तान पढिरहेका छन् भने मान्ममा तीनवटा घडेरीसमेत छन्। उनकी पत्नीको मान्म बजारमै मेमन ट्रेडर्स एन्ड सप्लायर्सको व्यापार छ। उनलाई अहिले पनि गाउँबाट धैरै माग आउने गरेको छ। उनले यसै व्यवसायबाट एउटा छोरालाई काठमाडौंको चेल्सी वल्र्ड स्कुलमा पढाइरहेका छन् भने दुई जुम्ल्याहा छोरी र एउटी दाइकी छोरीलाई कालीकोटमै पढाइरहेका छन्।
प्रकाशित: १३ चैत्र २०८० ०९:०० मंगलबार