२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

हरिवंश आचार्यकाे आयाे गुहार-‘काम देउ न सरकार’ वा ‘मुटु फस्या’थ्यो’

विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन्। देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्या छ’ बोलको गीत ल्याएका हुन्।

आचार्यकै शब्द र संगीत रहेको यो गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ। गम्भीर विष्टले निर्देशन गरेको यो गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अन्जली अधिकारीले अभिनय गरेका छन्। गीतमार्फत आचार्यले ‘काम देउ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोजेको छन्।

‘यो गीतले देशमै केही गर्न खोजेको एउटा युवा कसरी विदेशिन बाध्य हुन्छ भन्ने कथा रमाइलो ढंगबाट उठाएको छ,’ गायक आचार्यले भने, ‘अहिले चाहेर पनि देशमै बस्न नपाउने युवा जमात बढेको छ। गाउँघर रित्तिदै गएको छ। पहिलेपहिले गाउँका मान्छे रोजगारीको सपना बोकेर काठमाडौं आउँथे। अहिले त काठमाडौं युवाहरुको ट्रान्जिटजस्तो बनेको छ। गन्तव्य त विदेश भइरहेको छ  । गीतमार्फत हाम्रो देशेको यही नियति र मर्म उठाउन खोजेको छु।’

श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन्। हरिवंशले यसअघि ‘ए केटा मादलु पड्का’ गीत ल्याएका थिए। सरोज ओली र प्रियंका कार्कीसँगकै सहकार्यमा ल्याएको यो गीतले युट्युबमा करोड बढी भ्यूज पाइसकेको छ।

प्रकाशित: २ चैत्र २०८० १०:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App