‘हजार सपनाको माया लागेर आउँछ,
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ।’
विभिन्न सपना सम्झिएर मनमनै रमाउने भजनशिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्य अब सधैंका लागि बिलाएका छन्। सोमबार अक्सिजन लेभल ह्वात्तै घटेपछि ललितपुरको महालक्ष्मीस्थानस्थित निवासबाट अस्पताल लैजाने क्रममा उनको ८२ वर्षको उमेरमा निधन भएको संगीतकार हरि लम्सालले पुष्टि गरे।
‘दसैंमा लड्नुभएदेखि घरमा आराम गरिरहनुभएको थियो,’ उनले भने, ‘स्वास्थ्य सुधार भइरहेको अवस्थामा सोमबार एक्कासि अक्सिजनको मात्रा घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै उहाँको निधन भयो।’
आचार्यको पार्थिव शरीर मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखेर राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ गर्ने तयारी गरिएको उनले बताए।
१९९९ असोज १६ गते धनकुटामा बलभद्र आचार्य र रेणु आचार्यका सुपुत्रका रूपमा जन्मिएका उनी ‘भजन शिरोमणि’ उपमाबाट सम्मानित भएका थिए। स्वरसम्राट् नारायणगोपालका समकालीन उनले पाश्र्व संगीतमा डेढ दशक बिताउँदा दर्जनौं कालजयी सिर्जना पस्किएका थिए।
डेढ वर्षको उमेरमा महामारीका कारण बुवाको निधन भएपछि उनले करिब तीन दशक आमासँगै भारतको दार्जिलिङस्थित डुवर्समा बिताएका थिए। उनको जीवनीमा आधारित फिल्म ‘आचार्य’ सन् २०११ मा रिलिज भएको थियो। जीवन संघर्ष, भोगाइ र सफलतामा आधारित सो फिल्ममा उनका जेठा छोरा सत्यराज आचार्यले अभिनय गरेका छन्।
उनी हार्मोनियम र टिनको बाकस बोकेर राजधानी छिरेका थिए। दार्जिलिङको चिया बगानमा मजदुरी गरेका उनी २०२० सालमा नेपाल आई रेडियो नेपालमा स्वर परीक्षा पास गरी फर्किएका थिए।
१० वर्षपछि २०३० सालमा रेडियो नेपालको अधिराज्यव्यापी गीत प्रतियोगितामा प्रथम भई उनले स्वर्णपदक जितेका थिए। योसँगै आचार्यको सांगीतिक यात्रा अघि बढेको थियो। त्यसपछि उनले रेडियो नेपालमा करारको जागिर पाएका थिए। मासिक दुई सय रूपैयाँमा करिब नौ वर्ष करारमा काम गरेपछि सुब्बा हुँदै उनी अधिकृत भएका थिए। अधिकृत भएको करिब ११ वर्षपछि उनले राजीनामा दिएका थिए। ‘माया मेरी साँझ बनी डोली चढी आउँछिन्...’ बोलको गीतझैं उनको विवाह भएको थियो। उनले दुई हजार रूपैयाँ ऋण लिएर विवाह गरेका थिए।
‘जीवन भन्नु त घात छ, मृत्यु भन्नु त सास छ, न बास छ न सास छ, मान्छेहरूकै त्रास छ’ बोलको गीतझैं उनीमाथि २०४६ साल मंसिर १९ गते गुलाम अलीलाई भेटेर फर्कने क्रममा राजधानीको बौद्धमा सांघातिक आक्रमण भएको थियो।
सांघातिक आक्रमणमा परेपछि उनको टाउकोमा सयभन्दा धेरै टाँका लगाउनु परेको थियो। नेपाली संगीतमा उचाइ चुमिरहेको बेला २०५० सालमा क्यान्सरका कारण जिब्रो काटिएपछि उनको सांगीतिक यात्रा सधैंका लागि टुंगिएको थियो।
सत्य–स्वरूपका मामा रमेशचन्द्र पाण्डे र उनका साथी प्रेम महर्जनले भक्तराजको उपचारार्थ सहयोगका लागि राष्ट्रियसभा गृहमा ‘भक्तराज आचार्य सहयोगार्थ सांस्कृतिक साँझ’ आयोजना गरे। सो कार्यक्रमबाट उठेको सहयोग रकम जम्मा गरेर सोही वर्षको असोजमा उनको जिब्रो काटिएको थियो।
प्रकाशित: १५ फाल्गुन २०८० १०:४९ मंगलबार