२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

गीतकार अगम विकरालको ‘यादको मूर्च्छना’ लोकार्पण

रावासावा प्राज्ञिक समाज नेपालले गीतकार अगम विकरालको ‘यादको मूर्च्छना’ गीतसंग्रहको लोकार्पण गरेको छ।

रावासावा प्राज्ञिक समाज नेपालले प्रकाशित गरेको उक्त कृति नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा लोकार्पण भएको हो।

लोकार्पणपछि गीतकारलाई बधाई दिने क्रममा कृतिभित्र विभिन्न आयामका गीतहरू समावेश भएको र कुनैकुनै गीतले आफूलाई अत्यन्तै भावुक बनाएको साथै कुनै गीतले आफूलाई थप प्रेरणा र ऊर्जा समेत भरेको धारणा राख्दै मौलिक अथवा रैथाने माटो र जनजीवनका गीतहरूले आफूलाई बढी नै छुने बताएका हार्तम्छालीले मन्तव्यकै क्रममा पुर्वेली रैथाने भाकाका गीत गाएर कार्यक्रममा थप रौनक भरेका थिए।

त्यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति तथा कार्यक्रमका विशेष अतिथि शम्भु राईले गीतकारलाई शुभकामना दिने क्रममा ‘यादको मूर्च्छना’ जस्ता कृतिले नै स्रष्टालाई अमर बनाउने धारणा राखेका थिए। अब गीतकारहरूले आफ्ना अधिकारका लागि लड्नुपर्ने र त्यसमा आफ्नो सधैं साथ रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका थिए। उनले कृतिभित्रका ‘किन धाउनु मन्दिर’ बोलको गीत अत्यन्तै मनपरेको बताउदै वाचन समेत गरेका थिए।

त्यसै गरी प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले सिर्जनाका अन्य विधाभन्दा गीतले सर्जकलाई आम मानिसमा छिटो चिनाउने भन्दै गीतको शक्ति र सामर्थ्यबारे बाेलेका थिए।

त्यसैगरी विशेष अतिथिकै रूपमा उपस्थित वरिष्ठ साहित्यकार डा.विष्णु राईले ‘यादको मूर्च्छना’ शीर्षकले नै आफूलाई छोएको बताए। उनले अगमको प्रत्येक गीतको प्रशंसा गर्दै त्यसमा कवि चन्द्र रानाहँछा सहकार्यले थप बल पुगेकाे बताए।

त्यसैगरी डा. भक्त राई, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, वरिष्ठ गीतकार शुभ मुकारूङले पनि गीतसम्बन्धी आआफ्नो धारणा राख्दै गीतकार विकराललाई शुभकामना दिएका थिए।

कृति समीक्षक रूपमा उभिएका वरिष्ठ कवि/ गीतकार अमर बान्तुले गीतकार अगम विकरालका गीतका प्रत्येक शब्दले आफैं धुन बोकिरहेको बताउँदै कुनै समय गीतकार अगमको गीतमा आफूले संगीत भर्ने सोच बनाएको बताए।

त्यस्तै वक्ताकै रूपमा उभिएकी वरिष्ठ गीत/ गजलकार शीतल कादम्बिनीले कृतिभित्र समाविष्ट आफूलाई  मनपरेका गीतहरू वाचन गर्दै अगमका गीतहरू अत्यन्तै मर्मस्पर्शी भएको यद्यपि बिछोड र पीडाका गीतहरूमा भन्दा संघर्ष, मिलन, आशा र उत्साहका गीतहरूमा अब अगमले कलम चलाउनुपर्ने आशय व्यक्त गरिन्।

त्यस्तै अर्का वक्ता चर्चित गीतकार हर्क साउदले पनि अगमका गीतकार अत्यन्तै सुन्दर भएको तर कुनै गीतमा भावहरू दोहोरिएकाे आभास भएको संकेत गर्दै अगमलाई आफ्नो संस्कृतिमाथि अलि गीत लेख्न अनुरोध गरेका थिए।

त्यस्तै कार्यक्रमका अध्यक्ष कवि बम बानियाँ, कार्यक्रम संयोजक प्राज्ञ चन्द्र रानाहँछा साथै वरिष्ठ उपाध्यक्ष सुरेश हाचेकालीले समेत अगमको लेखनको बहुआयामबारे आआफ्नै धारणा पस्किएका थिए।

संस्थाका महासचिव गायक भरत लिमेल मगर, कोषाध्यक्ष कवि यम बास्तोला, सदस्य कवि डि. अनुरागी लगायत उक्त भव्य कार्यक्रममा  गीतकार संघ नेपालमा उपाध्यक्ष रमेश कोइराला, महासचिव टीका राई ‘शिव’, प्राज्ञ भीषण मुकारूङ, खोटाङ कलाकार समाजका अध्यक्ष रूपकुमार राई, गायक दिलेन्द्र मुकारूङ, संगीतकार गणेश पराजुली, संगीतकार शिवसंगम राई, साहित्यकार प्रगति राई, कलाकार राज्य राई डेमिन र डि. आर. राईकाे उपस्थित रहेकाे थियाे।

त्यस्तै कार्यक्रममा सचित राई, कृष्ण भुसाल, शुक्र राई, अन्जना राई, चन्द्र मादेन आन्छन, बज्रकुमार थुलुङ, बोधराज पौडेल, भीम देवान, इनुमा राई, किरात राई यायोक्खा, भक्तपुरका अध्यक्ष चन्द्रकुमार राई, किरात मुन्दुम सेवा समितिका सचिव देवान तिलुङ, समाजसेवी भक्त राई, श्रीराई, फुलमाया राई रानाहँछा अनिस, सुनिता राई र कलाकार ममता रानाहँमा समेतको उपस्थिति रहेको थियाे।

प्रकाशित: २२ माघ २०८० ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App