मान्छेहरूलाई हेरिरहेछु म। कोही हिँडिरहेछन्, कोही दौडिरहेछन्।
म सोच्छु, हिँड्नेहरू किन सुस्त सुस्त हिँडेका होलान्? फेरि, दौडनेहरू चाहिँ किन यस्तरी दौडेका होलान्? कहाँ के भेट्नु छ तिनलाई? आँखा चिम्लेर दौडनेहरूलाई देखेर एउटा कथा सम्झन्छु म।
कथामा एउटा पात्र छ, उसलाई भनिएको छ–‘बिहानदेखि घाम नअस्ताउन्जेल तिमी कति दौडन सक्छौ, दौड। जति दौडन सक्छौ अर्थात् जति किलोमिटर दौडन सक्छौ, तिमीले दौडेको त्यो सम्पूर्ण जमिन तिम्रो हुनेछ।’
मान्छे न थियो ऊ, दौडेजति जमिन सित्तैमा आफ्नो हुने भएपछि बिहान हुन नपाउँदै ऊ आँखा मिच्तै दौडन थाल्यो। जमिन–प्राप्तिको भोकमा पसिना चुहाउँदै दौडिरह्यो। जब सूर्यास्त हुन लाग्यो, उसको लोभ अझै बढ्दै गयो। त्यसैले झन्–झन् सकि नसकी दौडन लाग्यो। र, परिणाम यस्तो भयो, अन्ततः ऊ लखतरान भएर भुइँमा पछारियो, नउठ्ने गरी पछारियो। अर्थात्, त्यो पात्रको मृत्यु भयो। र, त्यो मृतक पात्रलाई त्यहीं समाधिस्थ गरियो।
कथाले यही सन्देश दिन्छ कि जीवनभर मान्छेले धनसम्पत्ति र जग्गाजमिनका लागि जति दौडधुप गरे पनि अन्ततः उसलाई चाहिने भनेको समाधिस्थ गर्नका लागि आवश्यकीय ६ फिट जमिन मात्रै हो।
तर, आजको समयमा दौडनेहरूको गतिलाई हेर्दा यहाँ धनसम्पत्ति या जग्गाजमिनको मात्रै लोभ छैन मान्छेलाई, त्यसभन्दा अघि अर्थोककै पनि भोक देखिन्छ। त्यो भोक हो-नामको, महत्त्वाकाङ्क्षाको। जताततै प्रतिस्पर्धा देखिन्छ-कोभन्दा को ठुलो? यतिसम्म कि सानो टोल–समाजभित्र पनि एकअर्कामा हानथाप देखिन्छ।
यसो हेर्ने हो भने देशका विभिन्न स्थानबाट आएर बसेका सहरभित्रका कुनै गल्लीमा सिमाना जोडिएका छिमेकीहरू तँभन्दा म ठुलो भन्ने अहम्मा बाँचेका भेटिन्छन्। अझ, अलिक ध्यान दिएर हेर्ने हो भने खास गरेर लेखक वर्गमा यो अहम्पना धेरैभन्दा धेरै देखिन्छ।
किताब निकाल्ने कुरो त परै भयो, एउटा कविता–कथा लेखेर कुनै कथित चर्चित पत्रिकामा छापिएपछि उसले त्यो दिन आफूभन्दा ठुलो लेखक अरू कसैलाई देख्दैन। अझ एउटा किताब नै छाप्यो भने त ऊ नै देशको सबैभन्दा ठुलो लेखक ठानिहाल्छ आफूलाई। त्यसमा पनि अखबारहरूले त्यो किताबको ‘रिभ्यु’ छापिदिएपछि त उसलाई छोइसक्नु हुँदैन। त्यसभन्दा पनि अझै उसले कुनै पुरस्कार नै पायो र त्यो कुनै ठुलै राशीको पुरस्कार हो भने त त्यसको कुरा गरेर के साध्य!
नभन्दै, पुरस्कार प्राप्त कुनै पनि पुस्तक सामान्यतः पुस्तक पसलबाट अलिक बिक्री पनि हुने गरेको तथ्याङ्क भेटिन्छ। विडम्बना! पुस्तकको यही बिक्रीलाई आधार मानेर सम्बन्धित लेखक आफूलाई सर्वमान्य लेखक मानिदिन्छ। ऊ सोच्छ, यो देशमा मभन्दा ठुलो अर्थात् सर्वाधिक लोकप्रिय लेखक अर्को कोही छैन।
यहाँनिर, सबैभन्दा ध्यान दिएर बुझ्नुपर्ने कुरो केही अर्कै छ। के पुस्तक बिक्री नै लेखकको लोकप्रियताको मापदण्ड हो? कदाचित् हो भने, मलाई यहाँनिर प्रश्न गर्न मन लाग्छ -बिक्रीकै कुरा गर्ने हो भने नेपालजस्तो देशमा किताबभन्दा धेरै गुना बढी पात्रो बिक्छ। वर्षमा लाखौंलाखको सङ्ख्यामा बिक्छ। के, पात्रोको बिक्रीलाई लोकप्रियताको कसी मान्न सकिन्छ? सत्य यो हो, पात्रो त आवश्यकता हो। आवश्यकताका कारण त्यो बढी बिक्री हुन्छ। यही दृष्टिकोणले हेरेर भन्नुपर्दा, किताबको बिक्रीलाई लोकप्रियको अर्थमा बुझ्न सकिन्न। अर्थात्, हल्लाको भरमा या चर्चाकै भरमा किताब बिक्री भएको हुन सक्छ। तर, त्यो किताब मन पराइयो या मन पराइएन भन्ने कुरो त किताब किनेर पढिसकिएपछि मात्र भन्न सकिन्छ।
यस अर्थमा, किताबलाई बिक्रीमा भन्दा बढी किताबको लेखनलाई बढी महत्त्व दिन आवश्यक छ। यसलाई यसरी बुझ्न सकिन्छ– सयवटा किताब बिक्री भएर दुई जनाले मन पराउनु महत्त्वपूर्ण कि दशवटा किताब बिक्री भएर नौ जनाले मनपराउनु महत्त्वपूर्ण? पक्कै पनि नौ जनाले मन पराउनु नै लेखक लोकप्रिय हुनु हो।
कुनै लेखमा मैले लेखेको पनि थिएँ एउटा सत्य घटना। राजधानीका एक प्रकाशकले चर्चित बनाएका एक तथाकथित लेखकको एउटा नयाँ किताब बजारमा आउनु अघिदेखि नै त्यसको चर्चा महिनौंदेखि भइरहेको थियो। छापिएर आएपछि हो न हो चर्चाका पछि दौडिएर करिब ७००/– रूपैयाँमा सो किताब किन्नेहरूको लस्कर नै लाग्यो।
यसैबिच एक साहित्यनुरागी एक पाठकले बडो आतुरीका साथ किताब किने र घर लगेर पढ्न लागे। तर, पढ्दापढ्दै केही समयमै सम्भवतः उनले पूरै पढेर नसक्दै किताब बन्द गरे र फेसबुकमा एउटा मज्जाको स्टाटस यसप्रकार लेखे– ‘यो किताबले मेरो एक हप्ताको खाजा (मोमो) को अपहरण गर्यो, यसको क्षतिपूर्ति सम्बन्धित प्रकाशकबाट गराऊँ कि लेखकबाट?’
समष्टिमा कुरा यत्ति हो कि कुनै पनि लेखकले आफूलाई सच्चा लेखक मान्छ भने उसले आफूलाई ‘ठुलो लेखक’ भनाइमाग्न प्रकाशकसँग वा अखबारका पत्रकारसँग कुनै पनि खालको चलखेल गरिरहनुपर्ने जरुरत नै हुन्न। कहीं बिपीको ‘मोदिआइन’मा भनिएको वाक्य सम्झना हुन्छ-‘ठुलो होइन असल हुनू!’ हो, आजको विकृति–उन्मुख हुँदै गइरहेको समाजमा असल हुन सकिएला–नसकिएला तर असल हुने हरप्रयास भने जारी राख्नुपर्छ।
हुन पनि लेखकले इमानदार भएर, नैतिकवान् भएर राम्रो लेख्ने, मन छुने लेख्ने हो भने समाजमा त्यही लेखनले असली कित्तामा स्थापित गराउन कहाँ कठिन हुन्छ र! तर, जहाँसम्म ठुलो हुने जमर्को गरियो भने त्यहाँनिर भने पक्कै पनि समस्या आइपर्छ। ठुलो बनिन–बनाइनका लागि अनेक चलखेल गर्नुपर्यो, नाटक गर्नुपर्यो, षड्यन्त्रका तानाबाना बुन्नुपर्यो।
हो, बाँसको खुट्टा हालेर सबैभन्दा अग्लो हुँ भनेर केहीछिन कसैले घमण्ड गर्न सक्ला। तर, त्यो घमण्ड त्यतिबेला तोडिन्छ, जुनबेला उसले थाहै नपाई त्यो बाँस भाँचिन सक्छ। र, जब अग्लो बाँसको आधारमा उभिएको मान्छे त्यो अग्लाइबाट जमिनमा पछारिन पुग्छ, त्यतिबेला थाहा हुन्छ आफ्नो वास्तविक अग्लाइ। जब कि त्यतिखेर आफ्ना हुँदाखाँदाका सग्ला खुट्टा भाँचिएर ऊ बामपुड्के भइसकेको हुन्छ। चेतना भया!
प्रकाशित: १३ माघ २०८० ०१:०२ शनिबार