२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

भक्तपुरको हनुमानघाटमा आजदेखि एक महिने स्वस्थानी मेला

स्वस्थानी मेलास्थल भक्तपुर नगरपालिका–७ हनुमानघाट क्षेत्र। तस्बिर: कृष्ण किसी/नागरिक

एक महिने श्रीस्वस्थानी व्रतकथा भनेपछि धेरैले काठमाडौँको साँखुस्थित शालीनदीमा हुने मेला भनेर सम्झन्छन्। तर, भक्तपुरको हनुमानघाटमा पनि एक महिनासम्म यस्तै भव्य मेला लाग्ने गर्छ।

भक्तपुर नगरपालिका–७ हनुमानघाटमा चल्ने यो एक महिने मेलामा पनि साँखुमा जस्तै व्रत बस्ने महिलापुरुषहरू भेला भई नित्य कर्म गर्ने गर्छन्। साँखुसँगै यो वर्षको मेला भक्तपुरमा पनि बिहीबारदेखि नै सुरु हुँदैछ।

मेलाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। व्रतका लागि हनुमानघाट खोला सफा गर्ने, व्रतका क्रममा दैनिक स्नान गर्न खोलामा खाल्डो बनाएर सफा पानी राख्ने लगायतको तयारी पूरा गरिएको हो। साथै व्रत अवधिभर व्रतालु महिलाहरू बस्ने ठाउँको बन्दोबस्तसमेत गरिएको छ।

माधव नारायण व्रत (धलं) सेवा समितिका अध्यक्ष उद्धव खाइतूले स्थानीय भक्तालुहरूको सहयोगमा काम पूरा गरेको बताए। खोलामा दुर्गन्ध भई पानी नबग्ने भएकाले त्यहाँको फोहोर फालेर सफा पानी रहने खाल्डो बनाइएको उनले बताए। एक महिनासम्म नित्य पूजा कार्य गरी माघ शुक्ल पूर्णिमाका दिन यहाँको व्रत समापन हुन्छ।

धार्मिक तपोभूमि नेपालमा हिन्दु महिलाले स्वस्थानीको पूजा गर्दै एक महिने व्रत बस्ने चलन छ। आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली महिलाले एक महिनासम्म श्रीस्वस्थानीको व्रत बस्ने गर्छन्। यो व्रत पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्छ।

किंवदन्तीअनुसार सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव पति पाऊँ भनी श्रीस्वस्थानी व्रत बसेको कथा छ। व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यताअनुसार चिताएको पुग्ने विश्वासमा श्रीस्वस्थानीको व्रत बस्ने चलन छ। यस अवधिमा स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबिच भएको संवादको कथा घरघरमा सुन्ने र सुनाउने परम्परा छ।

संस्कृतिविद् विनोदराज शर्माका अनुसार भक्तपुरको हनुमानघाटमा नेपाल संवत् ७२२ देखि माधवनारायणको उपासनायुक्त धलंको परम्परा चलेको लिखित प्रमाण छ। यही चलनअनुसार अहिले पनि यहाँ प्रत्येक वर्ष निरन्तर मेला लाग्दै आएको छ।  

प्रकाशित: ११ माघ २०८० ०४:२० बिहीबार

अक्षर संस्कृतिविद् विनोदराज शर्मा श्रीस्वस्थानी व्रतकथा