९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

दक्षिण भारतका चारै फिल्म उद्योग हडतालमा

चेन्नई– डिजिटल सर्भिस प्रोभाइडर (डिएसपी)को नाममा हलले शोषण गरेको भन्दै तमिल र तेलगु फिल्मका निर्माताले गत बिहीबारदेखि सुरु गरेको हड्ताल अनिश्चित कालका लागि लम्बिएको छ।

आइतबार चौथो पटक भएको हल र निर्माताबीचको वार्ता टुंगोमा नपुगेपछि दक्षिण भारतका हलमा कुनै पनि फिल्म रिलिज भएका छैनन् । डिएसपी शुल्क घटाउनुपर्ने निर्माताको मागमा हलवाला सहमत हुन नसकेपछि दुवै उद्योगका निर्माताले मार्च १ देखि हललाई फिल्म नदिने घोषणा गरेका थिए । तमिल र तेलगु फिल्मका निर्माताको मागमा ऐक्यबद्धता जनाउँदै कन्नड र मलयालम फिल्म उद्योगले पनि फिल्म रिलिज नगरेपछि सम्पूर्ण दक्षिण भारतमा स्थानीय फिल्मको रिलिज रोकिएको छ।

दक्षिण भारतमा भर्चुअल प्रिन्टिङ कस्टको नाममा डिजिटल सर्भिस प्रोभाइडरहरू क्युब र युएफओले एउटा स्क्रिनका लागि निर्माताबाट २२ हजार ५ सय भारतीय रुपैयाँ शुल्क लिँदै आएका छन् । तर, फिल्म चलेका बखत हलले अन्य विज्ञापनबाट उठाएको पैसा भने निर्मातालाई दिने गरेका छैनन् । तर, हलिउड फिल्मका लागि भने हलले जम्मा १० हजार भारतीय रुपैयाँ मात्र लिने गरेको छ । चारै उद्योगका निर्माता यो  शुल्कमा भारी कटौती हुनुपर्ने एक सूत्रीय अडानमा छन्।

तर, क्युबका सह–संस्थापक सेन्थिल कुमारले आफूहरूले लिँदै आएको भर्चुअल प्रिन्टिङ कस्ट (भिपिसी) चार्ज संसारमै सबैभन्दा सस्तो रहेको दाबी गरेका छन् । उनले एकमुष्ट २२ हजार तिर्न नसक्नेका लागि प्रत्येक सोमा ३ सय २५ तिर्ने विकल्प पनि रहेको बताए।

भर्चुअल प्रिन्टिङ कस्टको नाममा हलले निर्माता डुबाएको भन्दै दक्षिण भारतका तमिल, तेलगु, मलयालम र कन्नड चारै फिल्म उद्योग हडतालमा उत्रिएका छन् । गत बिहीबारदेखि हलमा फिल्म रिलिज नगर्ने अडान राख्दै आएका उनीहरूको शुल्कमा भारी कटौती गर्नुपर्ने माग छ ।

‘हामीले लिएको मूल्यमा डिजिटल मास्टरिङ सुविधा, फिल्मको डेलिभरी, डिजिटल अधिकारको व्यवस्थापन र दीर्घकालीन अभिलेखलगायतका सुविधा निःशुल्क उपलब्ध गराएका छौं । बाहिरतिर यी सब कामको बेग्लै पैसा लाग्छ,’ कुमारको दाबी छ ।तमिलका एक निर्माताले भने कुमारले दाबी गरेअनुसारको अवस्था नभएको बताए । चारवटा फिल्म बनाएका उनले भिपिसीको नाममा डिपिसवालाले अनावश्यक पैसा लिइरहेको बताए।

‘मैले २ करोड बजेटमा बनेको फिल्मबाट भिपिसी मात्र ५० लाख तिरें । यो १५ लाख मात्र हुन सक्थ्यो । सन् २०१७ मा मेरा ४ फिल्म रिलिज भए र भिपिसीवापत मात्र करिब डेढ करोड तिरें । यो बजेटमा मैले अर्को एउटा फिल्म बनाउन सक्थें । अब भन्नुस् निर्माता कसरी ठगिएका छैनन् ?’ उनले भने ।
मार्च महिना फिल्म नचल्ने मौसम भए पनि हलवालाहरू निर्माताले नचाहिँदो अडान राखेको बताउँछन् । हलवालाको तर्क छ– निर्माताले आफ्नो फिल्म घाटामा जानमा भिपिसी शुल्कलाई दोष दिनभन्दा कलाकार र प्राविधिकलाई दिइरहेको नचाहिँदो पैसामा पुनर्विचार गर्नुपर्छ।

वितरकले पनि निर्माता घाटामा जानमा भिपिसी नभइ कलाकारको पारिश्रमिक मुख्य कारण रहेको बताए । तमिल फिल्म वितरण गर्दै आएका त्रिपुर सुब्रमण्यमले भने , ‘निर्माताहरू भिपिसीले डुबाएको तर्क पेश गरिरहनु भएको छ जुन निर्माताको कुल लगानीको २ देखि ३ प्रतिशत हुन आउँछ । तर, तपाईंले स्टार र प्राविधिकले तिरिरहेको पैसा ७० प्रतिशत हुन आउँछ । तपाईं स्टारको पैसाका बारेमा कहिले कुरा गर्नुहुन्न तर भिपिसी चार्जले डुबायो भनेर हल बन्द गराउन लाग्नु भएको छ।’

तमिल फिल्ममा चलेका हिरोले २७ देखि ३५ करोड भारुसम्म पारिश्रमिक लिइरहेका छन् भने निर्देशक, संगीतकार तथा छायांकारले १० करोडको हाराहारीमा पैसा लिने गरेका छन् । विगत ५ वर्षयतादेखि त पैसा उठाइदिन सक्ने कलाकारले नाफामा पनि सेयर लिने गरेका छन् । यसले निर्माताको नाफा घटाउने काम गरेको छ।

हड्तालले मल्टिप्लेक्सलाई भने खासै असर गरेको छैन । हिन्दी र अंग्रेजी फिल्म यथावत चलिरहँदा मल्टिप्लेक्समा हडतालको असर न्यून छ तर साना सहरका हलमा भने हिन्दी र अंग्रेजी दुवै फिल्म नचल्ने भएकाले उनीहरू मर्कामा परेका छन् । मंगलबार यस्ता हलहरूले पत्रकार सम्मेलन गर्दै आफ्ना समस्या राख्ने तयारी गरिरहेका छन् ।
 

प्रकाशित: २१ फाल्गुन २०७४ ०२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App