३ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

ठाउँ बरु साँघुरो होस्, फराकिलो मन बनाऊँ!

मुक्तक

१.मुक्तक

अज्ञानतालाई अन्त्य गर्ने बाल्नुपर्छ दियो अब,

च्यातिएको सम्बन्ध टाल्ने बन्नुपर्छ सियो अब।

अर्काको मुख ताकेर बस्दैमा केही नहुने रहेछ,

हरेक टोलबाट निस्कनुपर्छ देश हाँक्ने मियो अब।

२. मुक्तक

विकासका पूर्वाधारहरू परीक्षणमा छन् भन्नुपर्छ,

अनि हाम्रै नेताको असली आवरणमा छन् भन्नुपर्छ।

डर मान्नुपर्छ भगवानसँग यदि कसैले भन्यो भने,

अनुशासित बन है, ईश्वर कणकणमा छन् भन्नुपर्छ।

३. मुक्तक

जमिनलाई फाली अनि धान बालीलाई आली मिलोस्,

संगत गर्दा जाली र दुश्मनको पनि ताली मिलोस्।

असल र खराब त बिस्तारै समयले सिकाउने छ,

गुरु र बाबाआमाको स्यावासी र गाली मिलोस्।

४. मुक्तक

ठाउँ बरु साँघुरो होस्, फराकिलो मन बनाऊँ,

गरिब नै होस् केही हुन्न संगतमा स्वजन बनाऊँ।

जस्तो दिन्छौं उस्तै आउँछ अपमान र सम्मान पनि,

धन नै नहोस् तर पनि आनन्दित जीवन बनाऊँ।

५.मुक्तक

उर्लिएको खहरे नदीमा मिसियो बहावसँग मेल खायो,

अपरिचित नै भए पनि हाम्रो भावसँग मेल खायो।

अलग थियो बसोबास, अलग्गै पढ्यौं स्कुल कलेज,

सायद पाठ्यक्रम एउटै थियो कितावसँग मेल खायो।

प्रकाशित: २९ पुस २०८० ०४:५६ आइतबार

अक्षर मुक्तक