६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

दुईदशक पछि कन्दराको ‘कमब्याक’

पोखरेली व्याण्ड कन्दरा दुईदशक पछि गृहनगरमा गुञ्जिने भएको छ। कुनैबेलाको चर्चित र लोकप्रिय कन्दरा झण्डै २० वर्षपछि आउँदो शुक्रबार साँझ पोखराको प्रदर्शनी केन्द्र नयाँबजारमा गुञ्जिन लागेको हो।

पर्यटनसँग सम्बद्ध संघसंस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी) को आयोजनामा ‘कन्दरा सांगीतिक अभियान–२०८०’ अन्तर्गत पोखरामा पहिलो कार्यक्रम हुन लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। पुस २७ गते साँझ ५ बजेदेखि ७ बजेसम्म २ घण्टा अवधिसम्म कन्दराले आफ्नो नयाँ तथा पुराना गरेर डेढदर्जन गीत प्रस्तुत गर्नेछ।

कार्यक्रममा कन्दराका गायक विवेक श्रेष्ठ गुञ्जिरहँदा उनलाई सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन र पंकज झाले संगीतमा साथ दिनेछन्। सो सांगीतिक कार्यक्रमको व्यवस्थापन कन्दरा व्याण्डको व्यवस्थापन हेर्दै आएको अल्फा स्क्वायर प्रालिले गर्ने भएको छ। जसले सांगीतिक अभियानलाई सफल बनाउनका लागि पोखराको प्रदर्शनी केन्द्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको स्टेज निर्माण गरेको दाबी गरिएको छ।

कार्यक्रमलाई भव्यता दिने प्रयास भईरहेको आयोजक पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए। ‘पहिला घरदेश अनि परदेश’ भन्ने मूल मन्त्रका साथ हुने सांगीतिक अभियान नेपालको सातै प्रदेशमा आयोजना गरिने परिषद्का अध्यक्ष श्रेष्ठले जानकारी दिए। ‘यो हाम्रो पहिलो कार्यक्रम हो,’ उनले भने, ‘पोखरापछि अन्य प्रदेशका मुख्य सहरहरुमा गएर कार्यक्रम गर्छौ।’

पोखरासहित समग्र नेपालको पर्यटनमा टेवा पुगोस् भन्ने हेतुले कार्यक्रम गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए। ‘हामी कार्यक्रमको दौरानमा सरोकारवालासँग पनि छलफल गछौं, सांगीतिक कार्यक्रम भइरहँदा पनि आन्तरिक ठाउँहरुको भ्रमणका लागि अपिल गर्छौ। त्यसपछि परदेशमा गएरपनि घरदेश भ्रमणको निम्तो दिन्छौं,’ उनले भने।  

कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठले आफू जहाँ भएपनि देशको मायामा कहिल्यै कमी नआएको बताए। ‘प्राकृतिक सुन्दरताले भरिएको नेपालमा अथाह सम्भावना छ,’ उनले भने, ‘मैले २१ वर्ष बिदेशमा बिताए। कैयौं देश घुमे। तर नेपाल जत्तिको सुन्दर कहिं पाईन।’ बैदेशिक रोजगारी पश्चात पछिल्लो आधा दशकदेखि पोखरामै बस्दै आएका श्रेष्ठले आफूले कहिल्यै विदेशिन नचाहेको बताए।

‘मलाई विवेक आउँछ, फेरी जान्छ, कतै अहिलेपनि फेरी बिदेश जाने त होईन भनेर बारम्बार प्रश्न सोधिन्छ,’ उनले भने, ‘म आत्मा साक्षी राखेर भन्न चाहन्छु विवेक कहिल्यै विदेश जान चाहँदैन। मलाई कहिल्यैपनि विदेश जान मन छैन, म कहिल्यै विदेश गएको छु भने त्यतिबेलापनि आत्मा नेपालमानै थियो, शरीर मात्र विदेशमा हो, अहिले पनि विदेश जान चाहन्न, यो उद्घोष नै गर्न चाहन्छु।’

उनले आफू मात्र नभई कुनैपनि कलाकारलाई बिदेशिन नदिएर यहिं बस्ने वातावरण बनाईदिन पनि आग्रह गरे। उनले भने, ‘हामी फुल टाइम म्यूजिकमा लागेको कलाकारलाई फुल टाइम म्यूजिकमा नै लागेर जिउने अवसर दिनुस्, हामी क्रियटिभिटिमा लागेको मानिसलाई त्यहीं मात्र गर्ने वातावरण बनाइदिनुहोस्। त्यो वातावरण तपाईंहरुले बनाईदिनुहोस।’

प्रकाशित: २६ पुस २०८० ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App