खोटाङ – अभिनेता दयाहाङ राईलाई खोटाङको ऐसेलुखर्क–५ रिब्दुङ महेश्वरीमा निर्माण सुरु गरिएको किराँत संग्रहालयको सद्भावना दूत बनाइएको छ।
किराँत समुदायको ऐतिहासिक थलो मानिने महेश्वरीमा चन्दा संकलन अभियानबाट सुरु गरिएको संग्रहालय निर्माण अभियानलाई पूरा गर्नका लागि राईलाई सद्भावना दूत बनाइएको हो। संग्रहालय निर्माण सम्पन्न गर्नका लागि किरात राई यायोक्खा जिल्ला कार्य समिति काठमाडौंको समन्वयमा राईलाई आइतबार सद्भावना दूत बनाईएको संग्रहालय निर्माण समितिका संयोजक खुक्सङ खम्बुले बताए।
किराँत जातीको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सामग्री, भेषभुषा, गरगहना लगायतका बहुमुल्य सम्पदालाई संकलन गर्दै संरक्षणका लागि महेश्वरीमा निर्माण सुरु गरिएको छ। करिब ५५ लाखको लागतमा ३ वर्षमा पूरा गर्नेगरी तीन तले पक्की भवन निर्माण गरि त्यसमा संग्रहलय स्थापना गरिने छ। संग्रहालयको भवन निर्माणका लागि देशबिदेशबाट सहयोग समेत प्राप्त भइरहेको खम्बुले बताएका छन्।
किरात अध्यायन केन्द्रको रुपमा स्थापित गर्दै पर्यटन प्रवद्र्धनमा समेत टेवा पु-याउने गरी दश किरातको प्रतीक स्वरुप ‘दश भुजा र दश कोण’ भएको संग्रहालय निर्माण गर्न लागिएको निर्माण समितिले जनाएको छ।
संग्रहालय निर्माणका लागि तत्कालिन गाबिसबाट १ लाख र आदिबासी जनजाति प्रतिष्ठानबाट २ लाख बाहेक अन्य रकम चन्दा संकलन गरेर जम्मा गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ। संग्रहालयका लागि स्थानीय शम्सेरजंग राई, मानबहादुर राई र पूर्णबहादुर राईले ८ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्।
प्रकाशित: ६ फाल्गुन २०७४ १५:१४ आइतबार