“तल्लोबाटो हामी कोलम्बिया पुगेपछि पानामाको जंगलमा एजेंटको पछि लाग्यौं।’’ रिडी किनारको धजेले सास तानेर मलिन सोरमा भनेको थियो।
सागरमा घन्टौंको डुंगाको सवारी चढ्यो। जंगली लुटेराबाट सर्वस्व लुटियो। धजेको यात्रा जीवन र मरणको मात्र थिएन, अमेरिका पुगेपछि प्रहरीको हातमा पक्राउ परेर सपना सबै खरानी बनेको थियो।
ऋण काढेर नकली भिसामा डलर कमाउन अमेरिका गएको धजे एक वर्ष नपुग्दै नेपाल फर्किएको थियो।
अमेरिकी नागरिक बन्ने सपना विफल भयो। घुसखोर र संसार जितेका सभ्य लुटेराको चलखेलमा परेर ज्यान मात्र फर्कियो। पानामाको जंगलमा ऊ जस्ता धेरैको अस्थिपञ्जर देखेर शिथिल भैसकेको धजेले फेरि भन्यो, “अमेरिका पुगेर डलर कमाउने सपना थियो। मेरो साथीले जंगलमा मलाई नपर्खिएको भए र खान नदिएको भए पानामा जंगलको अस्थिपञ्जर हुने थिएँ।’’
-योगप्रसाद उपाध्यय चापागाईं
प्रकाशित: १९ पुस २०८० ०७:३२ बिहीबार