२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

तिमी किशोरहरूलाई शुभकामना!

कविता

क्याप्शन

जरायुजमा जठराग्निको

अथाह पीडा भोग्दै

हुन सक्ने

गर्भपातबाट बची

जन्मेका तिमी किशोरहरू!

शैशव, शिशु र बाल्यावस्थाको  

रोग र जठरज्वाला सहँदै

आफन्त गुमाउँदाको शोक

भोग्दै र हेर्दै बढेका

तिमी, किशोरहरू!

यौवनावस्थाको उत्साह

मानसिक उद्वेग

किशोरावस्थाको भय, चिन्ता,  

भविष्य प्राप्तिको संर्घष गरी

हुर्केका तिमी किशोरहरू!

कहिले जीवन भारी ठानी

छटपटिंदै

र, आफैंभित्र उत्साह उमारेर

समयको हिस्सा-हिस्सामा

आफैंलाई परिवर्तन गरेर  

बाँचेका तिमी, किशोरहरू!

असफलता

र रहर नपुग्दा

कहिले बोझ मानी

कहिले भाग्यलाई सरापी

खुसी चौखुर्‍याएर

परिवार र छिमेकका लागि

चन्द्रमाको शीतल प्रकाश बनी

समाज, जाति र राष्ट्र अनि

विश्वका लागि

कर्म सिर्जना गरी

आफैंसँग अघि बढेका

तिमी किशोरहरू!

रोगबाट पटकपटक

दुर्घटनामा लडेर

बाढीपहिरो र भूकम्पबाट

निमेष-निमेषमा फुत्केर

देशमा क्रान्ति हुँदा

विद्रोहीको कर्कशा वचन,

लाठी, गोली र बमबाट

बाँचेका तिमी किशोरहरू!

देशमा सत्ताको युद्ध हुँदा

घरघरमा

टोलटोलमा

गाउँ र शहरमा

मार्ने र मराउने आततायी खेलबाट  

पटकपटक उम्केर फुत्केका

तिमी, किशोरहरू!

पृथ्वीको कहालीलाग्दो कम्पन

दृश्य र अदृश्य कोरोनाहरूबाट

डेँगु र मान्छे सिध्याउने खेलहरूबाट

जोगिंदै-जोगिंदै

केही गर्न बाँचेका

तिमी किशोरहरू!

ईर्ष्या, डाहको झटारोले

मानसिक सन्तुलन गुमाउँदा

आत्माले मनलाई थुपथुपाउँदै

बाहिर देख्ने आँखाहरू सबै बन्द गरेर

आफू बाँचेको देखाउन

आज पनि हिंडिरहेका

तिमी किशोरहरू!

यहाँ बाँच्न गाह्रो भएको मर्नेले थाहा पाउँदैन

यहाँ जित्न गाह्रो भएको विजेताले थाहा पाउँदैन

भोग्नेले मात्रै भोग्छ

यी सबैबाट मुक्त भई हाँसेका  

तिमी किशोरहरू!

समाजपथमा तिमी किशोरहरू!

तिमी किशोरहरू!

लामो आयु बाँच

दीर्घ जीवन बाँच  

चिरञ्जीवी बनेर  

जन्मने पुस्ता-पुस्ताको हृदयमा

अट्न सक्ने नाम भएर बाँच

तिमी किशोरहरूलाई सतायुको

चिरञ्जीवीको

कालजयी शुभकामना!

प्रकाशित: ८ पुस २०८० ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App