८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला

सम्मानित आदेश

लघुकथा

आफ्नै घरभित्रबाट मालिकको कठालो तान्दै गरेको देखेर मूल ढोकाले घृणाको भावले हेर्दै भन्यो,‘धत् बेमान! यत्रो विलासी घर बनाइस्। इमानको जग नै रहेनछ। जा अब कालो मुख लगाएर।’

उसले बगलीबाट सेतो रुमाल झिकेर आफ्नो मुख छोप्यो र लुरुक्क प्रहरीको भ्यानभित्र पस्यो। भ्यानको कालो सिसामा हेर्‍यो। अनुहारमा कालो पोतिएको देख्यो।

उसको मनले भन्यो, ‘धिक्कार तेरो बुद्धि! यत्रो अकुत थुप्रो लागेकै थियो। लोभले जात फालिस्।’

नमिठो साइरन बजाउँदै भ्यान दौडियो। उसको कानले यति नजिकैबाट यस्तो कर्कश आवाज कहिल्यै सुनेको थिएन। भ्यान एउटा ठुलो गेटभित्र पस्यो र रोकियो। चारैतिर सुरक्षाकर्मी तैनाथ थिए। अभिवादनमा कसैको हात उठेनन्। ऊ झसङ्ग झस्कियो। टाउको निहुराउँदै ओर्लियो। भुईको खुट्टाले टाउको तर्फ हेर्दै भन्यो, ‘खै रातो कार्पेट? थुक्क तेरो स्वाभिमान!’

सुरक्षाकर्मीहरूले पाखुरा समातेर भित्र लगे। कुर्सीमा राखेर केरकार गर्दै भने, ‘ल अब सबै कालो ओकल्नुस्।’

ऊ भएभरको कालो ओकल्दै थियो। घाँटीमा केही अड्केको महसुस गर्‍यो।

पेटले भन्यो, ‘हैट, यस्तो  नपच्ने गरी के घिचेको, घाँटी हेर्नु पर्दैन!’

अनुसन्धान अधिकारी झोला थापिरहेका थिए। ऊ कालो ओकलिरहेको थियो। अकस्मात् अधिकृतको मोबाइलमा घण्टी बज्यो। उताबाट निर्देशनको कडा आवाज आयो, ‘सम्मानित ठाउँबाट सम्माननीयको आदेशबमोजिम माननीयज्यूलाई सम्मानपूर्वक सेतो कारमा रातो माला लगाएर मूल ढोकामा छोडेर आउनु।’

प्रकाशित: ८ पुस २०८० ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App