२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

नेपाल नै नेपालीको स्वप्न संसार

पुस्तक

स्वप्नभूमि अर्थात् सपनाको देश। युवा अवस्थामा अवसरको खोजीका लागि नेपालीहरू युरोप, अस्ट्रेलिया र अमेरिकी भूमिलाई आफ्नो गन्तव्य बनाउँछन्। पछिल्लो समयमा नेपाली पाठ्यक्रम पनि आफ्नो माटोको आवश्यकता र देशको आधार तयार गर्नेभन्दा मध्यमस्तरको जनशक्ति उत्पादनमा केन्द्रित देखिन्छ।

स्वदेशमा अवसरको अभाव, राजनीतिक अस्थिरता, भ्रष्टाचारको व्याप्तताले युवा उमेरका मानिसलाई वितृष्णाको खेतीमा मलजल गरिरहेको छ। यस्तै विषयलाई मुख्य आधार बनाएर प्रवासमा रहेका तुलसी आचार्यले उपन्यास सिर्जना गरेका छन्।

सीमित पात्र राखी प्रतिनिधिमूलक रूपमा नेपालबाट आफ्नो र आमाबुबाको सपना बोकेर गाउँसमाजका मानिसको मेख मार्न अमेरिकालाई गन्तव्य बनाएको दीपकले त्यस भूमिमा गरेको जीवनसङ्घर्षको आख्यान हो ‘स्वप्नभूमि’।

नेपालमा अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेर शिक्षकसमेत बनेको दीपक अमेरिकी भूमिमा पुग्दा त्यही भाषा गतिलोसँग बोल्न र बुझ्न नसकेको सन्दर्भले नेपाली शिक्षा प्रणाली कत्तिको प्रयोगमूलक र व्यावहारिक छ भन्ने तथ्यलाई सङ्केत गर्छ।

कृषिप्रधान देशमा खाद्यपदार्थ आयातमा निर्भर रहने नेपालका विषयविज्ञले आयातित शिक्षाको प्रबद्र्धन गर्न खोजे पनि देशको आवश्यकताअनुरूप स्तरीय र प्रयोजनपरक प्रणालीको विकास गर्न नसकेको तितो यथार्थतर्फ सङ्केत गरेको अनुभूत हुन्छ।

आफूले पढेको विषयमा विशेषज्ञता हासिल गर्ने उद्देश्यले सिर्जनात्मक कलामा उच्च शिक्षा प्राप्त गरी हलिउडको नायकसम्म बन्ने सपना पालेर दीपक अमेरिका पुगेको छ। आफ्नो सपना मात्र नभएर अभिभावकलाई समेत अतुलनीय भौतिक सुखसुविधा दिलाउने धोको पनि छ उसको।

उपन्यासको मुख्य पात्र दीपक आफूलाई गाडीबंगला किन्ने, बुबाआमाका अधुरा सपना पूरा गर्ने र गाउँलेका सामुन्ने नाक ठाडो हुने तमाम इच्छाहरूको मृगतृष्णा पालेर बिदेसिएको छ। आमाको शरीरमा टाक्सिएका गहना र पुख्र्यौली सम्पत्ति धितो राखेर गए पनि अरूका सामुन्ने यस्तो सत्य बताउन सक्ने अवस्थामा हुँदैन।

आई–ट्वान्टी पाउनकै लागि बैंक स्टेटमेन्टमा धेरै रकम देखाउँदा किसानी परिवारका बाबुआमालाई समेत जागिरे बनाएको फर्जी कार्यले आफू अप्ठ्यारोमा परेको अनुभूत गर्छ।

 आफूलाई कुनै संस्थाले हायर गरिदेओस् र युनिभर्सिटीलाई बुझाउन आवश्यक शुल्क जुटाउन सहज होस् भनी धेरै ठाउँ अनुनय विनय गर्दा पनि सफल हुन सहज नभएको देखिन्छ।

अन्ततः एक नेपालीमूलको सहृदयी गणेशले बंगलादेशी विकासको क्याफेमा उसलाई काम मिलाइदिएर अमेरिका अडिने आधार दिएको देखिन्छ।

अमेरिकामा विदेशीलाई रहन अवसरहरू प्रशस्त हुन्छन् तर कानुनी अनुशासनमा चुस्त रहेको देश भएकाले सेक्युरिटी कोड नभएमा कुनै प्रकारका काम गर्न नपाइने हुँदा आफ्नो खर्चमा बाँच्न नसक्नेका लागि सहज नरहेको देखाइएको छ।

सोसल सेक्युरिटी कोडबिना कसैले काम गर्न नपाइने हुँदा अवैध रूपले काम गर्ने र गराउने दुवैलाई कठिनाइ हुने हुँदा अध्ययन र काम सँगसँगै गर्न चाहनेका लागि परिस्थिति अनुकूल नहुने देखाइएको छ।

यस्तोमा खासगरी कामदार कुनै अप्ठ्यारोमा फसेमा वा दुर्घटनामा परेमा काम गराउने व्यक्ति वा संस्थाले जिम्मेवारी लिनुपर्ने प्रावधानका कारण पनि विद्यार्थी–कामदारलाई प्रतिकूल हुने देखाउन खोजिएको छ।

कामको चटारोले हुन सक्छ दीपक बिरामी पर्दा अति सहयोग गर्ने भनिसामा उच्च मानवीयताको नमुना देखिन्छ भने कतै केही प्रतिकूल परिस्थिति सिर्जना हुने हो कि भनी विकास त्रासपूर्ण अवस्थामा रहेको देखाउनुले कामदार र मालिक दुवैलाई कानुनी असहजताको सङ्केत गरिएको छ।

अमेरिकी सहरका भव्य गगनचुम्बी महल र हर खुसीमा एक अर्कालाई चुम्ने संस्कृति दीपकका लागि सुरु सुरुमा अनौठो र असहज लाग्छ तर बिस्तारै रहँदाबस्दा सामान्यझैं लाग्न थाल्छ। यस्तै संस्कारगत भिन्नतालाई नियाल्दा कुनै पनि कुरामा कसैलाई अनुरोध गर्ने सामान्य चलन भए तापनि करकाप गरिनु अपमानतुल्य हुने कुरा नेपालमा भन्दा बिल्कुलै विपरीत देखिन्छ।

 अमेरिकी लबज, उनीहरूको व्यवहारगत शालीनता, सहयोगीपना र कानुनी अनुशासनमा बाँधिएका मानिस देख्दा विदेशीहरू त्यसैको अनुकरण गर्नुको विकल्प देख्दैनन्। विदेशमा सबै मानिस निष्ठुर मात्र हुँदैनन् भन्ने कुरा त्यहाँ व्यवसाय गरी बसेको बंगाली मूलको विकासको सहयोगी भावनाबाट देखिन्छ।

अपवादबाहेकका अवस्थामा दीपकले सहयोग पाएको छ। विकासकै माध्यमबाट दुई स्थानमा काम सिक्ने र गर्ने पाएको छ तर काम भने नेपालमा बिरलै गरिएको भाँडा माझ्ने, झाडुपोछा गर्ने र कहिलेकाहीं ग्राहक लिने जस्ता काम मुख्य रूपमा पाउने गरेको देखाइएको छ।

दीपकलाई अपरिचित भूमिमा त्यस्तो सहयोग गर्नेमा नेपाली मूलको गणेश काम गर्ने स्थानमा सम्पर्क गराइदिने सहयोगी मनको देखिन्छ भने काम गर्दै जाँदा सकुलेन्ट स्यान्डबिचमा रहेकी रिता रहेकी छे। विभिन्न देशबाट सायद दीपकजस्तै स्वप्नभूमि सोचेर आएका लुकास, भनिसा र डेभिडजस्ता विद्यार्थी पनि हार्दिकता, मिलनसार भावना र मानवीय भाव भएका असल चरित्रहरू देखिन्छन्।

डेभिडको सहयोगमा आफूले गरेका कामबाट उत्साहित भएको दीपक ग्यास स्टेसनमा राम्रै तलब भए तापनि एक दिन अपार्टमेन्ट फर्कने क्रममा लुटिनबाट जसोतसो बचे तापनि मनमा त्रासले सताइरहेको देखाइएको छ। यस्ता लुटिएका र कतिपय मारिएका घटनाका सुनेका नेपालीहरूका लागि यथार्थ र चुनौती लाग्छन्।

उपन्यासमा अलिक सतही चित्रण लाग्ने भनेको भनिसा र लुकासको प्रेम हो। दीपकलाई लिन पहिलोपटक एयरपोर्ट आएर एउटै एपार्टमेन्टमा बस्ने यी जोडीको बारम्बारको रतिक्रीडा नेपाली पाठकको मनको उपजलाई लेखकले चित्रण गरेझैं प्रतीत हुन्छ।

तथापि यस्तो हरदम साथ देखिने जोडीबिच सामान्य रूपले विछोड हुनु पश्चिमा भनिने संस्कृतिको प्रतिनिधिमूलक चित्रण उपन्यासकार आचार्यले गरेका हुन सक्छन्।

उपन्यासमा यौनलाई अति सतही रूपमा प्रस्तुत गरिएको छ भने भौतिक सुखसुविधाले मात्रै मान्छे सन्तुष्ट हुन नसक्ने र आत्मिक सुख व्यक्तिअनुसार फरक हुने देखाउन खोजिएको छ।

समग्रमा तुलसी आचार्यको उपन्यास ‘स्वप्नभूमि’ लगभग १९५ पृष्ठमा समेटिएको छ। आख्यानात्मक कृतिमा विश्वप्रसिद्ध दार्शनिकहरू मिसेल फुको, लेभी स्ट्रस, ज्याक डेरिडालगायत अनेकन् स्रष्टाका सन्दर्भगत भनाइ साभार गरिनुले निबन्धगत रचनाझैं प्रतीत हुन्छ। ती दार्शनिकहरूका भनाइलाई दीपकका भोगाइसँग जोडेर बोल्न लगाइएको छ। यसले ती सन्दर्भ नबुझेका पाठकलाई थोरै जटिलता थपेको अनुभूत हुन्छ।

दीक्षान्त समारोहमा मूलपात्र दीपककी प्रेमिका मलिसाको अनुपस्थितिको सन्दर्भबाट उपन्यास सुरु भई मलिसा को थिई, दीपक ‘स्वप्नभूमिरूपी’ अमेरिकामा कसरी पुगेर अध्ययनलाई अगाडि बढाउँछ। अनि उसले आफ्नो पढाइ खर्च कसरी जुटाउँदै अध्ययन पूरा गर्छ जस्ता प्रसङ्गलाई क्रमशः प्रस्तुत गरिएको छ।

निष्कर्षमा देवकोटाको ‘के नेपाल सानो छ?’ निबन्धको सन्दर्भबाट दुनियाँका लागि ‘स्वप्नभूमि’ अमेरिकाभन्दा दीपकको नेपाली मनले स्वदेश नै स्वप्नभूमि ठानेर फर्कने देखाएर उपन्यास टुङ्ग्याइएको छ। विदेशमा दोस्रो दर्जाको नागरिक भएर बाँच्नुभन्दा स्वदेशमै उद्यमशील बन्नु श्रेयस्कर हुने सन्देशको प्रस्तुति छ। 

प्रकाशित: १६ मंसिर २०८० ००:३० शनिबार

अक्षर