१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

हेटौंडामा ‘म्युजिकल नाइट’

हेटौंडा–नेपालको सातै प्रदेशमा गरिने म्युजिकल नाइटको सुरुवात हेटौंडाबाट गरिने भएको छ । हेटौंडामा हुने  म्युजिकल नाइटका लागि संगीत, फिल्म र हास्य क्षेत्रका कलाकारहरूले आफ्नो कला प्रस्तुत गर्नेछन्। 

नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतको चलचित्र तथा मनोरञ्जन फोरमले म्युजिकल नाइटको आयोजना गर्दै उद्योग वाणिज्य महासंघको दैवी प्रकोप राहत तथा उद्धार कोषमा रकम संकलन गर्न लागेको हो । कार्यक्रममा चर्चित गायक/गायिका, नायिकाहरू र हास्य कलाकारको प्रस्तुती रहने बुधबार हेटौँडामा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ। 

कार्यक्रममा फोरमका सभापति एवम् चलचित्रकर्मी आकाश अधिकारीले नेपाली चलचित्र तथा गीत, संगीत क्षेत्रको प्रवद्र्धन, गीत तथा संगीतका माध्यमबाट स्थानीय आर्थिक गतिविधी विस्तार गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए । उनका अनुसार प्राकृतिक प्रकोप राहत उद्धार कोषको सहयोगार्थ पुस २१ गते रिगल हेटौंडा रिसोर्टमा गरिने कार्यक्रम करिब तीन घण्टाको हुनेछ।

कार्यक्रममा कलाकारहरू आकाश अधिकारी, नायिकाहरु निरुता सिंह, श्वेता खड्का, नीता ढुङ्गाना, यशराज गराचलगायतले नृत्य प्रस्तुत गर्नेछन् । हास्य कलाकारहरू जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’ले, सीता घिमिरेले कमेडी प्रस्तुत गर्ने कार्यक्रममा गायिका अञ्जु पन्त, गायकहरू  राजनराज शिवाकोटी, युवराज चौलागाई लगायतले गायकी प्रस्तुत गर्ने आयोजकले जनाएको छ।

देशभित्रको आर्थिक व्यवसायिक गतिविधी सुस्त रहेकाले स्थानीय आर्थिक गतिविधी विस्तारका साथै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यका साथ महासंघले कार्यक्रम आयोजनालाई जोड दिएको जनाएको छ । सबै निर्वाचन सम्पन्न भइ मुलुक नै आर्थिक समृद्धिको एकल सूत्रमा अगाडि बढ्ने तयारी यस्ता कार्यक्रमले आर्थिक समृद्धिको अभियानलाई सफल पार्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा महासंघले गरेको छ।

कार्यक्रममा सहभागिताका लागि टिकट मूल्य प्रतिव्यक्ति २ हजार ५ सय  तोकिएको छ । मकवानपुर उद्योग बाणिज्य संघ सहआयोजक रहेको कार्यक्रमबाट गीत, संगीत र फिल्म उद्योगलाई दर्शकसँग प्रत्यक्ष जोड्दै देशैभर नेपाली कला एवम् कलाकारको सम्मानको माहौल बनाउने लक्ष्यपनि राखिएको छ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा महासंघका केन्द्रिय सदस्य एवम् मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, केन्द्रिय सदस्य अरुणराज सुमार्गी, फोरमका उपसभापति नरेन्द्र महर्जन, बस्तुगत समिति सभापति सुमित केडियालगायतले कला क्षेत्रको विकास, मनोरन्जन र सहयोग संकलन गर्न कार्यक्रम महत्वपूर्ण रहेको भन्दै सहयोगका लागि सबैलाई आग्रह गरेका थिए।

 

प्रकाशित: १३ पुस २०७४ ००:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App