२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

दसैं आयो, दसैं गयो

संस्कृति

आमा सधैंजसो बिहान पाँच बज्नुअगावै उठिसक्नुहुन्छ। उहाँको पुरानो बानी हो यो। बुढ्यौलीले आमाको यस बानीलाई परास्त गर्न सकेको छैन। ‘के हतार छ र चाँडै उठ्ने’ भनेर बुहारीले भनिन् भने आमा उहिलेको ‘आफ्नो समय’ मा पुग्दै भन्नुहुन्छ, ‘उज्यालो भइसक्दा त कति पाथी मकै पिँधिसकिन्थ्यो ! तिमेरुलाई के था छ र? अहिले पो सक्न छोडियो।’

आमाहरूले ‘आफ्नो समय’ र उमेरमा गर्नुभएको मिहिनेत बुहारी पुस्ताका लागि नै ‘कथा’ भइसकेको छ। चाडबाडका बेला ठुलो परिवारका बुहारीहरूले झन् अतिरिक्त जिम्मेवारी पूरा गर्नुपथ्र्यो, पाहुनापाछाको खातिरदारी वा स्वागत सत्कार। बुहारीहरूको मूल्याङ्कन उनीहरूले गर्ने पाहुनाको स्वागत सत्कार वा भातभान्साका परिकारको तयारीअनुसार हुन्थ्यो। आजकल गरिने स्वागत–सत्कारमा आत्मीयताभन्दा बढी औपचारिकताको रङ घोलिएको पाइन्छ। सहरबजारका मात्र नभई प्रायः गाउँका घरहरू पनि कृत्रिमताले पुरिन थालेका छन्। हामी राम्रो चलन र जीवनवादी संस्कारजन्य परम्परालाई उपेक्षा गर्दै आधुनिकताको बेलगाम घोडामा सवार हुँदै छौं।

२०८० सालको बडा दसैं आयो र गयो। हामी पुनः पुनः अर्को अर्को सालको प्रतीक्षामा रहँदै जान्छौं। बडा दसैंका अवसरमा पारस्परिक तवरमा शुभकामना आदानप्रदान गर्न हामीलाई सामाजिक सञ्जालले बडो सहज बनाएको छ।

अर्कै गोलाद्र्धको भूगोलमा बसेको नातिले पनि नेपालकी हजुरआमालाई सुस्वास्थ्य, शान्ति र सन्तोषको शुभकामना दिन्छ। हजुरआमाले आशीर्वाद दिन्छिन्। हाम्री आमा पनि बेलाबेलामा अमेरिका बस्दै आएका नातिनी, नातिनी–ज्वाइँ र पनाति–पनातिनीसँग भलाकुसारी गर्नुहुन्छ। धन्न, जति टाढा भए पनि उमेरले डाँडामाथिको घामजस्तै भएका कैयौं हजुरबा–हजुरआमाहरूले भिडियो कलमार्फत् आफ्ना पारिवारिक आफन्तलाई देख्न र उनीहरूसँग प्रत्यक्ष कुराकानी गर्न पाउनु चानचुने कुरा होइन।

विज्ञानको चमत्कारै त हो नि यो। तर सामाजिक सञ्जालले अधिक किशोर किशोरी र युवालाई प्रत्यक्षतः सामाजिकीकरणबाट अलग्याएर, खुम्च्याएर एकाङ्कीकरण, एकान्तीकरण र आत्मकेन्द्रीकरणको भासमा पुर्‍याउँदै गएको देखिन्छ। त्यसको दुष्प्रभाव हाम्रा सांस्कृतिक, परम्परागत गतिविधिहरूमा मनग्य पर्दै आएको महसुस भइरहेछ।

एकातिर प्रविधिको विकासले ‘वर्तमान पुस्ताको समय’ वरदान पनि साबित भएको छ, सँगसँगै अर्कातिर, त्यही वरदान प्रविधि मुलुकको सांस्कृतिक सामाजिक निर्बलीकरण एवं अशक्तीकरणको कारण पनि बन्दै गइरहेको छ। निकट भविष्यको नेपाल कतै आफ्नो मौलिक संस्कृतिविहीन त हुन गइरहेको छैन? यसतर्फ राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रका नेतृत्व तहबाट गम्भीरतापूर्वक चिन्तन मनन गर्नुपर्ने अपरिहार्य देखिएको छ।

कुरा बडा दसैंको हो। ९० वर्षीया वयोवृद्ध आमा काठमाडांै बस्न थाल्नुभएको पन्ध्र वर्षभन्दा बढी नै भयो। यसपालि भने उहाँले धीत मरुन्जेल टीका लगाइदिन पाउनुभयो। टीकाका दिन त झन् आमा बिहानै उठेर तर्खर गर्दै ‘कति बजे हो टीका लाउने लौ सुरसार गर’ भन्न थालिहाल्नुभयो। हामी चारैजना छोराका परिवारका छोराछोरीहरू प्रायः सबै एकत्रित भयौं।

 काठमाडाैंमा भएसम्म आमाका भतिजा, भतिजी, नाति, नातिनीहरू पनाति, पनातिनीहरू पनि प्रायः सबै साइतमै आमाका हातबाट टीकाजमरा लाइमाग्न भेला भए। सबै गरी विजय दशमीका दिन साठी जना जति आमाका अगाडि भेला भयौं। पुरानो चलनअनुसार जेष्ठादी क्रमले टीका जमरा ग्रहण गर्न थालियो। आमाका तर्फबाट परम्परागत तवरले मन्त्रका साथ आशीर्वाद दिने हामी छोरा, भतिजाहरू भयौं, ‘स्वस्तिस्तुते कुशलमस्तु..., आयुद्रोण सुते श्रीयं दशरथे...’ आदि उहिल्यैदेखिका आशीर्वादका मन्त्रहरू घन्किए।

यस्तै, छोरीचेलीलाई ‘निवसतु तव गृहे निश्चला..., गायत्री मंगला काली...’ आदि मन्त्रहरू वाचन गरिए। आमाले बिचबिचमा मान्छे हेरी ‘असल गर्नु, सबैको जाति हुनु, ठुलो ज्ञानी हुनु...’ यस्तै आशिष् दिइरहनुभयो।

आमाले एकजनालाई लगाइसकेपछि हामीले अनुज वा कनिष्ठलाई, एकैपटक टीका लगाइदिँदा निधारमा चारपाँचजनाका हात एकैसाथ पनि हुन्थे। लगाउँदा लगाउँदै घटस्थापनाका दिन राखेका जमरा सकिएर दुबोलाई जमराका रूपमा पनि प्रयोग गरियो। ३०/३५ जना जति त प्रारम्भमै थियौं। टीका लगाउँदै जाँदा अरू २५/३० जनाजति पारिवारिक आफन्तहरू पनि आए।

आमाले एकनासले टीका लगाइरहनु भयो। बल्ल दुई बजेतिर टीकाको प्रथम चरण सकियो। अनि बल्ल आमाले केशरमा मुछेको टीका आफैले आफ्नो निधारमा लगाउनुभयो, आएका सबैलाई लगाइसकेपछि। आमा प्रफुल्ल हुनुभयो र भन्नुभयो, ‘यसपालि भने उहिले मूलघरमा ससुराबाले टीका लगाइदिए जस्तै गरी सबैलाई लाउन पाइयो। पोहोरपरार जस्तो नभएर यसपाला चैं बढी सन्तोष भो, सबैजना वरिपरि भएका आयौ बाबु हो।’

टीका लगाइदिँदै गर्दा आमाका कमजोर भइसकेका आँखा नजाँनिदो गरी टिल्पिलाई रहे, तिनबाट प्रसन्नताको उज्यालो अरूतिर फैलिइरह्यो। हात हलुका काँपे पनि आमा थाक्नुभएन। केहीबेर बिसाउँदै लगाउने कि भन्दा पनि ‘आ, सिध्याएर मात्र बिसाउँला नि’ भन्दै आमाले पालैपालो थाली र निधारमा हात पुर्‍याइरहनुभयो। बिचबिचमा ‘तँ को होस्, अरू को को आएका छौ ? किन आएनन् उनेरु?’

आदि सोध्दै टीका लगाइदिनुभयो। फेरि ‘बाँचिएको छ र पो भेट भयो चाडबाडमा, अघिपछि पनि आउँदै गर’ भन्दै मनलाई झन् उघार्दै पनि गर्नुभयो। सबैजना आमाबाट आसिक थाप्न पाएर दंग परे। सबैले ‘बेतिनीमा भन्दा रमाइलो पो भयो यसपाला काठमाडौं’ भन्दै खुसीयाली बाँडे।

अन्य कैयौंले पनि यसै गरी मनाए होलान्। आत्मीयजनसँग निश्छल, निर्विकार, हार्दिक एकतालाई बडा दसैंले अझ बलियो, कसिलो बनाउँदै आएको छ युगौंदेखि।

यस्तै भावनात्मक सम्बन्धले हामी पारिवारिक आत्मीयताको न्यानो प्राप्त गर्छौं। बडा दसैं नातागोता, भाइबन्धुलाई मात्र नभएर नेपाली-नेपालीलाई जोड्ने एउटा महान् राष्ट्रिय सांस्कृतिक पर्व हो।

यसले हामीकहाँ आदिकालदेखि जीवन्त रहेको जातीय, भाषिक एवं धार्मिक सामञ्जस्यद्वारा पुष्पित राष्ट्रिय एकतालाई शीतल सांस्कृतिक छहारी प्रदान गर्दै आएको छ।

हामी कतिपय गाउँबाहिर सहरमा चेपिएर बस्न थालेकालाई गाउँले नोस्टाल्जिक बनाउँछ कहिलेकाहीं। दसैंमा अलि बढी नै गाउँको सम्झना हुन्छ। घरमा टीका लगाएर परको डाँडामा लिंगे पिङ खेल्न गइन्थ्यो। बर्सेनि सुन्न थालिएको निकै भयो, गाउँमा कसैले पिङ हाल्दैनन्। हामी सबै सहर–बजारमुखी भयौं। चौतारी, फलैंचामा बिसाउँदै उकालो–ओरालो लाग्दै गरेका रंगीन निधारहरू, बाटामा पिङ खेल्दै जुनेली साँझमा माइत–मावल पुग्दाका प्रसन्न अनुहारहरू अझै देखिन्छन् कि देखिँदैनन् गाउँमा?

लाग्छ-ती रसिला अनुभूतिलाई आमा र दिदीहरूका पुस्ताले मात्र हृदयको कुनामा साँचेर राखेका होलान्। आधुनिकताले हाम्रो हृदयबाट अनुभूतिगम्य चेतनलाई रुग्न बनाउँदै लगेको छ। अनुभूतिहरूमा सांस्कृतिक महकको स्वाद हरायो भने हाम्रो हृदय कति जर्जर र बाँझो खडेरीग्रस्त रहला?

अर्कातिर, दसैं मात्र होइन, नेपाली संस्कृतिको क्षयीकरणको क्रम तीव्र हुँदै गइरहेको छ। हाम्रो सभ्यता–संस्कृति पश्चिमी सांस्कृतिक अतिक्रमणको सिकार भइरहेछ। हामी जानेर–नजानेर वाह्य सांस्कृतिक प्रभावद्वारा अतिक्रमित हुँदै छौं।

हामी आर्थिक हिसाबले विपन्न हौंला तर सांस्कृतिक हिसाबले हाम्रो मुलुक सर्वाधिक सम्पन्न मुलुकभित्रै पर्छ। प्रत्यक्ष, परोक्ष रूपमा हाम्रो आर्थिक विपन्नता हाम्रा लागि सांस्कृतिक सौदाबाजीको माध्यम पनि बनिरहेको देखिन्छ।

हामी आफै आफ्ना राष्ट्रिय सांस्कृतिक धरोहरहरूप्रति अनास्था बढाइरहेछौं। संस्कृति लोप भएमा हाम्रो परिचय नै रहँदैन। हामी आफै सांस्कृतिक परिचयविहीन भयौं भने नेपाली हुनुको कुनै अर्थ नै रहँदैन। भारत आफ्नो सांस्कृतिक मौलिकताको संरक्षण सम्वद्र्धन गर्दै आइरहेछ।

अर्को छिमेकी राष्ट्र चीन आफ्नो प्राचीन कन्फ्युसियसकालीन सांस्कृतिक चिन्तनलाई वर्तमानमा हजारौं वर्षपछि पुनर्जागृत गर्दै छ। हामी भने आफ्नैबाट टाढिन, तर्कन खोज्दै छौं। मानिसबाट उसको संस्कृति लोप भयो भने ऊ प्राणी मात्र बाँकी रहन्छ। मानिसले सांस्कृतिक भएर नै अन्य प्राणीभन्दा पृथक हुने हैसियत राख्दै आएको हो। अन्य कैयौं पर्वजस्तै बडा दसैं सांस्कृतिक भाइचारा, पारिवारिक मिलन, मेलमिलाप र आध्यात्मिक पुनर्ताजगीकरणको पर्व पनि हो।

संयोगवश वा नियतिवश, पारिवारिक तवरमा सहजता वा असहजतावश कतिपय र कैयौं नेपाली घरपरिवारका लागि दसैं उदास, नरमाइलो र खल्लो हुने गर्छ। त्यसप्रति अरू सबैलाई पीडानुभूति त हुन्छ नै, तर पनि चल्दै आएको चलनलाई चलाउनै पर्छ।

विदेश जानेको लर्को कुनै दिन पनि रोकिएन, बाध्यताका चक्रव्यूहमा परेर बिदेसिएका लाखौं नेपालीका घरपरिवारमा कुन सालको दसैंले सन्तोषको हाँसो पोतिदेला!

दसैंलाई सांस्कृतिक पर्व मान्नेहरूमध्ये विदेशमा रहेका वा स्वदेशमै भएकाहरू लाखौं नेपालीका निधारहरू बर्सेनि रित्तै हुने गर्छन्। बाध्यताले पनि नेपालीलाई सांस्कृतिक उत्सवहरूबाट टाढा घचेडिरहेछ।

जे, जस्तो र जसरी होस्, यसपालिको दसैं आयो र गयो। यसैगरी अब चाँडै अर्को राष्ट्रिय सांस्कृतिक पर्व तिहार पनि आउने छ र जाने छ। हाम्रा सांस्कृतिक पर्वहरूले हाम्रो नेपाली जातीय परिचयलाई सधैं उच्च बनाइरहून्।

प्रकाशित: १८ कार्तिक २०८० ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App