१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

धेरै विधामा जमेका नविन निरौला

काठमाडौं- एउटै मान्छेले फिल्मका विविध विधामा हात हालेको कुरा कमै मात्र सुनिन्छ र देखिन्छ । फिल्म सम्पादक नविन निरौला ‘नगेन्द्र’ फिल्म सम्पादन मात्र गर्दैनन् । उनी फिल्म लेखन, निर्देशन, डबिङ, कलर करेक्सन, ब्याकग्राउन्ड म्युजिक स्कोर, मिक्सिङ, भिएफएक्स, एनिमेसन सबै काम एक्लै गर्न सक्रिय छन् । तर पनि उनी आफूलाई फिल्म सम्पादककै रूपमा चिनाउन चाहन्छन् ।

डेढ दशकअघि भिजुअलको दुनियाँमा छिरेका नविनले ‘कसलाई आफ्नो भनूँ’, ‘दुई थोपा आँसु’, ‘पर्खाल’, ‘करुणा’, ‘करुणा २’, ‘एकसे एक’, ‘माइती’, ‘भूमिका’, ‘समृद्ध नेपाल’, ‘जीवनचक्र’, ‘नाता’, ‘सम्झौता’, ‘चलन चल्ती’, ‘पश्चात्ताप’, ‘एकलव्य’, ‘परिचय’, ‘गुठी’लगायतका टेलिसिरियल सम्पादन गरिसकेका छन् । सिरियलबाहेक ‘भ्वाइस अफ टिन’, ‘स्कुल स्कुलमा’, ‘बाल शान्ति अभियान’लगायतका रियालिटी शोको काटछाट पनि गरिसकेका छन् ।

उनले ‘आँधी तुफान’, ‘ज्वालामुखी’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘हाम्रो माया जुनीजुनीलाई’, ‘स्टार’, ‘लभ फरएभर’, ‘आवारा’, ‘कस्तो टेन्सन’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाइलग्यो झिल्केले’, ‘लालजोडी’, ‘फिंगर प्रिन्ट’, ‘पास्ट’, ‘देउता’, ‘होक्से’, ‘लाटो पहाड’, ‘ब्वाइफ्रेन्ड’, ‘पसिना’, ‘काउसो’लगायतसहित झण्डै दुई दर्जन फिल्म पनि सम्पादन गरिसिकेका छन् । उनले दुई सय बढी म्युजिक भिडियो पनि सम्पादन गरेका छन् ।

‘म आफूले जानेकोे सीपको सम्बन्धित व्यक्ति, संस्थाले भरपुर उपयोग गरून् भन्ने चाहन्छु,’ नवीन भन्छन्,‘यही मान्यताले गर्दा मैले मेरो विधा सिक्न चाहनेलाई केही सिकाउने गरेको छु ।’ ‘भूमिका’ टेलिफिल्मका लागि सर्वाेत्कृष्ट टेलिसम्पादकको अवार्ड जितेका उनले बक्स अफिस फिल्म अवार्डमा ऋषि लामिछाने निर्देशित ‘आफ्नो मान्छे आफ्नै हुन्छ’बाट सर्वाेत्कृष्ट सम्पादकको अवार्ड जितेका थिए । त्यसैगरी उनले ‘मन मारेर गए पनि’ गीतबाट म्युजिक भिडियोको अवार्ड प्राप्त गरे ।

समाजशास्त्रमा स्नाकोतत्तर अध्ययनरत उनले पेन्टासप र एरिना मल्टिमिडियामा भिजुअल एडिटिङ, ग्राफिक्स, आफ्टर इफेक्ट र थ्री डीको विशेष तालिम लिएका छन् । उनले निर्देशन गरेको ‘फिंगर प्रिन्ट’ नामक फिल्म प्रदर्शनको तयारीमा छ । ‘म आफूमा भएको सीपलाई अझ निखार्दै नेपाली फिल्म, टेलिफिल्म, म्युजिक भिडियो तथा विज्ञापनको क्षेत्रमा गुणस्तरीय उत्पादन दिन चाहन्छु ।’ उनले भने । नवीन क्यामेरा, भिजुअल एडिटिङ, डबिङ, मिक्सिङ ल्याबसहित कमलादीमा पोस्ट प्रोडक्सन स्टुडियो चलाइरहेका छन् ।

प्रकाशित: १२ मंसिर २०७४ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App