२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

सन्तुष्टिको प्रमुख कारक: जीवन्त सम्बन्ध

पुस्तक

ह्वाटस्यापमा निम्तो आएपछि कार्डियोलोजिस्ट डाक्टर ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को मिति २०८० असोज ५ गते हुने विमोचन कार्यक्रममा पुगें। मान्छे खचाखच थिए। यति धेरै मान्छे पुस्तक विमोचनमा मैले पहिलो पटक देखेको थिएँ। भव्य समारोहमा डाक्टरसापकी माता राजकुमारी देवीबाट पुस्तकको विमोचन भयो। कार्यक्रम सकिएपछि मैले डाक्टर सापलाई बधाई दिएँ र सँगै फोटो खिचें।

पुस्तकको आवरण नै पुस्तक किनूँ किनूँ र पढूँ पढूँ लाग्ने कलात्मक र आर्कषक छ। प्रसाद खाएर स्टलबाट किताब किनें। घर फर्किएँ। घर फर्किनेबित्तिकै पढ्न बसें। पुस्तकको पहिलो प्रवेशमा नै डाक्टरसापको हस्ताक्षर र पुस्तकबाट प्राप्त सम्पूर्ण रकम डा. ओम फाउन्डेसनमा जाने र जेष्ठ नागरिकको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। किताब पढ्न पनि पाइने र धर्म पनि हुने जोग जुराइदिने कार्यका लागि डाक्टरसापलाई धन्यवाद नभनीकन अडिन नै सकिन्नँ।

किताबको नाम, मुद्रण, वर्ष, मन्तव्य, आभार, विषयसूची सबै पढेर बल्ल म मूल भाग पढ्न सुरु गर्छु। किताबमा लामा छोटा त्रिपन्न शीर्षकहरू छन्। पुस्तक पढ्दै जाँदा डाक्टरसापले आफ्ना अनुभव, भावना र भावी योजना बिरामीलाई सल्लाह दिए झैं कुर्चीमा बसेर सुनाइरहे जस्तो लाग्छ।

सधैं प्रफुल्ल र हँसिलो मुद्रामा बिरामी जाँच्ने डाक्टर ओमको पुस्तकले उहाँभित्र भएको ज्ञानको सागर र साहित्यिक कला छर्लङ्ग देखाउँछ। ‘जीवन्त सम्बन्ध’ मा मानव सम्बन्धका साथ साथै चिकित्सा क्षेत्रको विश्लेषण भेटिने भएकाले हामी एकै साथ सम्बन्ध विश्लेषणको विशाल चित्रण र चिकित्सकीय विधिको आधारभूत ज्ञान आर्जन गर्न सक्छौं।

डाक्टर ओम मूर्तिले ‘पूजनीय बुबाको देहान्तबाट सिर्जित आँसुलाई मसी बनाएर पुस्तक लेखेको हुँ’ भन्नुभएको छ। आँसुले रचिएका हरफहरू पढ्दा पटक पटक पुस्तकबाट अन्यत्र हेर्दै सजल आँखा र भक्कानिएको मनलाई फुलाउनुपर्छ। एउटा डाक्टर पनि करुणाले भरिएको पुस्तक लेख्न सक्छ भन्ने प्रमाण पुस्तकले दिएको छ।

बाबुछोराको सम्बन्धमा गरिएको रचना पढ्दा संस्मरणात्मक उपन्यास पढेजस्तो लाग्छ। छोड्न मन लाग्दैन। ‘जीवन्त सम्बन्ध’ मानव मानवबिचको सम्बन्धको सेरोफेरोमा लेखिएको छ। हामी हरेकका सामाजिक सम्बन्धहरू छन्। ती सम्बन्धहरू जीवन्त छन् कि छैनन्? सम्बन्धमा हामी रमाएका छौं वा बोझ मानेका छौं? डाक्टर ओमले पुस्तकमा सम्बन्धको महत्त्व चिनाउँदै सम्बन्धका रहस्यहरू खोल्नुभएको छ। सम्बन्ध भनेको एकआपसको बसउठ, बोलचाल, सूचना आदानप्रदान हो। राम्रो सम्बन्धले सन्तोष दिन्छ र खुसी बनाउँछ भने नराम्रो सम्बन्धले तनाव र पीडा दिन्छ।

सम्बन्धलाई मानव जीवनको आधारभूत स्तम्भका रूपमा मानिन्छ। जीवन्त सम्बन्धहरूले नै जीवन सहज र जिउन लायक बनाउँछन्। अप्ठेरो परेका बेला सम्बन्धहरूले मानिसलाई सहयोग, सान्त्वना र हौसला प्रदान गर्छन्।

जीवन्त सम्बन्धबिनाको सम्बन्धको कुनै अर्थ छैन भन्दै डाक्टर ओम सम्बन्ध निर्धारण गर्ने प्रमुख कारणहरू भौतिक सामीप्य, वंशाणुगत गुण, सामाजिक बन्धन र वातावरण हुन् भनेर औंल्याउनुहुन्छ। ती कारणहरूले सम्बन्ध मधुर बनाउने र बिर्गाने कार्यमा भूमिका खेल्छन्।

डाक्टर ओम समाजमा रगतको सम्बन्ध, सामाजिक सम्बन्ध, भौतिक वा घनिष्ठता सम्बन्ध, भावनात्मक सम्बन्धहरू हुन्छन् भन्नुहुन्छ। फरक वातावरण र परिवेशमा हुर्कियो भने रगतको सम्बन्ध भएका मानिससँग पनि भावनात्मक सम्बन्धमा कमी आउन सक्छ। वैज्ञानिक दृष्टिकोणबाट भन्नुपर्दा भावना हर्मोनको प्रतिफल हो। मानिसहरू सबैभन्दा नजिक भावनाका कारणले हुने गर्छन्।

भावना र सोच समान भएमा सम्बन्ध बलियो हुन्छ। भौतिक दूरताले सम्बन्धलाई फिका बनाउँछ भने सामीप्यले घनिष्ट। शारीरिक रूपले एकअर्कालाई स्पर्श गर्दा, आलिङ्गन गर्दा, आँखा जुधाउँदा मात्रै पनि मस्तिष्कलाई उत्तेजित बनाएर विभिन्न हर्मोनहरू उत्पन्न हुन थाल्छन्। जसले भावनात्मक सम्बन्धलाई स्थापित र बलियो बनाउँछन्। भावनात्मक सम्बन्ध सबैभन्दा उत्कृष्ट सम्बन्ध हो। सुमधुर सम्बन्धले जीवनलाई सुन्दर सन्तुष्ट, सजिलो र आनन्ददायक बनाउँछ। सामाजिक प्राणी बन्न मानिसले सम्बन्ध वहन गर्न र अभ्यास गर्न जान्नुपर्छ।

खाना पस्की सकें, सेलायो। श्रीमतीले तीनपटक बोलाई सकेपछि ‘सम्बन्ध’ बिग्र्रला कि भन्ने अनुभूति गर्दै पुस्तक पढ्न एकछिन रोकेर खाना खान गएँ।

‘जीवन्त सम्बन्ध’ किताबको नामै कति राम्रो। म पनि पढिहाल्छु, तात्तातै ? श्रीमती पढ्ने लाममा बसिन्। ‘पढ्न छोडेर उठ्न मन लागेको थिएन। तिम्रो निम्तो टार्न नसकेर,’ मैले खपाखप भात खाँदै भनें। म चिसै हात चिनो राखेको पेजबाट पढ्न सुरु गरें।

लेखकले बाबुआमाको साथमा बसेर पढ्दा सम्बन्धको गहिराइ, मिठास र सामीप्य अत्यधिक थियो भनेर भनिरहँदा पाठक सबैलाई आफ्ना बाबुआमालाई सम्झन बाध्य बनाउँछ। म त उठेर स्वर्गीय बाआमाको तस्बिर अगाडि उभिएर नमन गरिरहें धेरैबेरसम्म। यो लेखकको सफलताको द्योतक हो।

एकपटक डाक्टर ओमलाई बुबाआमाको गाउँ जाने रहर पूरा गर्न गाउँ लैजाने सोच आउँछ। तर, व्यवसायको व्यस्तता र झरी परेका कारण गाउँ जान नपाउँदै बुबाको मृत्यु हुन्छ। डाक्टर ओम विच्छिप्त हुन्छन्। गाउँ लैजाने काम साँच्नाले वर्तमानमा पश्चातापको पीडाले पोलेर पुस्तकमा छटपटाइरहेको देखिन्छ।

पढाइ, कमाइ र घुमाइ गरेर बाबुआमालाई सुख दिन्छु भन्दै एकोहोरो भएर समर्पित हुनु राम्रो हो। आफ्नो करिअर आफै बनाउनु पनि ठिक हो। तर आफ्ना सबै रहर वा आकांक्षा पूरा गरेर मात्र बाबुआमालाई सुख दिन्छु भन्दा धेरै ढिलो भइसक्ने रहेछ। बाबुआमालाई निरन्तर माया दिँदै, संवाद गर्दै उहाँहरूसँगको सम्बन्ध कसिलो बनाउन पाठकलाई तत्कालै उत्पेरित गर्न सक्नु पुस्तकको गजबको सफलता हो।

सम्बन्धका विषयमा लेख्दालेख्दै डाक्टर ओमले आफ्नो सबैभन्दा नजिकका आमाबाबु, श्रीमती वा श्रीमान्, छोराछोरी, दाजुभाइ, दिदीबहिनी बिरामी पर्दा बिरामीको सेवा कसरी गर्ने? बिरामीको मानसिक बललाई कसरी ह्रास हुन नदिने? बिरामीको पलपल परिवर्तन भइरहने मनोदशा बुझेर कसरी सान्त्वना दिने, बिरामी मनोदशा शान्त पार्न सम्बन्धको कस्तो भूमिका रहन्छ भन्ने जस्ता गहन विषयहरूमा हामीलाई सिकाउन पनि बिर्सनु भएको छैन। यसका लागि लेखकलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।

‘जीवन्त सम्बन्ध’ पढ्दै जाँदा मैले म नराम्ररी बिरामी परेको क्षण सम्झें। त्यसताका छोराछोरी साथमा थिए। छोरा डाक्टर भएकाले मैले बिरामी भएको चिन्ता गर्नुपरेन। सबै चिन्ता छोराले गर्‍यो, बाँकी डाक्टरहरूले गरे। मेरो प्रेसर घटेन भनेर चिन्ता कि छोराले गथ्र्यो कि त डाक्टर ओमले गर्नुहुन्थ्यो। दुवै सल्लाह गर्थे। औषधी थप्थे वा बदल्थे। त्यसबेला हजुर बिरामी होइन, छोरा बिरामी परेको थियो। श्रीमती आजसम्म पनि मलाई भन्ने गर्छिन्।

अब परिस्थिति धेरै बदलिएको छ। हामी बाबुआमा हिजोभन्दा पाका भएका छौं। छोराछोरी विदेश पढ्न गएको रमाइलो छ। तर, अब बिरामी पर्दा ढुक्क हुने वातावरण छैन। बिरामी पर्ने कुनै योजना पनि त हुँदैन। अपर्झट आउँछ। टाढा भएका छोराछोरी दौडेर उतिखेरै आइपुग्न पनि सम्भव छैन। ‘बुबा बिरामी पर्दा म उहाँको हात समाएर बसेको थिएँ। पिताको साथमा छोरो थियो। त्यही छोराको काखमा पिता शान्तिपूर्वक देहत्याग गर्न तयार हुनुहुन्थ्यो।’ म पढ्दा पढ्दै भावुक भएँ। वरिपरी हेरें। छोराछोरी बिदेसिएका। सबैतिर बुढा बाबुआमाहरू मात्र। भावशून्य। छोराछोरी विहीन टुहुरा बाबुआमा। टुहुरा बाबुआमाकोे मृत्यु कस्तो होला ? डाक्टरसापले भविष्यको विद्रूप दृश्य देखाउनुभएको छ। मलाई स्वर्गीय तेजनारायण सिंहको देहत्यागको लोभ लागेर आयो। सोच्न छोडेर म किताब पढन थालें।

डाक्टर ओमको किताब ‘जीवन्त सम्बन्ध’ पढ्दै जाँदा हामीमा अभूतपूर्व सचेतना जागृत हुन्छ। ‘जीवन्त सम्बन्ध’ पुस्तकमा पाठकको व्यवहार परिवर्तन गर्न सक्ने खुबी रहेको छ। थाहा पाइरहेका सम्बन्धहरूका बारेमा ह्वात्तै आँखा खुले झैं हुन्छ। समय व्यवस्थापन गर्न सिकाउँछ। बाआमासँग लामो समय बिताउन आतुर बनाउँछ। छोराछोरीसँग हाँस्न र रम्न प्रेरित गर्छ। श्रीमान् भए श्रीमती र श्रीमती भए श्रीमान्लाई कसरी खुसी बनाउन सकिन्छ भन्ने सोच आउँछ। खाना बनाउँदै गरेकी श्रीमतीको छेउमा उभिएर सघाउन मन लाग्छ। फूलबारी गोड्दै गरेको श्रीमान्लाई सघाउँ जस्तो बनाएर बारीसम्म पुर्‍याउँछ।

पुस्तकले आफ्नो प्रगतिका क्रममा दिनरात निःस्वार्थ सेवा गर्ने, हर समय पथप्रदर्शन र मार्गनिर्देशन गर्ने बाबुआमाको सम्बन्ध बिर्सेका वा सम्बन्धलाई महत्व नदिएका छोराछोरीलाई कर्तव्य पढाउँछ। गल्ती गरेको महसुस र पश्चात्ताप गराउँदै उहाँहरूको नजिक पुर्‍याउँछ।

दाजुभाइ दिदीबहिनीसँग धेरै समय बिताउने मनसुवा जागृत गर्छ। छरछिमेक साथीसँगीसँगका ससाना मनमुटाव एकैछिनमा भुलाई उनीहरू खोज्दै जाने उत्पे्ररणा जगाउँछ। यो पुस्तकको दोस्रो सफलता हो। त्यसभन्दा माथि प्राचीनकालदेखि प्रचलित हाम्रो सम्बन्धमा आएको ह्रासलाई पुर्नजीवित गर्ने र पुनर्जागरण गर्ने क्षमता राख्नु पुस्तकको तेस्रो सफलता हो।

सुख, सन्तुष्टि र खुसी कहाँ छ? प्रश्नको उत्तर हो–जीवन्त सम्बन्ध। व्यक्तिगत सफलतामा मात्र सुख सन्तुष्टि भेटिँदैन। धनदौलत, गाडीबङ्गला, सुविधा जति भए पनि बाबुआमा, श्रीमान्–श्रीमती, छोराछोरी, दाजुभाइ, दिदीबहिनी, साथीभाइ र छरछिमेकसँग सम्बन्ध राम्रो छैन भने आनन्द प्राप्त हुँदैन। वैज्ञानिक तथ्यले जीवन सुरक्षित भए पनि पूणानन्द त आध्यात्मिक ज्ञान र अभ्यासबाट मात्र प्राप्त हुने यथार्थ डाक्टर ओमले पनि लेख्दैजाँदा स्वीकार गर्नुभएको छ।

वास्तवमा डाक्टर ओमको पुस्तक एउटा विद्यालय हो र शिक्षक पनि हो। पुस्तक पठनीय, सङ्ग्रहणीय छ। धेरै सिक्न पाइन्छ। चिकित्सा क्षेत्रको विशेषज्ञ हुँदा हुँदै पनि पुस्तकमा अग्रेजीको प्रभाव कम छ। सरल नेपाली भाषा, छोटा परिच्छेद, विषयवस्तुको शृङ्खला मिलेको छ। प्रसङ्ग प्रसङ्गमा संस्कृतका श्लोक, नेपाली र मैथिली भाषाका गीत कविताहरू पढ्न पाउँदा स्वाद फेरिन्छ। पढ्न झन् मिठो लाग्छ। केही शुद्धाशुद्धि मिलाउनुपर्नेछ। कहीं कहीं डाक्टरसापका सम्झनाहरू दोहोरिन्छन्। पुस्तक छोराछोरी, श्रीमान्श्रीमतीको जन्मदिनमा उपहार दिन ज्यादै उपयुक्त छ।

सारमा भन्नुपर्दा ‘जीवन्त सम्बन्ध’ पुस्तकले विश्वस्तरमा देश देशबिचको राजकीय सम्बन्ध र मानवीय शान्तिको प्रवर्धनमा महत्वपूर्ण योगदान दिन सक्छ। पुस्तक वितरण र पठनलाई फराकिलो बनाउन अंग्रेजीमा अनुवाद गर्न पाए हुने भन्ने मेरो सल्लाह रहेको छ। 

प्रकाशित: १३ आश्विन २०८० ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App