४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

पोखरामा ईन्टरकलेज व्याण्ड कम्पिटिसन शुरु

पोखरामा ईन्टरकलेज व्याण्ड कम्पिटिसन शुरु भएको छ। पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रको डोममा शुक्रबारदेखि शुरु भएको प्रतियोगिता शनिबारसम्म जारी रहनेछ। प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद थापाले राज्यले कला र संगीतको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए। ‘संगीत जीवनको लागि अति उपयोगी कुरा हो,’ उनले भने, ‘तर राज्यले लगानी नगर्दा यो क्षेत्र पछाडि प¥यो।’ कला र संगीतमा शक्ति हुने भन्दै यसलाई विद्यालय स्तरबाटै विकास गर्न सके अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो उपस्थिति देखाउन सकिने उनको भनाई थियो। उनले राज्य र शिक्षा क्षेत्र सम्बद्ध संघसंस्थाहरुले गर्नुपर्ने कार्यक्रम पोखरेली कलाकार संघले गरेर संगीतप्रति विद्यालय, विद्यार्थी, अभिभावक र राज्यको ध्यानाकर्षण गर्न सफल भएको समेत बताए।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपती सुर्य खड्का बिखर्चीले संगीत विश्वको भाषा भएकाले यसको महत्व र प्रभाव सबैभन्दा बढी हुने बताए। त्यसैले कला र संगीतको उन्नयन र विकासमा राज्यले ध्यान दिनुपर्ने उनको भनाई थियो। ‘राज्यले कान खोलेर सूनोस्,’ उनले भने, ‘संगीत शिक्षाका लागि अपरिहार्य छ। त्यसैले राज्यले लगानी बढाओस्।’

पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङले बताए। प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने उनको भनाई छ। ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो। यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन्,’ उनले भने।

संघका उपाध्यक्ष टोपबहादुर खत्रीले पोखरा व्याण्डहरुको राजधानी भएकाले त्यहि पुरानो विरासत फर्काउन प्रतियोगिता गरिएको बताए। यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने विश्वास व्यक्त गरे।सचिव भास्करध्वज श्रेष्ठले कार्यक्रमले एकातिर विद्यालयमा भएका प्रतिभालाई उजागार गर्ने र अर्कोतिर सांगितिक माहोल सृजना गर्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे। मानसिक स्वास्थ्य सुधार्न पनि कार्यक्रमले सघाउने उनको भनाई छ।

प्रतियोगितामा १८ कलेजका २२ टिमले प्रतिष्पर्धा गर्दैछन्। प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाई पनि नगद ५–५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १२ आश्विन २०८० ०९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App