४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

कँडेललाई ‘मदन’, वात्स्यायनलाई ‘जगदम्बाश्री’

काठमाडौं- मदन पुरस्कार गुठीले ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेललाई वर्ष २०७३ को ‘मदन पुरस्कार’ प्रदान गरेको छ भने व्यंग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’लाई ‘जगदम्बा श्री’ पुरस्कार प्रदान गरेको छ ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले दुवैलाई जनही दुई लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । पुरस्कृत कवि कँडेलले मदन पुरस्कार जस्तो स्वच्छ, निष्पक्ष र गरिमायुक्त पुरस्कारले छन्दका कविता लेख्नेलाई दिएको सम्मानप्रति खुसी लागेको बताए ।
धादिङमा जन्मिएका कवि कँडेलले वनारसबाट संस्कृतमा शास्त्री तथा नेपाली र अंग्रेजीमा स्नातकोत्तरसम्म शिक्षा लिई त्रिभुवन विश्वविद्यालयमा नेपाली केन्द्रीय विभागका प्रमुखसमेत भइसकेका छन् । बनारसमा बस्दा उनले ‘उदय’, ‘आमा’, ‘छात्रप्रभा’ र ‘नयाँ पाइला’लगायतका साहित्यिक पत्रिकामा कविता लेख्ने गर्दथे । कवि कँडेलका ‘पच्चीस वर्षका खण्डकाव्य’, ‘देवयानी’, ‘विश्वामित्र’ जस्ता कृति प्रकाशित छन् । ‘धृतराष्ट्र’ मा अपांगता भएका र समाजमा हेलित भएकाहरूको पक्षमा आवाज उठाइएको छ ।
त्यसैगरी, नेपाली व्यंग्यचित्र विधा क्षेत्रका वात्स्यायनले ‘कार्टुनिष्ट’ले पुरस्कार पाउँदा ‘कार्टुन’ विधाका सबैलाई सम्मान गरिएको महसुस भएको बताए । पोखरामा जन्मिएका बरालका पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनःबहाली गर्न तथा उत्पीडन, शोषण, अन्याय, अत्याचार, विकृति र विसंगतिलाई कार्टुनमार्फत् अभिव्यक्त गर्न प्रखर मानिन्छन् । ‘पाँच दशकभन्दा लामो कार्टुनकलाको यात्रामा यो पुरस्कार प्राप्त गर्दा मलाई ठूलो ऊर्जा र जिम्मेवारी थपिएको छ । यो यात्रालाई निरन्तर अगाडि बढाउने हौसला पाएको छु’, उनले भने । उनको कार्टुन संग्रह ‘वात्स्यायन एन्ड हिस बार्बस्’ पनि प्रकाशित छ ।
गुठीका अध्यक्ष दीक्षितले वात्सायनले कार्टुन विधाबाट र कँडेलले खण्डकाव्यका माध्यमबाट नेपाली साहित्यमा पु¥याएको योगदान अतुलनीय रहेकोे बताए । विसं २०१३ मा स्थापित पुरस्कारको यो वर्ष ६१ औं संस्करण हो ।

 

प्रकाशित: ८ आश्विन २०७४ ०४:५७ आइतबार

कँडेललाई मदन वात्स्यायनलाई जगदम्बाश्री