२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

अभिनेता ताम्राकारको अन्तिम काम सांगीतिक श्रव्य दृश्यमार्फत देखाइँदै

फाइल तस्बिर

दिवंगत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर सांगीतिक श्रव्यदृश्य (म्यूजिक भिडियो) बन्ने भएको छ। निर्माता तथा निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारले अभिनय गरेको दृश्यलाई समेटेर श्रद्धाञ्जलि दिन तयार पारिएको सामग्री बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिने बताए।

उनले भने, ‘अभिनेता ताम्राकारले यस चलचित्रको लेखनदेखि नै गरेको मेहनतलाई सानै रूपमा भए पनि उहाँका प्रशंसकमाझ ल्याउँदैछौं। यसमा उहाँको आवरण (लुक्स) सँगै पर्दा पछाडिका कामलाई पनि देखाएका छौं।’

निर्देशक गुरुङले चलचित्रकै लागि तय गरिएको गीतमा अभिनेता ताम्राकारको दृश्यलाई जोडिएको बताए।

अभिनेता ताम्राकारले बर्दियाको छायांकन तालिका पूरा गरेर काठमाडौंको सुरुआत गरेका थिए। प्रोडक्सन म्यानेजर अरुण रेग्मीले सारुकलाई श्रद्धाञ्जलि (ट्रिब्युट टु सारुक) कार्यक्रममा चलचित्रको निर्माण समूहसँगै अभिनेता ताम्राकारका नजिकको साथीहरूको उपस्थितिमा हुने बताए।

बर्दियाको छायांकन तालिका सकिएसँगै काठमाडौंमा छायांकनकै क्रममा अभिनेता ताम्राकारले गत असार २१ गते आत्महत्या गरेका थिए।

चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका ताम्राकारको निर्देशक बन्ने योजना थियो।  

प्रकाशित: ५ भाद्र २०८० १३:२७ मंगलबार

अक्षर