महान चिनियाँ गुरु लाओ-त्सेले एक पटक माछा पक्रन सिक्नुपर्यो भनेर सोचे। उनले माछा पक्रने छडी बनाए, त्यसमा डोरी र माछालाई लोभ्याउने गँड्यौला झुण्ड्याउने अंकुसे पनि राखे। यति भएपछि उनले नदीमा माछा पक्रन बल्छी थापे।
केही समयपछि एउटा ठूलो माछा अंकुसेमा अड्कियो। लाओ-त्से यति उत्साहमा थिए कि उनले छडीलाई पूरै शक्ति लगाएर ताने। माछाले पनि फुत्कन आफ्नो तागत लगायो। दुवैको तानातानमा बल्छीको छडी भाँचियो र माछो भाग्न सफल भयो।
लाओ-त्सेले अर्को छडी बनाए र पुनः माछा फुत्कन नदी किनार गए। केही समयपछि त्यस्तै अर्को ठूलो माछा बल्छीमा पर्यो। लाओ-त्सेले यस पटक विस्तारै छडी ताने। यति विस्तारै ताने कि माछोले उनको बललाई जित्यो, छडी भाँच्यो र भाग्न सफल भयो।
लाओ-त्सेले पुनः तेस्रो पटक पनि छडी बनाए। त्यसैगरी खोला किनारमा पुगे। केही समयपछि माछाले चारो खान थाल्यो र बल्छीमा अल्झियो। यस पटक माछाले जति बल लगाउँछ, लाओ-त्सेले पनि उति नै बल लगाए। माछा र लाओत्सेको बराबरीको द्वन्द्व भयो। तानातान गर्दा माछो गल्यो। उनले सहजै माछालाई बल्छीबाट बाहिर निकाले।
त्यो दिन साँझ लाओ-त्सेले आफ्ना शिष्यहरूलाई भने, ‘आज मैले संसारसँग कसरी व्यवहार गर्ने भन्ने सिद्धान्त पत्तो लगाएँ। बराबर बलको प्रयोगको सिद्धान्तले जीवनमा कहिल्यै धोका खाने छैनौ। जसै संसारले तिमीलाई आफूतिर तान्छ, तिमीले त्यो बेला ठीक उत्तिकै बल प्रयोग गरेर आफूतिर तान। तिमीले आफ्नो प्रचण्ड बल प्रयोग गर्यौ भने तिमी नष्ट हुनेछौ, अनि तिमीले क्षीण बल प्रयोग गर्यौ भने संसारले तिमीलाई नष्ट गर्नेछ।’
अच्युत कोइरालाद्वारा संकलित ‘जेन कथा’ पुस्तकबाट
प्रकाशित: २९ श्रावण २०८० ०४:३४ सोमबार