२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

सापसबाट १३ साधक सम्मानित हुँदै

साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको अवसरमा तेह्र विशिष्ट साधकलाई सापस स्वर्ण महोत्सव सम्मानले अभिनन्दन गरिने भएको छ।

अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू-मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, केके कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र केसी, द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एसपी कोइराला र डीआर उपाध्याय रहेका छन्।

संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले सो निर्णय गरेको हो। सो सम्मानका लागि वरिष्ठ साहित्यकारहरू-नरेन्द्रबहादुर श्रेष्ठ संयोजक र प्रमोद प्रधान र श्रीओम श्रेष्ठ ‘रोदन’ सदस्य रहेको सिफारिस समिति बनेको थियो। उनीहरू सबैलाई आगामी साउन २९ गते अभिनन्दन गरिनेछ।

विसं २०२९ सालमा स्थापना भएको साहित्यिक पत्रकार संघले गत साउन १३ गते डा. जगमान गुरुङ, गीताकेशरी र मदनदास श्रेष्ठको अभिनन्दन गरेको थियो।

यसअघि वरिष्ठ साधकहरू धरणीधर कोइराला, विश्वेश्वरप्रसाद कोइराला, काशीबहादुर श्रेष्ठ, चन्द्रमान मास्के, पारसमणि प्रधान, यज्ञराज शर्मा, रुद्रराज पाण्डे, सिद्धिचरण श्रेष्ठ, नरबहादुर भण्डारी, भुवनलाल प्रधान, माधवप्रसाद घिमिरे, महानन्द पौडेल, भवानी घिमिरे, श्यामप्रसाद शर्मा, मदनदेव भट्टराई, शशिकला शर्मा, भरत जंगम लगायतको अभिनन्दन गरिसकेको छ।

प्रकाशित: १९ श्रावण २०८० ०४:३३ शुक्रबार

अक्षर