२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

गुलाबी वालिङ

आञ्चलिकता

वर्षातको समयमा पनि आँधीखोला सङ्लो छ। यही खोलाको किनारमा अवस्थित स्याङ्जाको वालिङ त झनै खुलेको छ। चार वर्ष अगाडिबाट गुलाबी रङ पोतिन सुरु भएको यो सहरमा माया, ऊर्जा र सद्भावको समिश्रणले गुलाबी देखिँदै छ।

वालिङ नगरपालिकाका निवर्तमान मेयर दिलीप खाणले सुरु गरेको यो अभियानले सहर ‘पिंक वालिङ’का नामले चिनिँदै छ। ‘पिंक माया, ऊर्जा र सद्भावको रङ हो,’ उनले भने, ‘हाम्रो सहर पनि अहिले यस्तै रङमा रङ्गिँदै छ।’

यो रङ लगाउने योजना २०७४ असार ३० गतेको वालिङ नगरपरिषद्को भेलाले गरेको थियो। वालिङलाई पिंक कलर (गुलाफी रङ) को सहरमा रूपान्तरण गर्ने निर्णय नगरपालिकाको १ र १० वडामा लागु भएको छ। १४ हजार घरधुरी रहेको वालिङमा यतिबेला करिब ७० प्रतिशतमा गुलाबी रङ लागिसकेको छ।

‘आँधीखोला माया, सद्भाव र ऊर्जाको साक्षी हो। सङ्लिएको आँधीखोलाले अब सिंगो नगरको गुलाबी छाया बोकेर बग्ने छ,’ स्थानीय दिना पंगेनी भन्छन्।

वालिङ नगरभित्र मात्र लागु भएको यो योजना कार्यान्वयन नगर्ने घरलाई घरसम्पन्नको प्रमाण पत्र नदिइने निर्णय पनि नगरले गरेको छ। घर सम्पन्नको प्रमाणपत्र लिन आउँदा पिंक रङ लगाएको घरको फोटो पनि अनिवार्य पेस गर्नुपर्ने नियम छ।

‘नयाँलाई यो नियम हो, पुराना घरले लगाउनैपर्छ भन्ने नियम राखेको छैन,’ खाण भन्छन्, ‘तर छिमेकीको घरको रङ देखेपछि उहाँहरूले पनि रङ्ग्याउन थाल्नुभएको छ।’ पिंक रङ लगाउने घरधनीलाई नगरपालिकाले रङमा ५० प्रतिशत छुट दिने निर्णयले पनि धेरै यसतर्फ आकर्षण भएको उनको बुझाइ छ।

नगरको यो निर्णयलाई स्थानीयले पनि उत्तिकै आत्मसाथ गरेको देखिन्छ। नगरपालिकाले रङको विषयमा निर्णय गर्नुअगाडि ३५ दिने सूचना निकालेको पनि थियो। त्यसमा कसैको असहमति नआएकाले पनि नगरलाई निर्णय गर्न सजिलो परेको पूर्व मेयर खाणले बनाए।

‘नगरवासीको मन जित्न सके सबैलाई सँगै लिएर अगाडि बढ्न सकिन्छ भन्ने उदाहरण पनि हो यो सहरको साझा रङ,’ उनले भने, ‘यसले सिंगो नगरलाई एक बनाएको महसुस भएको छ।’

खाणका अनुसार यो रंग मन नपर्नेले घरको बाहिरपट्टि पूरै नलगाए पनि कुनै एक ठाउँमा मात्र लगाए पनि हुने छुट छ। वालिङलाई १० वर्षमा शतप्रतिशत एउटै खाले रंगले रङ्ग्याउने योजनाअन्तर्गत यो अभियान सुरु भएको उनले बताए।

नगरको यो निर्णयलाई स्थानीयले पनि उत्तिकै आत्मसाथ गरेको देखिन्छ। नगरपालिकाले रङको विषयमा निर्णय गर्नुअगाडि ३५ दिने सूचना निकालेको पनि थियो। त्यसमा कसैको असहमति नआएकाले पनि नगरलाई निर्णय गर्न सजिलो परेको पूर्व मेयर खाणले बनाए।

नगरको यही एकताले आँधीखोला किनारको यो सहर सरसफाइसँगै विकासका हरेक कुरामा अगाडि बढेको छ। जसले नगरबासी झनै खुसी छन्। ‘अहिले त मलाई पनि यो रङ निकै मन पर्न थाल्यो, ‘गुलाबी रङको कपडा लगाएर गुलाबी घर अगाडि उभिएकी तारादेवी सुवेदीले गुलाबी मुस्कानका साथ भनिन्, ‘हामीलाई नगरका काम र रङ दुवैले खुसी दिएका छन्।’ 

नजिकका अन्य नगरभन्दा हामी भिन्नै छौं भन्ने पनि यो नगरले देखाएको उनले बताइन्। ‘जताबाट हेरे पनि पिंक कलरका घर देखिएपछि वालिङ आयो भन्ने थाहा हुन्छ,’ सुवेदी थप्छिन्, ‘यो रङ त अहिले हाम्रो पहिचान भएको छ।’

स्याङ्जा जिल्लाको मध्य क्षेत्रमा फैलिएको, आँधीखोलाको किनारमा पर्ने वालिङ यस क्षेत्रको वाणिज्य केन्द्रसमेत हो। जिल्ला सदरमुकाम पुतलीबजारबाट २० किलोमिटर टाढा रहेको यो नगरको बीचभागबाट आँधीखोला बगेको छ। ‘आँधीखोला माया, सद्भाव र ऊर्जाको साक्षी हो,’ दिना पंगेनी भन्छन्, ‘सङ्लिएको आँधीखोलाले अब सिंगो नगरको गुलाबी छाया बोेकेर बग्ने छ।’ 

प्रकाशित: १३ श्रावण २०८० ०३:५४ शनिबार

अक्षर