२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

सोपान संयुक्त कवितासंग्रहकाे लोकार्पण

मनमति साहित्य समाजले सात पुस्ताका सात कविका सातसात कविता रहेको सोपान संयुक्त कवितासंग्रहकाे लोकार्पण गरेको छ।

कवि तथा संस्कृतिविद् तुलसी दिवसकाे प्रमुख आतिथ्यमा प्रमुख अतिथि दिवस, कार्यक्रमका अध्यक्ष कृष्णबहादुर साहु, सष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, तिलक लुइँटेल र कृष्णप्रसाद भण्डारी मार्सेलीले सोपान संयुक्त कवितासंग्रह कृतिको लोकार्पण गरेका थिए।

‘सोपान’ कवितासंग्रहमा विभिन्न पुस्ताका रामचन्द्र दाहाल, गणेश लोहनी, गोपीकृष्ण थापा, दुर्गाकिरण तिवारी, मौनता थापा, कपिल अधिकारी र माधव बिडारीका सातसात कविता सङगृहीत छन्।

त्यस्तै अतिथि कविका रूपमा कवि तथा गीतकार दिनेश अधिकारी, प्रकाश घायल, प्रज्ज्वल अधिकारी र मौन आवाजका कविताहरू सङगृहीत छन्।

गीतकार तथा मुक्तककार एचके धितालले सञ्चालन गरेकाे कार्यक्रममा दुर्गाकिरण तिवारीले स्वागत मन्तव्य दिएकी थिइन्।

मनमति साहित्य समाजका उपाध्यक्ष जनार्दन अधिकारी ‘धड्कन’ले संस्थाबारे र कृतिकाे सम्पादक माधव बिडारीले कार्यक्रम र पुस्तकको औचित्यबारे प्रष्टयाएका थिए।

कार्यक्रममा  चितवनका उपन्यासकार चिरञ्जीवी दाहाललाई नगद सहित सम्मान गरिएको थियो। मनमति साहित्य समाजका महासचिव जनक अधिकारीले सम्मानित स्रष्टाबारे बाेलेका थिए। सम्मानित स्रष्टाले  सम्मानले आफूलाइै झन् हाैस्याएकाे बताए।

प्रकाशित: १३ असार २०८० ०७:४४ बुधबार

अक्षर