२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

दृश्य एक परिदृश्य अनेक: जब पिँजडामा विवेक बन्धक बन्छ

अनुभूति

कवि शिरोमणि लेखनाथ पौड्यालको ‘पिँजडाको सुगा’ पढेको दशकौंपछि पहिलो पटक अर्को एउटा फलामे पिँजडाले गहिरोसँग सोच्न बाध्य बनायो। शनिबारे पदयात्राका क्रममा तारेभिरतिर लाग्दै गर्दा एक महिलाले एउटा हातले चरासहितको पिँजडा र अर्को हातले छोरा डोर्‍याउँदै जंगल पार गर्दै थिइन्।

यो पिँजडाभित्र लेखनाथ पौड्यालको कविताको बबुरो सुगा थिएन, पिँजराभित्र सुँगाभन्दा पनि निकै साना एक जोडी बबुरा चरा थिए। वनको चरी पिँजडामा कैद भएर वनकै यात्रामा निस्केको यो दृश्यले मन भित्रैदेखि तरंगित बन्यो। पौडेलले कवितामा स्वतन्त्र हुन चाहने, फल खाई कुञ्जमा रमाई देशान्तर डुल्ने-फिर्ने एउटा सुगालाई पिँजडामा कैद गरेको मर्म देखाएका छन्। त्यस्तै मर्म यो पिँजडामा पनि देखियो।

‘हामीलाई पिँजडामा राखेर उनीहरू कहाँ स्वतन्त्र हुन सक्छन् र नानी ?’ आमा चरीले भन्यो, ‘हामीलाई सानो पिँजडामा कैद गर्नेहरू पक्कै पनि पृथ्वीको ठुलो पिँजडामा बन्धक बन्नेछन्।’

जंगलयात्राका क्रममा पिँजडा हातमा लिएकी आमा आफ्नो सन्तानसँगै भलाकुसारी गर्दै अगाडि बढ्दै थिइन्। अलि पर रहेकाले ती आमाछोराको कुरा बुझ्न सकिएन तर पिँजडाभित्रका चराको आवाज भने भित्री मनबाट सुन्ने प्रयास गरें।

सानो चरीले ठुलो चरालाई सोध्दै थियो, ‘यी मान्छेले हामीलाई कता लैजाँदै गरेको आमा?’ ठुलो चराले कान नजिकै गएर भन्यो, ‘सायद हामीलाई हाम्रो घर ‐जंगल) घुमाइरहेका छन्।’

‘अनि किन पिँजरामा त?’ सानो चरीले फेरि सोध्यो। ‘हामीप्रति विश्वास नभएर होला। हामी उडेर आफ्नै घर ‐जंगल) मा फर्कने डर होला उनीहरूलाई,’ आमा चरीले जवाफ फर्कायो।

‘अनि हामीलाई पिँजरामा राखेर उनीहरू किन जंगलमा खुला हिँडिरहेका छन् आमा,’ सानो चरीले फेरि सोध्यो।

‘उनीहरूलाई डर नभएर हो नानी,’ आमा चरीले भन्यो।

‘डर नभएपछि पिँजडाभित्र बस्नुपर्दैन र आमा?’ सानो चरीले फेरि सोध्यो।

जंगलयात्राका क्रममा पिँजडा हातमा लिएकी आमा आफ्नो सन्तानसँगै भलाकुसारी गर्दै अगाडि बढ्दै थिइन्। अलि पर रहेकाले ती आमाछोराको कुरा बुझ्न सकिएन तर पिँजडाभित्रका चराको आवाज भने भित्री मनबाट सुन्ने प्रयास गरें।

‘हामीलाई पिँजडामा राखेर उनीहरू कहाँ स्वतन्त्र हुन सक्छन् र नानी?’ आमा चरीले भन्यो, ‘हामीलाई सानो पिँजडामा कैद गर्नेहरू पक्कै पनि पृथ्वीको ठुलो पिँजडामा बन्धक बन्नेछन्।’  

चराहरूको कुरा सुन्दा यस्तो लाग्थ्यो-उनीहरूले ती आमाछोरालाई पृथ्वीको पिँजरामा कैद गरेर जंगल डुलाइरहेका छन्।

उनीहरूको यति कुरा सुनेपछि हामी हिँड्ने र ती महिला हिँड्ने बाटो मोडियो। चराको वार्तालाप मनमा खेलाउँदै हामी अगाडि बढ्याैं। उनीहरूले आफ्नो बनाएर पिँजडामा राखेका चरा उनीहरूका हुन सकेका थिएनन् किनकि बन्धक बनाएकाहरू कसैका हुँदैनन्।

उनीहरूका मात्र होइन, पिँजडामा चरा राखेर यात्रा गर्दा चराहरू कसैका पनि हुँदैनन्। चरालाई पिँजडामा राख्नु भनेको प्रकृतिलाई बन्धक बनाउनुजस्तै हो। बन्धक बनेको प्रकृतिमा हामी कसरी स्वतन्त्र श्वास लिन सक्छौं र?

चराहरूको कुरा सुन्दा यस्तो लाग्थ्यो-उनीहरूले ती आमाछोरालाई पृथ्वीको पिँजरामा कैद गरेर जंगल डुलाइरहेका छन्।

कवि पौड्यालले सहरिया परिवेशमा बाँच्नु परेको उत्पीडनलाई पिँजडाको प्रतीक दिई आफूलाई सुगासँग दाजेका छन्। राणाशासनको कठोर बन्धनमा उल्जिरहेका आम नेपाली जनताको रोदन पनि हो पिँजडाको सुँगा कविता। देश राणाशासनबाट मुक्त छ। यी चरा पनि मुक्त होऊन् भन्ने आशा जाग्यो।

राति सपना देखें त्यही चराको। पर गएपछि चौतारामा ती महिलाले पिँजडा खोलिन् र बन्धक बनेका एक जोडी चरा उडाइदिइन्। चराहरू पिँजडाबाट निस्केर पनि भागेनन्।

उनीहरूले महिला र त्यो बालकको हात चुमे अनि मुस्कुराउँदै जंगलमा हराए। चराको चुम्बनसँगै पिँजरा हातमा लिएर असजिलोसँग उकालो यात्रा गरिरहेका ती आमा सुन्दर परी बनिन्। उनले छोरालाई साथमा लिएर जंगलमा उडिरहेको दृश्य निकै रहरलाग्दो देखियो। सपना खुल्यो। फेरि प्रातः भ्रमणमा निस्किएँ। 

प्रकाशित: २७ जेष्ठ २०८० ०२:१५ शनिबार

अक्षर