२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

भैरव अर्यालको जीवनीमा आधारित उपन्यास ‘भग्न भैरव’ लोकार्पण

कुशल हास्यव्यंग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ। लेखक प्रोल्लास सिन्धुलीको भग्न भैरव काठमाडौं,बत्तिसपुतलीको शिल्पी थिएटरमा लोकार्पण गरिएको हो।

उपन्यासमा अर्यालको जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको छ। आफू रोएर पनि अरूलाई हँसाउन सक्ने स्वभावका भैरव अर्यालको वास्तविक घटनामा आधारित पुस्तक लेखिएको लेखक सिन्धुलीयको भनाइ छ।

कार्यक्रममा पत्रकार रोचक घिमिरेले हास्यव्यंग्य क्षेत्रमा भैरव अर्यालको अतुलनीय योगदान रहेको बताए। भैरव अर्यालले हास्यव्यंग्य क्षेत्रमा लेखेको लेखमार्फत नेपाली साहित्य जगतले ठूलो फड्को मारेको उनको भनाइ छ।

कुशल हास्यव्यंग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ।

भैरव अर्यालसँग निकट सम्बन्ध भएका कारण पत्रकार घिमिरेले आफू यो स्थानसम्म पुग्न सहयोग मिलेको बताए। भैरव अर्याल र रमेश विकलका लेखमार्फत साहित्य क्षेत्रमा आफ्नो रुचि बढेको उनको भनाइ छ। भैरव अर्यालसँगको पहिलो भेटबाटै एक आपसमा आकर्षित भएकाले पनि साहित्य क्षेत्रमा केही सहजता पाएको उनले सम्झे।

कवियत्री ज्योति जंगलले आफूले देख्न भेट्न नपाए पनि पुस्तकमार्फत उनलाई हेर्दा सकारात्मक धारणा पाएको बताइन्। पुस्तकमा उपन्यासको भाषिक लय लवज बाह्य आचरण पनि सुन्दर रहेको र पुस्तक नाट्य शैलीमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको उनको भनाइ छ।

कवियत्री ज्योति जंगलले आफूले देख्न भेट्न नपाए पनि पुस्तकमार्फत उनलाई हेर्दा सकारात्मक धारणा पाएको बताइन्।

साहित्यकार नारायण ढकालले आफू भैरव अर्यालका छिमेकी रहेको भन्दै उनीसँग प्रभावित भई नयाँ कुरा सिक्ने अवसर पाएको बताए।

पुस्तकमा भैरव अर्यालको जीवनीका ७० घटनाक्रम प्रस्तुत गरिएको छ। लेखक प्रोल्लास सिन्धुलीयले भग्न भैरव पुस्तक लेखनका क्रममा पत्रकार रोचक घिमिरेको महत्वपूर्ण भूमिका रहेको बताए। उनले भैरव अर्यालसँग बिताएको कतिपय घटनाक्रम, कथावस्तु, प्रसंगमा सहभागिता र उल्लेखनीय सहयोग रहेको स्पष्ट पारे। रासस

प्रकाशित: १७ वैशाख २०८० ०६:१९ आइतबार

अक्षर