कविताः नर्क बनाउदै छौ ?
अना बृष्टीले अति गर्यो
गाउँमा मकै उम्रीएन
हिमालमा हिउँ परेन
राम्ररी फुलेनन् आरुका फुलहरु
बैशाख नलाग्दै फुलीसके गुरासहरु!
ज्यामी मौरीहरुले रस ओसार्न पाएनन्
रानी मौरीहरुले घर समाल्न सकेनन्
रंगी बिरङ्गी पुतलीहरु
अलप भैसके!
खेतीको समय घर्की सक्यो
उडेनन् बारीमा छिचमिराहरु!
पाउला फेर्न सकेन कटुसले
फुल फुलाउन सकेन लाकुरीले
गुँड बनाउन सकेन कोइलीले
न्याउली रोईरहेछ!
सुबी चिच्याईहरेछ!
काफल पाक्यो भन्दै आएन यसपाली चैते चरी!
तुवाँलोले छेकेको छ जताततै
छारो बसेकोछ बाताबरण भरी
नजर पर सम्म पुग्दैन
धुमिल छ दृष्टि
उकुस मुकुस छ सेरोफेरो!
ननिहरुका आखा पकिसके
बुढाहरुको दम बढीसक्यो
युवाहरुमा आलस्यता छ।
सुर्य तेज छ
हावामा शितलाता हरायो
पानीमा मिठास छैन !
फेरी कसले फालिदियो चुरोटको ठुटो
आगो फैलिएको छ
मानुङको पाखाभरी!
खर बारीमा खर पलाएन
चौतारीमा वर पलाएन !
मान्छेहरुको मन पलाएन!
डाँडाहरु छिया छिया पारे डोजरले
चुरेमा पानीका मुल सुके
तराई धुलाम्मे भो!
शहरमा श्वास फेर्न गाह्रो छ
हु रु रु कार्बनमोनो अक्साईड फाल्छ्न
पुराना सवारीहरु!
बिजुली बस सपना भो
ट्रलीबस स्वर्ग गो!
कंक्रिटले भरीए गाउँ सहर
खरको छानो कथा भो!
ढुङ्गाका सिढी हटाएर ढलाने बाटो छ
भद्दा बिकासको नमुना
तीन हजार फिटको डाँडोमा
तीस फिटको भ्यु टावर छ!
हैन हामी के गर्दै छौ?
स्वर्ग जस्तो यो देश
नर्क त बनाउदै छैनौ?
प्रकाशित: ९ वैशाख २०८० ०३:३७ शनिबार