२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

टीकापुर घटनाका कैदी रिहा हुनुपर्छ: डा. भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टीकापुर घटनालाई बिर्सेर अघि बढ्नुपर्ने बताएका छन। ‘साहित्यमार्फत सामाजिक सद्भाव’ भन्ने नाराका साथ टीकापुर साहित्य समाजले आयोजना गरेको साहित्य महोत्सवमा बोल्दै उनले सबै समुदायले मेलमिलापको भावना बोकेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले विगतको घाउलाई कोट्याएर मेलमिलापको वातावरण नबन्ने बताए।

उनले २०७२ भदौ ७ गतेको टीकापुर घटनाका मुख्य योजनाकार रहेको आरोपमा कैदी जीवन बिताइरहेका पूर्वसांसद रेशमलाल चौधरी लगायतको रिहाइ हुनुपर्ने बताए।

उनले टीकापुर घटनालाई परिवर्तनका लागि भएको राजनीतिक घटनाका रूपमा बुझेर कैदी जीवन बिताइरहेका सबैको रिहाइ हुनुपर्ने बताए। ‘त्यो दुःखद घटना थियो।

परिवर्तनका लागि भएको लडाइँ थियो,’ उनले भने, ‘यस्ता घटना विगतमा पनि भएका थिए। सबै राजनीतिक दलले परिवर्तनका लागि विभिन्न समयमा हतियार बोकेकै हुन्।’

एक छुट्टै प्रश्नमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले जनयुद्धका क्रममा राजाका शालिक तोड्नु गल्ती भएको स्विकार्दै त्यस्तो कार्य पार्टीको नीतिविपरीत भएको बताए।

महोत्सवमा डा. भट्टराईसँगै रहेका नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले अदालतमा विचाराधीन मुद्दा भएकाले आफूले टीकापुर घटनाका बारेमा कुनै प्रतिक्रिया नदिने बताए। उनले कैदी रिहाइ हुने कुरा अदालतको विषय भएकाले विवादास्पद टिप्पणी नगर्ने जवाफ दिए। ‘यो अदालतको विषय हो।

मैले बोल्दा टिकाटिप्पणी हुनसक्छ,’ उनले भने, ‘यस विषयमा केही नबोलौं।’ उनले राजनीतिक नेतृत्वप्रति देखिएका नकारात्मक प्रतिक्रियाको जिम्मेवारी आफूले लिने बताउँदै संक्रमणकालीन अवस्थालाई व्यवस्थापन गर्न नसकेका कारण जनतामा नकारात्मक धारणाको विकास भइरहेको बताए।

नेकपा एमालेका पूर्वउपाध्यक्ष समेत रहेका डा. रावलले भने राजनीतिक दलहरूले चुनावमा गरेका प्रतिवद्धता अनुसार काम गर्न नसकेर जनतामा नैराश्यता उत्पन्न भई राजनीतिप्रति नकारात्मक धारणा आउने गरेको बताए। उनले राजनीतिक नेतृत्व दोषी रहेकाले त्यसको जिम्मेवारी लिन आफू तयार रहेको बताए। ‘म कति दोषी हो। त्यसको मूल्यांकन जनताले गर्नेछन्,’ उनले भने, ‘हामी सबैले आआफ्नो दोषको जिम्मेवारी लिनुपर्छ।’

उनले समानुपातिक प्रणाली नेताका अमुक व्यक्तिलाई चुन्ने व्यवस्थाका रूपमा विकास भएकाले खारेजी हुनुपर्ने बताए। साहित्य महोत्सवमा विभिन्न राजनीतिक विश्लेषक, साहित्यकार लगायतले विभिन्न विषयमा आआफ्ना धारणा राखिरहेका छन्। महोत्सव भोलिसम्म चल्नेछ।

प्रकाशित: २७ चैत्र २०७९ ०२:३८ सोमबार

अक्षर