एउटा सामाजिक जमघटमा पवित्रा सुवेदी उप्रेतीबाट ‘अठासी वर्षमा कैलाश मानसरोवर’ नामक पुस्तक हात पर्याे। रोहवरमा नन्दु उप्रेती पनि सँगै हुनुहुन्थ्यो। चाँडै पढिसकेर प्रतिक्रिया दिउँला भनेर पुस्तक बोकी घरमा आएँ।
भोलि पर्सिपल्ट नै किताबमा नजर चढाएँ। किताबले मलाई तान्दै गयो। किताब पढिसकेपछि मभित्र थुप्रै भावनाहरू सलबलाए। पुस्तकले चिनाएकी ९२ वर्ष वयकी नन्दकलाका बारेमा केही लेखेर सम्मान र श्रद्धा प्रकट गरौं भन्ने भाव जागेर आयो। पुस्तकको मुख पृष्ठमा नै उमेर, ठाउँ र नामले महत्व पाएको देखेर आफ्ना विचार पनि त्यसैमा गाँसिन पुगे। ८८ वर्षको वयमा कैलाश मानसरोवर चढ्ने साहस र क्षमताले भरिएकी आमाप्रति यी शब्दहरू पोख्ने विचार गरें।
उनन्चालीस वर्षको उमेरमा काहिँली छोरी ज्ञानु काखमा भएका बखत प्राैढ कक्षाको लहरो समातेर अक्षरका पहाड चढ्न सुरु गरेकी नन्दकला आमाले अक्षरलाई जित्नुभयो। अक्षरहरूले आमासँग हारे। आमाले अक्षरहरू जन्माउनुभयो-आफ्ना फैलिएका सन्तानहरूसँगै। अक्षरले फेरि आमालाई जन्म दिए। जीवनको जन्म १९८७ सालमा भएको भए पनि सिर्जनाको फूल फुलाउने स्रष्टा भएर २०७९ साल माघमा जन्मिनुभयो। यस्तै हो नियम अक्षरलाई मानिसले जन्म दिन्छन् र अक्षरले मानिसलाई जन्माउँछन्।
२०२६ सालमा पौढ शिक्षाको माध्यमबाट अक्षरसँग आत्मसात गरेकी नन्दकला आमाबाट जन्मिएको यो कृति आफैमा अनुपम छ। कथ्य भाषाका ग्रामीण लवजलाई उनेर तयार पारेको यो कृतिभित्र नन्दकला आमासँगै मेरी ९५ वर्षीय आमा गङ्गादेवी उप्रेतीलाई पनि पाएको महसुस भयो। मेरी आमा गङ्गादेवी उप्रेतीभन्दा दुई वर्ष कान्छी नन्दकला आमाबाट प्रस्फुटन भएको यो प्रतिभालाई देख्दा आफूले आफ्नी आमाप्रति अन्याय गरिएछ कि भन्ने लाग्यो। निरक्षर भएर पनि निडर, हक्की र नेतृत्व क्षमताकी धनी मेरी आमालाई पनि हामीले पढाएर नन्दकला आमालाई जस्तै अक्षरसँग खेल्न सक्ने क्षमताकी बनाएको भए नन्दकला आमाकै ठाउँ उहाँले पनि पाउनुहुन्थ्यो भन्ने लागेर पश्चात्तापको पीडादायी विचारले पनि मलाई यी हरफ लेख्न उत्साहित गराए ।
उच्च शिक्षामा विद्यावारिधि र महाविद्यावारिधिका उपाधि हासिल गरेका व्यक्तिहरूको चेतनामा पनि हुन नसकेको उन्नत स्तरको चेतना पोखेर बाहिर घुम्न जाँदा आफ्नो गाउँ ठाउँका बारेमा राम्रो जानकारी लिएर अरूलाई त्यसबारे बताउन सक्ने हुनुपर्छ भन्ने मिठो सन्देश छर्न पनि उहाँ सफल हुनुभएको छ।
राजा वीरेन्द्रका काका हिमालयको पोखरास्थित घरमा बास बसेको प्रसंगदेखि भजन गाएको प्रसंग, आफ्ना बुबाको र नाति ओमप्रकाशको वियोगमा उद्वेलित भएका भावनाहरू, काल भैरवको मन्दिरमा प्रवेश गरेको साहसिक प्रसंग, जलपाइगुडीलाई ‘गुडीपाइजल’ भनेर गलत नाम बताउदा दुःख पाएको हाँस उठ्दो प्रसंग, दिदीहरू हराउँदाको बेचैनी र घर पुगेको प्रसंगले छाएको खुसी, मन्दिरमा बस्ने झुमासँगको भेट, सम्धिनीको यात्राकै क्रममा पशुपतिनगरमा भएको दुःखद निधन, केदारनाथ पुग्दाको रोचक क्षण, सेठहरूको भोजमा सरिक हुनु परेको रोमाञ्चक प्रसंग लगायत अठासी वर्षमा कैलाश मानसरोवरको यात्रा प्रसंग समेटिएको १२ शीर्षकको पुस्तक पाठकको ध्यान तान्न सफल देखिएको छ।
नियात्रा साहित्यका पारखी मित्र प्रतीक ढकालले लेख्नुभएको सरसपूर्ण भूमिकाले पाठकलाई पुस्तकभित्र उत्सुकतापूर्वक प्रवेश गराउन आकर्षणको ढोका खोल्ने काम गरेको छ।
यो पुस्तकले नेपाली साहित्यको भण्डारलाई समृद्ध पार्न सघाएको भन्ने मेरो मनमा लागेको छ। नन्दकला सुवेदी आमाजस्तै अरू पनि स्रष्टा आमाहरू जन्माउन यो पुस्तकले उत्प्रेरित गरोस् भन्ने कामनासहित नन्दकला आमाको भावी जीवन सुखद र स्वस्थ रहोस्, अझै यस्ता सिर्जनाहरू थपिऊन भन्ने कामना समेत गर्छु।
प्रकाशित: २५ चैत्र २०७९ ०२:३३ शनिबार