२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

प्रकृतिलाई खुसी बनाउन भुमे पूजा

म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’ मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ। रघुगंगा गाउँपालिका-१ बेग, बाँदुक, वडा नं ७ चिमखोलामा मंगलबार धुमधामका साथ भुमे पूजा गरिएको छ। हरेक वर्ष चैत महिनाको उजेली मंगलबारका दिन परम्परागत रूपमा गरिंदै आइएको भुमे पूजालाई उनीहरूले यस वर्ष पनि निरन्तरता दिएका छन्।

खेती-किसानी गर्ने परम्परागत पेसा अँगालेका मगर समुदाय वन, जंगल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् भन्ने उद्देश्यले भुमे पूजा गर्ने गरेका हुन्।

बर्खा लाग्नु अघि बाढी, पहिरो, असिना लगायत प्राकृतिक प्रकोप नहोस् भन्ने कामनासहित प्रकृति पूजाको रूपमा भुमे अर्थात् भूमिको पूजा गर्ने चलन रहेको रघुगंगा-७ का वडाध्यक्ष थकबहादुर पाइजाले बताए।

चिमखोलामा भूमे, मन्डली र ताप्केभेरास्थित भुमेथानको पूजा गरिएको छ। चिमखोला गाउँको शिरमा रहेको ऐतिहासिक मन्डली थान र सेवाङमा रहेको भूमे थानमा आफ्नो मनोकामना पूरा हुने विश्वासले जिल्लाको विभिन्न ठाउँबाट भक्तजन आएका थिए।

‘आपत्विपत्मा मण्डली र भुमे देवतालाई गुहार माग्छौं, मनोकांक्षा पूरा भएपछि भाकलस्वरूप थानमा आएर पन्च्योल पूजा गर्ने चलन छ’, अध्यक्ष पाइजाले भने।

चिमखोलामा मण्डली बजै र भुमे थानमा अहिलेसम्मकै धेरै भक्तजन आएका थिए। तीन सय बढीले पन्च्योल नै चढाएका छन्। भुमेथानमा साँढ, मण्डली बजैको थानलाई पाठीको बलि दिने गरिन्छ। मन्डली थानमा आएका भक्तजनले परेवा, नरिवल लगायत चढाएसमेत पूजा गर्छन्।

मन्डली थानको प्रचारप्रसार हुन थालेपछि हरेक वर्ष यहाँ पूजा गर्न आउनेको संख्या बढेको थान संरक्षण एवं व्यवस्थापन समितिका अध्यक्ष याम रोकाले बताए। यहाँ भुमे देवतालाई खुसी बनाउन कोदाको छ्याङ खाएर रमाइलो गर्ने चलन छ।

गाउँसभाबाट भुमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरूले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद संकलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने चलन छ।

छेमाहरूले एक महिनाअघि राखेको जाँडलाई भुमेथान परिसरमा विधिपूर्वक चढाएर खाने तथा भुमे देवतलाई खुसी बनाउन सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अँगार समेत एक अर्कालाई दलेर रमाइलो गर्ने चलन छ।

भुमेथानमा मौलिक संस्कृति अनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पुर्ख्याैली सेदो गीत, भैच मायाले लगायत गीतमा नाचगान गर्दै गाउँ फर्कँदा स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक र अगुवालाई काँधमा बोकेर सम्मान गर्ने चलन छ।

यसैबीच भुमे पूजाको अवसरमा चिमखोलामा विविध सांस्कृतिक एवं खेलकुद मेला सुरु भएको छ। यता रघुगंगा-१ बेग र बाँदुक गाउँमा समेत धुमधामका साथ भुमे पूजा गरिएको छ। भुमे पूजामा सरिक हुन सहरदेखि प्रवाससम्म छरिएर बसेका पनि गाउँ फर्कने गर्छन्।

यहाँ कुखुराको भाले, बोका र राँगोको बलि दिएर भुमे पूजा गर्ने चलन छ। प्रकृतिलाई खुसी बनाउन गरिने भुमे पूजाको महिमा बढ्दै गएको र देश तथा विदेशमा रहेका पनि गाउँ फर्कने गरेको स्थानीय महादेव माविका प्रधानाध्यापक दुतबहादुर गर्वुजाले बताए।

भूमे पूजामा मौलिक पुर्ख्याैली नाचसँगै नौमती पञ्चेबाजामा नाचगान गरेर उत्सव मनाउने भएकाले यतिबेला मगर समुदायको बसोबास रहेका बस्ती उत्सवमय बन्न थालेका छन्।

मगर समुदायको बाक्लो बसोबास रहेको रघुगंगा-४ दग्नाम र दर्मिजामा भने जेठको उजेली मंगलबार भुमे पूजा गरिन्छ भने वडा नं ६ पाखापानीमा वैशाखमा गर्ने चलन छ। भुमे पूजाको अवसरमा भुमे थानसँगै खोलाखोल्सा र धुरीमा रहेका अन्य देवीदेवताको समेत पूजा गर्ने चलन छ। रासस

प्रकाशित: २२ चैत्र २०७९ ०५:५० बुधबार

अक्षर