२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमटन’ नेपालीमा

निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमटनः नेपाली आप्रवासी कामदारको सम्झना’ कृति नेपाली भाषामा बजारमा ल्याएको छ। यसमा नेपालीले गर्ने वैदेशिक श्रमको कष्टकर र दुःखपूर्ण संसारको यात्राबारे विवरण प्रस्तुत गरिएको छ। साहित्यकार अरुण बुढाथोकीद्वारा अनूदित कृति मूल लेखक जोशीको स्मरण पनि हो। त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका लेखकले नियमित रूपमा युवा र श्रम आप्रवासनका विषय उठाइरहेका छन् र उनका नेपालका राष्ट्रिय पत्रपत्रिकामा लेखरचना प्रकाशन भइरहेका छन्।

जोशी विभिन्न देशमा वैदेशिक रोजगारीको कठोर यथार्थ अनुभव गरेपछि पुस्तक लेख्न प्रेरित भएका हुन्। निजी व्यापार कम्पनी तमसका कार्यकारी निर्देशक जोशीको यसअघि ‘मोडर्न बेली’ (आधुनिक बेली) उपन्यास प्रकाशन भइसकेको छ।

पब्लिकेसन्सका नेपाल प्रतिनिधि युयुत्सु आर डी शर्माले कृति लेखकको उत्तेजनापूर्ण जीवित अनुभव रहेको र यसलाई पढेपछि पाठक पनि राम्रोसँग निदाउन नसक्ने बताए। उनका अनुसार प्रस्तुत अनूदित कृतिमा मूल कृतिको मौलिकता, जीवन्तता र शक्ति कायमै छ।

क्यानडामा बसोबास गर्दै आएका पत्रकार एवं अनुवादक बुढाथोकीका यसअघि ‘एज’(किनारा) र प्रिजनर अफ एन आइप्याड (आइप्याडको बन्दी) कवितासंग्रह र ‘सेकेन्ड इन लभः शर्ट स्टोरिज’ (प्रेममा दोस्रोः कथाहरू) ‘गोइङ होम’(घर जाँदै) दुई कथासंग्रह प्रकाशन भइसकेका छन्।

विशेषगरी अन्तर्राष्ट्रिय पत्रपत्रिकामा लेखरचना प्रकाशन गर्दै आएका बुढाथोकी अनूदित कृति नेपाली आप्रवासी कामदारहरूको प्रायः उपेक्षित अनुभवहरूलाई प्रकाश पार्ने काम भएको बताए। ‘मैले यो शक्तिशाली पुस्तक महामारीको प्रारम्भिक दिनमा अनुवाद गरेको हुँ, यसमा  नेपाली आप्रवासी कामदारहरूले संसारभरि सामना गर्ने अन्याय र चुनौतीबारे विश्वलाई बताउन पाउँदा म खुसी छु।’

 पुस्तक अब अमेजन र निराला पब्लिकेसन्समा पेपरब्याक ढाँचामा उपलब्ध रहेको बताइएको छ। रासस  

प्रकाशित: १६ चैत्र २०७९ ०६:४८ बिहीबार

अक्षर