२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

परबाट डा. शेखरकुमार श्रेष्ठकाे ओढेको ‘छाता’ हेर्दा

पुस्तक

विषय प्रवेश

डा. शेखरकुमार श्रेष्ठद्वारा एकैचोटि प्रकाशित दुई लघुकथासंग्रह  ’छाता’ र ’बोकाको खुशी’मध्य यस समिक्षा लेखनमा छाता’ ‘लघुकथासंग्रहको परिचर्चा गर्ने प्रयास गरिएको छ। उसो त यी दुई कृतिलाई मैले छाता-१ र छाता-२ को रूपमा लिने विचार पो गरेको छु किनकि दुवै कृतिमा छाता शीर्षकको लघुकथा समेटिएको छ। सुसेली साहित्यिक प्रतिष्ठानद्वारा वर्ष २०७९ मा प्रकाशित यस लघ’कथा संग्रहले जम्माजम्मी ५१ कथा समेटेको छ। लता केसीको अग्रभूमिका र ‘छाता’ कथाको समीक्षा, प्राडा कपिल लामिछानेको ‘सुझाउ’ कथाको समीक्षा र शेखर अर्यालको ‘बाबुको इच्छा’ कथाको समीक्षा सहित प्रकाशित यस संग्रह १३२ पृष्ठ लामो छ।

कथाहरूको चिरफार

छानिएका केही कथाको नालीबेली छ-

‘नातिनी’ कथाले छोराबुहारीले हेला गरे पनि नातिनीको मायाले पुलकित हजुर बाआँखाबाट आँसु झार्दै टोलाइरहन्छन्। ‘पछुतो’ ले घरका डाक्टरलाई नचिनेर बाहिर वैध खोज्दै हिंड्ने आजको पुस्तालाई चोटिलो प्रहार गरेको छ। ‘पूर्णिमाको रात’ले चन्द्रमाको उज्यालोले पुलकित पृथ्वीको आकर्षक कथा बुनेको छ।

त्यस्तै गरी ‘धत्!’ कथाले विपरीत बुद्धिका नालायकहरूले कोरोनाको समयमा समेत थपेको भ्रष्टाचार र स्वार्थसिद्धिका घटनाप्रति प्रहार गरेको छ। ‘कमिसन’ ले कमिसनको लतमा आफ्नै परिवारको उपचारमा समेत कमिसनको सौदाबाजी गर्न पुग्नेको आचरणमाथि व्यंग्यभाव पोखेको छ। ‘मुसा’ले आफ्नो र पराई नठम्याउने मान्छेहरू मुसा जस्तै हुन् र कोरोनामा फोहोरको भन्दा पनि कम मूल्यको लाश बनेको छ मानिस भनिएको छ।

‘स्वागत’ कथाले कोरोनाले अधिकांश मानिसलाई शहरबाट गाउँ र परदेशबाट आफन्तको नजिक पुर्‍याएको यथार्थ चित्रण गरेको छ। ‘मान्छे’ ले कोरोनाको कथामार्फत मानिसको बुद्धिप्रति तीक्ष्ण व्यंग्य गरेको छ। ‘आँसु’ ले आमाबुवाको व्यस्तता र ग्याजेट मोहले बच्चामा परेको असर परेको यथार्थ पस्केको छ।

यस्तै गरी ‘सुझाउ’ कथाले कोरोनाको वितन्डाको समयमा देश छाडेर परदेश पुग्नेको मनको कहर पोखेको छ। ‘यस्तोचाहिं नहोस्!’ कथाले अनावश्यक कडाइले अस्पताल जानुपर्नेलाई रोकेर गरिएको अपराध चित्रण गरेको छ।

‘यात्रा’ कोरोनाको प्रकोपले मानिसलाई अनन्त यात्रामा लगेको यथार्थ देखाएको छ। ‘जिन्दगीको कथा’ले निरन्तरताको अर्को नाम जिन्दगी हो। पुस्ताै+ पुस्ता उही कथा चलिरहेको छ भन्ने दर्शाएको छ।

‘किसान’ ले धरातलमा टेकेर काम गर्ने किसानको योगदान नजरअन्दाज गर्ने बडेबडे विज्ञहरूमा खाद्य सुरक्षा किसानले गर्छ भन्ने ज्ञानको अभाव रहेको देखाएको छ। ‘अश्वत्थामा’ले विज्ञानको देनसँगै गलत प्रयोगले विश्वव्यापी महामारी फैलिएको हुन सक्ने-जप पूजा, धर्म, यज्ञबाट समाधानको खोजी गरेको प्रसंग उल्लेख गरेको छ।

‘फलानाको आशा नगर’ कथाले आफ्नो दुखले आफूलाई मात्र फल प्राप्त हुन्छ भन्ने छैन, अन्य व्यक्तिले या अर्को पुस्ताले फल पाउने परिश्रम गर्नु पनि असल कर्म हो भन्ने उजागर गरेको छ।

‘रोगको उपचार’ कथामा कविता र कथाको पठन र लेखाइ कर्मलाई आत्मसात गर्नेका लागि रोगको उपचार पनि तिनै कथा, कविता हुन्छ भन्ने प्रसंग उल्लेख भएको छ। ‘रावण’ ले आफ्नो भलो हुने काम सकाउने तर अरू र समाजको भलो हुने काम सबै थाती राख्ने प्रवृतिमाथि प्रहार गरेको छ। ‘तस्बिरको माला’ ले छोराको माया भुल्न नसकेको आमाको आँखै अगाडि सबै परिवार बितेर गएको बाउ, श्रीमान् भुलेर हिंड्ने गरेको देखेर चकित छिन्।

‘परेवा’कथाले गुँडबाट छुटाएर बचेरा परेवा उडाएर शान्ति आउँदैन भन्ने बुझ्ने सानी नानीको अघि समाज र समुदाय मूकदर्शक जस्तै छ भन्ने प्रस्ट्याएको छ। ‘पेट लाने भए’ले अभावै अभावको कहरले पिल्सिएका जन मानसलाई विकासे संस्थाले आफ्नो कोटा पूरा गर्ने नाममा गरीब परिवारले धान्न नसक्ने काम लाद्नुको कारण जनमानसको धारणा हातमुख जोर्ने इन्तजामको माग आउनु स्वाभाविक नै हो भनेको छ।

‘विद्रोह’कथाले वातावरणीय पक्षलाई ख्याल नगरी वन फँडानी गरेर बस्ती बसाउने र जीवजन्तुको आश्रयस्थल नष्ट गर्नेको विरुद्ध चराहरू र जनावरको विद्रोह पस्केको छ। ‘उचालपछार’ ले सासू आमाको भनाइलाई गाली सम्झिनुभन्दा घरायसी कुरालाई सहनशील भएर अर्तिको रूपमा लिन सके घरमा झगडा नै हुँदैन भनेको छ। ‘संसार’ ले चराको संसारमा समेत दक्खल पुर्‍याउने मानिस आफू भने घर, परिवार, समाज र राष्ट्र खादा गरेर सुरक्षित बस्न चाहन्छ भन्ने देखाएको छ।

‘किसान, मुसा र सर्प’ कथाले खुशी आफ्नो आफ्नो भन्ने प्रस्ट देखिन्छ, किसान बाली राम्रो भएकाले, मुसा लुटेर खाद्यान्न जोहो गरेकाले र सर्प मुसाको बस्ती नजिक भएकाले खुशी छ भनेको छ। ‘संस्कार’ ले युवावर्ग विदेश पलायन हुने प्रचलन बढेको र त्यसका विभिन्न असर समाजमा पर्ने कुराप्रति इंगित गरेको छ। ‘अन्तिम इच्छा’ ले मर्नुपर्ला भन्ने डरले बाँच्ने अभिलाषा बोकेर अस्पताल पुगेका बिरामीहरू कथा बोलेको छ।

‘शान्ति’ कथाले डर, चिन्ता, कठिनाइ, बेचैनी, हैरानी, इज्जत सबको अचुक ओखती अन्तर्मनको शान्ति नै हो। ‘प्रकृति’ले देशले भोगेको पीडा, प्रकृति जोगाउने चिन्ता, सक्नेहरू विदेश हिंडे, स्वदेश बस्नेहरूमा पनि परनिर्भरता छ भन्ने दर्शाएको छ।

त्यस्तै ‘शरणार्थी’ कथाले वैदेशिक इशारामा चलिरहेको अहिलेको परिवेशले आफ्नै नागरिकलाई शरणार्थी बनाइरहेको कुरा चित्रण गरेको छ। ‘सहयोग’ ले आफन्तलाई मात्र होइन दुखमा परेका सबैलाई सहयोगको हात फैलाउनुपर्छ भन्ने उजागर गरेको छ। ‘विवाद’ले जग्गाको विवाद एक इन्च दुई इन्चमा परिरहेको हुन्छ, त्यस्तो झगडाले परिवार र समाजको नाक काटिएको थाहा पाउन्नन् भन्ने उल्लेख छ।

‘गुरुआमा’ले आमाबुवाले समय नदिंदा छोरा छोरीको मन भाँचिन्छ र आफ्नो प्रतिभा प्रस्फुटन गर्ने धैर्य गुमाउँछन् भन्ने प्रकट गरेको छ।

अन्त्यमा

कथाको संरचनाका हिसाबले विविधता देखिन्छ र विषयका हिसाबले पनि विविधता कायम रहेको देखिन्छ। धेरैजसो कथा सामाजिक मूल्यमान्यता र घरायसी आनीबानी तथा मनको अन्तरकुन्तरमा रहेको कुण्ठा र त्यसले जन्माएको परिवेशका प्रसंगहरू छन्। केही देशप्रतिको चिन्ता, घर परिवार, समाज र राष्ट्र छाडेर परदेश पसेका युवाको अभाव देशभित्र छ। कति त परदेशिएका खसमको बाटो हेर्दाहेर्दा आफ्नो बाटो बिराएका संगिनीहरूको कथा छ। कोरोनाको मारले आक्रान्त समाज, तहसनहस बनेको अर्थतन्त्र, बिछोडिएका आफन्तजनको पीडा यस संग्रहले समेटेको छ।

मायाप्रेम, आकर्षण र सहकार्यको राम्रै प्रस्फुटन छ। गरीबहरू हातमुख जोर्ने ध्याउन्नमा छन्। उनीहरूले कसरी स्कुल पढ्ने कुरा, बौद्धिक उन्नयनका कुरा सोच्न सक्छन् र भनिएको छ। आधुनिक, शहरीया र हुनेखाने बन्ने धुनमा कति छोराछोरीको पुस्ताले बाबुआमालाई फरक नजरले हेरे पनि नातिनातिनाको पुस्ताले भरथेग गरेको कुरा छ एकातिर भने छोराबुहारीको व्यस्तताले बालबालिकाको हेरचाह नपुग्दा हजुरबाहजुरआमा पुस्ताको सामीप्यले पुस्तान्तरले निरन्तरता पाएको प्रसंग उल्लेख छ।

कतै बुहारीले पनि ससुरा, श्रीमान्, सासू लगायत परिवारमा नेतृत्वदायी भूमिका लिएर परिवारलाई भरथेग गर्न सक्छिन् र अझ उनको मनमा छोरी सरह गर्न सकिएन कि भन्ने संशय रहेको भन्दै कथाले सामाजिक मूल्यमान्यतामा सकारात्मक सन्देश दिएको छ।

‘विद्रोह, संसार, किसान, मुसा र सर्प, प्रकृति’ जस्ता कथाहरूमा पर्यावरणीय चेत, एक तत्त्वदेखि अरू तत्त्वहरूको परनिर्भरता र सामन्जस्यपूर्ण सहअस्तित्वको अभिव्यक्ति छ। केही कथामा देशप्रेम र समाज प्रेम भरिएको छ।

‘शान्ति, परेवा, आशा, बृद्ध आमा’ जस्ता कथाले जनमानसको शान्तिको भोकको व्याख्या गरेको छ। ’विवाद, शरणार्थी, घर झगडा, मतलबी’ जस्ता कथाले एक आपसको मनमुटाव, शंका, उपशंका जस्ता विषयको उजागर गरेको छ।

बालमनोविज्ञानमा आधारित कथाहरू-बाबुको इच्छा, गुरु आमा, आशा उत्तिकै सशक्त छ। सकारात्मक पहलले समाज परिवर्तनमा टेवा पुर्‍याउँछ भन्ने देखाएका छन्-हल्ला नगर, उचालापछार, छोरी बन्न सकिन, सहयोग जस्ता कथाहरूले  भने ’विद्रोह, असहमत’ जस्ता कथाहरूले विद्रोह बोलेका छन्।

‘छाता’ कथाले महिला र पुरुषको एकापसको वार्तालापले परम्परागत चालचलन र रीतिरिवाजमा परिवर्तन खोजेको देखाउँछ। कथाकारले यस कथामार्फत समयको आवाज बोलेका छन्।  

प्रकाशित: १० चैत्र २०७९ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App