२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

‘चरी’को उडानसँगै चलचित्रको वसन्त उत्सव सुरु

मनोरञ्जन

रङ्गीचङ्गी फूलसँगै राजधानीमा सुरु भएको वसन्त ऋतुमा कोइलीको कुहुकुहु सुनिन थालेको छ। यस्तै वसन्त यति बेला फिल्मी क्षेत्रमा पनि देखिएको छ। ‘चरी’ सिनेमाको प्रिमियरसँगै बिहीबाट सुरु भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करणमा विभिन्न देशका चलचित्रहरूको शुभ सन्देश छरिएको छ।

कोरोनाले सुक्दै गएको सिनेक्षेत्रमा देखिएको यो वसन्त उत्सवले धेरैलाई जीवन्त आशा जगाएको छ। ‘यो उत्सवले हामीलाई अगाडि बढ्न थप ऊर्जा दिएको छ, ‘वरिष्ठ कलाकार वसुन्धरा भुसालले भनिन्, ‘आर्थिक अवस्था कमजोर भए पनि कला र संस्कृतिका धनी हामीले संसारलाई हाम्रो कला देखाउने अवसर मिलेको छ।’

वसुन्धराको कुरासँग चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पनि सहमति जनाए। उनले उत्सवले नेपाल सिने उद्योगलाई मार्गनिर्देशन मिल्ने बताउँदै यहाँको पर्यटन क्षेत्रको उत्थानमा पनि सहयोगी हुने विश्वास व्यक्त गरे। ‘नेपाल एउटा खुला स्टुडियोजस्तो हो,’ उनले भने, ‘जहाँ क्यामरा राखे पनि खिच्नका लागि सुन्दर दृश्य देखिन्छन्।’ यो महोत्सवले संसारभरका सिनेकर्मीको नेपाली सुन्दरताले ध्यान खिच्ने विश्वास राखे।

उनको यो विश्वासजस्तै चिनियाँ राजदूत चेन सोङको पनि विश्वास रहेको छ। सोङले दुई मुलुकबीच संस्कृति आदानप्रदान र कूटनीतिक सम्बन्ध थप प्रगाढ बनाउन फेस्टिभलको योगदान महत्वपूर्ण हुने बताए। ‘चीन सिने क्षेत्रको ठुलो बजार हो,’ उनले भने, ‘नेपालले यसको भरपुर उपयोग गर्न सक्ने छ।’ सिने क्षेत्रले पर्यटनलाई पनि सकारात्मक प्रभाव पार्ने भन्दै यसले नेपालको विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे।

चलचित्र क्षेत्रले नेपालको आर्थिक अवस्थामा समेत परिवर्तन ल्याउन सक्ने बताउँदै गर्दा आयोजक निफका अध्यक्ष केपी पाठक केही हर्षित र केही दुखी देखिन्थे। हर्षित उनी आगन्तुकको उत्साह बढाउने उपस्थिति र आवाजले हुन्थे भने निराश भने अन्तिम समयमा आएर प्रधानमन्त्री तथा सञ्चार मन्त्रीले उपस्थिति नजनाएका कारणले बने। ‘संसारभरबाट विश्वास गरेर अतिथिहरू आएका छन्। सरकार प्रमुख आइदिएको भए चलचित्र क्षेत्र र सिङ्गो मुलुकको सान बढ्थ्यो,’ उनले भने, ‘विभिन्न कारणले अन्तिम समयमा उहाँहरू नआएकाले केही निराश बनाएको छ।’

सरकारले चासो नदिएको निराशाका माँझ उनले आशाका कुरा गर्न पनि छाडेनन्। ‘आफ्ना नआए पनि आफ्ना भएर आएकाले कार्यक्रमको गरिमा बढाए,’ उनले मुस्कुराउँदै भने, ‘यतिबेला चलचित्र महोत्सव काँडाबीच फुलेको फूल जस्तै बनको छ।’

पाठकको भनाइसँगै वरिष्ठ कलाकार नीर शाहको सोच पनि मिल्छ। उनले पहिल्यैदेखि नै यो उत्सवलाई नेपाली सिनेक्षेत्रको उल्लेख्य घटना भन्दै आएका छन्। ‘आदानप्रदानबाटै सिने क्षेत्रको विकास हुने हो,’ उनी भन्छन्, ‘यस्ता उत्सवले संसारलाई जोड्ने काम गर्छ।’

भारत, ब्राजिल र युरोपेली आयोगका कूटनीतिज्ञहरू पनि सहभागी बिहीबारको समारोह साच्चिकै फूलबारीजस्तो देखियो। फेस्टिभल अध्यक्ष केपी पाठकका अनुसार निफमा भाग लिन ५० भन्दा बढी अन्तर्राष्ट्रिय फिल्ममेकर काठमाडौंमा आइपुगेका छन्। कार्यक्रममा फिचर फिल्मतर्फका जुरी प्रमुख प्रेमेन्द्र मजुमदार तथा छोटो तथा डकुमेन्ट्री फिल्मतर्फकी जुरी प्रमुख ली रानले फेस्टिभलको महत्व र यसले पार्ने प्रभावबारे आफ्नो धारणा राखे।

भारतीय फिल्म निर्देशक प्रेमेन्द्र मजुमदारले ‘अन्तर्राष्ट्रिय उचाइसहितको घरेलु सिनेमा’ विषयमा र प्राध्यापक इटामी बोर्जनले ‘डकुमेन्ट्री फिल्ममा नयाँ प्रवृत्ति’ विषयमा मास्टर क्लास दिने छन्। त्यस्तै चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठुलो फिल्म बजार’ विषयमा मास्टरक्लास दिने छिन्।

भूराजनीतिमा सिनेमाको भूमिका, नेपाली दर्शकको विकासक्रम जस्ता विषयमा प्यानलमा छलफल चलाइने छ। त्यस्तै ‘चलचित्र नीति: नीति मात्रै कि व्यवहार पनि’ भन्ने प्रश्न उठाइने छ। ‘चलचित्र कास्टिङ: महत्व र अभ्यास’को विषयमा विचार आदानप्रदान हुने छ। हास्यव्यङ्ग्यले हौसिएको नेपाली सिनेमाको चर्चा हुने छ। ‘आमा नायिका: जिम्मेवारी र करिअर’जस्ता विषयमा प्यानल छलफल चलाइने कार्यक्रम छ।

‘संसारभरका सिनेमा हेर्ने हो, आफ्नो सिनेमा बनाउने हो, ‘अध्यक्ष पाठक भन्छन्, ‘यो उत्सव त्यो अवसर सिर्जन गर्न सक्षम हुने छ।’ ‘विश्वभरका कथाको उत्सव’ नारासहित सुरु भएको महोत्सवमा ३५ मुलुकका ९५ फिल्मले आफ्ना कथा भन्ने छन्। सिनेमा समाजको ऐना पनि हो। यसलै ६ गतेसम्म चल्ने यो उत्सवको सिसमहलमा ठुलो संसार देखिने छ।

क्युएफएक्सकै सिभिलसहित छाया, भक्तपुर र लबिम मलमा फेस्टिभल सञ्चालन हुने छ। दर्शकले तालिकाअनुसार ती हलमा पुगेर फिल्म हेर्न सक्ने छन्।

मास्टरक्लास, छलफल लगायतका कार्यक्रम भने पर्यटन बोर्डमा हुने छन्। यसपटक पनि ७ विधामा १४ पुरस्कार वितरण हुने जनाइएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा–छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरू प्रतिस्पर्धामा छन्।

अन्त्यमा, बाँसुरी र धिमको धुनमा ‘चरी’को प्रिमियरसँगै सुरु भएको चलचित्रको वसन्त उत्सवमा ‘जाँड’ सिनेमाको मुहुर्त समेत सम्पन्न भयो। लोकल ‘जाँड’ले कतिको नसा देला, त्यो हेर्न बाँकी नै छ। तर सिनेमाको यो भव्य उत्सवले पक्कै पनि नेपाली समाजमा नयाँ खाले लत बसाल्ने धेरैको बुझाइ छ।  

प्रकाशित: ४ चैत्र २०७९ ०२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App