२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

पहिलो महिला चलचित्र महोत्सव

किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको गर्ल्स गेट इक्वल अभियानसँग मिलेर शुक्रबार एकदिने महिलाकेन्द्रित फिल्म फेस्टिभल आयोजना गरेको छ। ‘वुमन मेक फिल्म फेस्ट’ शीर्षकमा अस्कर इन्टरनेसनल कलेजमा सम्पन्न फेस्टिभलमा महिला निर्देशकले निर्माण तथा निर्देशन गरेका फिल्म देखाइएको थियो।

बिहान ११ बजेदेखि २ बजेसम्म चलेको फेस्टिभलमा सर्ट तथा डकुमेन्ट्री विधामा निर्माण भएका १५ वटा फिल्म देखाइएको किपालय प्रडक्सनले जनाएको छ। किपालय प्रडक्सनले फिल्म निर्माण तथा निर्देशनमा महिला सहभागितालाई बढावा दिने उद्देश्यले प्लान इन्टरनेसनलसँग मिलेर दुई चरणमा फिल्म निर्माण कार्यशाला सम्पन्न गरिसकिएको छ।

फेस्टिभलमा यसरी निर्माण भएका फिल्मसँगै अन्य संस्थाको सहकार्यमा महिलाले बनाएका फिल्म प्रदर्शन गरिएका हुन्। किपालयले सन् २०२१ मा काठमाडौंमा र सन् २०२२ मा बाँके बर्दियामा कार्यशाला चलाएको थियो। यसैगरी फेस्टिभलमा किपालयले बाँकेमा दिएको मोबाइल फिल्म मेकिङको कार्यशालाबाट तयार भएका फिल्मलाई पनि प्रदर्शनमा समावेश गरेको थियो। डक स्कुलबाट बनेका डकुमेन्ट्री पनि फेस्टिभलमा सहभागी गराइएको फेस्टिभल आयोजनाकी सदस्य पुष्पा जोशीले बताइन्।

फेस्टिभलमा समावेश फिल्म तीन स्लटमा राखी प्रदर्शन गरिएको थियो। ११ बजेदेखि १२.१० सम्म चलेको पहिलो स्टलमा ५ फिल्म देखाइएको थियो; जसमा कल्पना बम र प्रतिभा पन्तनिर्देशित ‘दिजर्नी अफइनोसेन्स’, मिरा खड्का र अस्मिता लावतीनिर्देशित ‘वनरूपी’, श्रीषा कुवँर र एन्जिला चौधरीनिर्देशित ‘मेरा बुवा’, डिम्पल राजथला र भावना अधिकारीनिर्देशित ‘खुला आकाश’, पुष्पा जोशी र सपना बेलबासेनिर्देशित ‘भेइल्ड’ प्रदर्शन गरिएको थियो।

१२.१० देखि १.२० सम्म चलेको दोस्रो स्लटमा चार फिल्म देखाइएको थियो। यसमा पिंकीश्रीष राना र एलएसएमनिर्देशित ‘हजुर’, शुभांगी खड्कानिर्देशित ‘मदर्स स्कुल’, शर्मिला आलेनिर्देशित ‘साउन्ड अफ ब्यांगल’, मुना बिके र सरला सुनुवारनिर्देशित ‘आन्टीको गाउँ’ प्रदर्शन भएका थिए।

अनु रावत र सम्झना चौधरीको निर्देशन रहेको ‘ह्युमन ट्राफिकिङ’, हेमा सुनार, गोविन्द राना र टीकाराम विकको निर्देशन रहेको ‘मेन्टल हेल्थ’, न्यान्सी शाह र पूजा परियारको निर्देशन रहेको ‘चाइल्ड म्यारिज’, सुरज गुरुङ र चेतना केसीको निर्देशन रहेको ‘एम आइ गुड इनफ’, अञ्जली घर्ती मगरको ‘एउटा कथा’ र तृषा ढकालको ‘डियर डायरी’ अन्तिम स्लटमा देखाइएको थियो।

किपालयले महिलाले बनाएका फिल्म मात्र प्रदर्शन गरिनु आफैंमा पहिलो प्रयोग भएको र यसमा महिला निर्माता निर्देशकको उत्साहजनक सहभागिताले हौसला दिएको बताएका छन्। किपालय प्रमुख आश्मा पोखरेलले यो सालको फेस्टिभल सानो स्केलमा गरिए पनि आगामी वर्ष यसलाई बृहत् बनाउने योजना रहेको बताएका छन्।

‘यो वर्ष हामीले सानो स्केलमा ट्रायलका रूपमा नेपाली फिल्म मेकरका मात्र फिल्म देखाएर सुरुवात गरेका हौं। आउँदो वर्ष विदेशी फिल्म र फिल्म मेकरलाई पनि सहभागी गराएर दुई तीन दिनको भव्य फेस्टिभल गर्ने योजना छ’, आश्माले भनिन्। यसका लागि बेलायत र युरोपका महिला फिल्म फेस्टिभलसँग सहकार्य अगाडि बढिरहेको पनि उनले जानकारी गराएकी छन्।

फेस्टिभलमा फिल्म कलेजका विद्यार्थीसँगै दुई सयभन्दा बढी दर्शकको सहभागिता रहेको थियो। फेस्टिभल सम्पन्न गर्न चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल, चिल्ड्रेन फिल्म सोसाइटी, डक स्कुल, गौंथली इन्टरटेनमेन्ट र सिर्जना सूत्रको पनि सहयोग रहेको थियो।  

प्रकाशित: २९ फाल्गुन २०७९ ०१:४४ सोमबार

अक्षर