२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

मनमा हरि भएका हरिको ‘अन्तर्य’

पुस्तक

‘कस्तो मनमा हरि भएको वा नभएको मानिस’ भनेर कसैको गुण वा अवगुणको बखान तथा मूल्याङ्कन गर्ने लोकोक्ति छ। मानिसमा रहेको असल वा खराब तत्वको टीका टिप्पणी गर्न भनिने वाक्यांश विस्मृतिमा थियो। यस उक्तिको सम्झना वरिष्ठ अधिवक्ता तथा नेपालबार एसोसिएसनका पूर्व उपाध्यक्ष हरिप्रसाद उप्रेतीको कृति ‘अन्तर्य’ आद्योपान्त पढेपछि भयो अनि निष्कर्षमा पुगें, ‘कस्तो मनमा हरि भएका हरि !’

कृष्णले आफ्नो सखा तथा शिष्य अर्जुनलाई गीताको १६ औं अध्यायमा दैवी र आसुरी गुण भएको मानिसको चर्चा गरेका छन्। दैवी गुण सम्पदा भएको मानिसमा दान, क्षमा, करुणा, अहिंसा, सत्य, धैर्य, ईष्र्या नहुनु, लोभ नहुनु आदि २६ गुण हुन्छन् भनेका छन्। गीताको १६ औं अध्यायको पहिलो श्लोकमा भनिएको दैवी गुणयुक्त मानिसको अर्थमा मनमा हरि भएको मानिस भनिएको होला भन्ने लाग्छ।

सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकमा शिव गरी त्रिदेवका रूपमा हिन्दु धर्मले मान्छ। नास्तिक अजामिलले आफ्नो छोराको नाम नारायण राखेको थियो। छोरालाई बोलाउँदा भगवान्को नाम उच्चारण भएर नै उसको उद्दार भएको भन्ने कथा छ। त्यसैले हाम्रो समाजका धार्मिक परिवारमा आफ्ना सन्ततिको नाम पनि देवी देवताको नाममा जुराइराख्ने प्रचलन बढी थियो। त्यसैले उप्रेती परिवारमा जन्मेका उनको नाम पनि हरि रह्यो होला भन्ने लाग्छ।

उनको सिङ्गो ‘अन्तर्य’ कृति चार भागमा बाँडिएको छ। ‘जीवन र जरा’, ‘राजनीतिक परिवेश’, ‘वकालत र न्यायपालिका’, ‘नित्य र अनित्य’। यस कृतिको अध्ययनपछि मलाई भारतका प्रसिद्ध कवि हरिवंश राय बच्चनको आत्मकथाको स्मृति भयो। उनले ‘क्या भुलूँ क्या याद करूँ’, ‘निडका निर्माण फिर’, ‘बसेरे से दुर’, ‘दशद्वार से सोपान तक’ क्रमशः चार पुस्तकमा आफ्नो कथा लेखेका थिए। त्यसकै आभास मलाई उप्रेतीको कृतिले दियो। पढेका आत्मकथाहरूमा ‘दमनराज तुलाधर’ को दमनराज तुलाधर आफूले आफूलाई नढाटेको कृति लाग्छ। विजय चालिसको ‘जीवनको बक्ररेखा’मा पनि त्यस्तै पाएँ। मदनमणि दीक्षितको ‘जीवन महाअभियान’ त्यस्तै छ।

रसियन साहित्यकार मेक्सिम गोर्कीको ‘मान्छेहरूको माझ’ खुब मनपर्छ। जगदीश घिमिरेको ‘अन्तर्मनको कथा’, महापण्डित भनिने (भारतमा) राहुल सांस्कृत्यानको ‘मेरी जीवन काहानियाँ’ उत्तिकै मनपर्दा र प्रेरणादायी लाग्छन्। बिपीको ‘आफ्नो कथा र आत्मवृत्तान्त’ मनिषा कोइरालाको ‘जिजीविषा’ असहज अवस्थाका कृति हुन्। उल्लिखित सबै कृति पठनीय संग्रहणीय पनि छन्। सबैमा भिन्न भिन्न स्वाद छ। जीवन र भोगाइ छ। जसले जीवनलाई जसरी भोग्छ, त्यसै अर्थमा उसले जीवन र जगत्लाई बुझ्ने हो। यही सूत्रमा उप्रेतीको ‘अन्तर्य’लाई लिन सकिन्छ।

‘जीवन र जरा’ पहिलो भागमा थात थलो ताप्लेजुङ जन्म, पारिवारिक पृष्ठभूमि, बुबाआमा, बसाइँसराइँ, झापा सुरुङ्गाको बसोबास, प्रारम्भिक र उच्च शिक्षा, नेपाल ल क्याम्पसमा अध्ययन, काठमाडौंको डेरा र समस्या, वैवाहिक जीवनमा प्रवेश, बुबाको निधन, रमापद्य स्मृति छात्रवृत्ति (हजुरआमा र बुबाको नाममा) स्थापना, बुबाआमाको नाममा अक्षय कोषको स्थापना आदि विविध विषय १८ शीर्षकमा अटाएका छन्। उनको कृतिमा उल्लिखित भएका कुराहरूबाट उनको परिवारको विशेषता संगठित र संस्कारित छ, धार्मिक छ भन्ने तथ्य देखिन्छ। अहिले समाजमा पारिवारिक विघटनको समस्या बढ्दो क्रममा छ। संयुक्त परिवारबाट मानिस एकल परिवारतर्फ आकर्षित भइराखेको छ। यसले मानिसको जीवन एकाङ्की, एक्लो र निरास बन्दै गएको छ।

वृद्ध आमाबाबु सहाराविहीन हुँदै गएका छन्। पारिवारिक विचलनका कारण केटाकेटीमा परेको मनोसामाजिक समस्याप्रति त्यति चासो भएको पाइँदैन। अधिकारको मात्र कुरा हुने, कर्तव्य गौण बनेको छ। यस परिवेशमा उप्रेतीको पारिवारिक जीवन र परिवार लोभलाग्दो तथा भाग्यशाली छ। बुबाको मृत्यु–संस्कारको कुराले पाठक संवेदनशील हुन्छ। सान्त्वना दिने क्रममा विराटनगरका वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्तीले बाबुआमा भनेको ओढ्ने छाता र टेक्ने लट्ठीजस्तै हुन्। पानी नपरी छाता ओढिँदैन। शरीरको क्षमता कमजोर नभई लट्ठी पनि टेकिँदैन। यस्ता वाक्यांश घतलाग्दा छन्, मर्मस्पर्शी छन्।

यसै सन्दर्भमा भारतीय कवि हरिवंश राय वच्चनको कविताको सम्झना भयो। सधैं मनमा सम्झेको पंक्ति हो। आफ्ना बाबुआमालाई वृद्धाश्रम पुर्‍याउने नालायक छोराछोरीका लागि यी पंक्ति अर्थपूर्ण छन्- ‘मैने छतपर पहुचकर, सिंढीके उपेक्षा से देखा, उसने कहा अच्छा उतरना।’ तैतरीय उपनिषद्मा ‘मातृदेवो भव: पितृदेवो भव: आचार्यदेवो भव: अतिथि देवो भव:’ भनिएको पाइन्छ। यस्ता कुराले सामाजिक सम्बन्ध मजबुत बनाउन मद्दत पुगेको थियो।

कृतिको दोस्रो भागमा राजनीतिक परिवेशमा ११ वटा शीर्षक छन्। लेखकको राजनीतिमा प्रवेश, २०३६ को विद्यार्थी र कर्मचारी आन्दोलन, उनले बिताएको आठ वर्षको कानुन मन्त्रालय, कर्मचारी जीवन तथा कर्मचारी आन्दोलन, कर्मचारी आन्दोलनका माग, त्यसबाट उनको जागिरे जीवनमा परेको प्रभाव, नोकरीबाट विस्थापन, बलराम समाल, मनमोहन अधिकारी, मदन भण्डारी, झापा–काठमाडौं सम्पर्क मञ्चको नेतृत्वमा रहेका उप्रेती, मदन–आश्रित प्रतिष्ठानमा संलग्नता, पूर्व राष्ट्रपति रामवरण यादव र राष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित विषयवस्तु छन्।

‘वकालत र न्यायपालिका’ तेस्रो खण्डमा छ। यसमा उप्रेती कानुन व्यवसायमा प्रवेशलगायतका ३२ वटा विविध विषय छन्। कानुन व्यवसायको प्रारम्भिक अवस्था, सहकर्मी वकिलप्रतिको धारणा, सुधारका पक्ष, नेपाल बार एसोसिएनको उपाध्यक्ष हुँदा निर्वाह गरेको भूमिका, वरिष्ठ अधिवक्ताको उपाधि प्राप्ति, वरिष्ठ अधिवक्ता गणेशराज शर्मा, कृष्णप्रसाद पन्त, कुसुम श्रेष्ठ, नारायणवल्लभ पन्त आदिको स्मरण, व्यावसायिक जीवनमा पारेका प्रतिनिधिमूलक घटना, त्रिवि पुनरावेदन आयोगको अध्यक्ष हुँदाको अनुभव, कोभिड त्यसको प्रभाव र न्यायालय, नजिकबाट नियालेका प्रधानन्यायाधीश, न्यायाधीशहरूप्रतिको वैयक्तिक धारणा, जसमा इन्द्रराज पाण्डे, हरिप्रसाद शर्मा, मीनबहादुर रायमाझी, खिलराज रेग्मी, कृष्णजङ्ग रायमाझी, टोपबहादुर सिंह आदि छन्।

न्यायाधीश कृष्णजङ्ग रायमाझी र टोपबहादुर सिंहप्रति उनको सटिक टिप्पणी छ, सकारात्मक छ र पाठक पनि प्रभावित बन्छन्। कृष्णप्रसाद पन्तको स्वभाव उनीहरूसँगै मिल्दो ठान्छन्, अनुपराज शर्मालाई यथार्थवादी  मानेको पाइन्छ।

प्रधानन्यायाधीशहरूको विषयमा सिङ्गो आलेख नै छ ‘सबैले सधैं सम्झने गरेका हरिप्रसाद प्रधानप्रति श्रद्धा जनाउँदै न्यायालयमा रहेका उज्याला र अँध्यारा पक्ष केलाउने प्रयास गरेका छन्। प्रधानन्यायाधीशहरू खिलराज रेग्मी, केदारप्रसाद गिरी, दिलिपकुमार पौडेल, केदारनाथ उपाध्याय, दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद शाह, कल्याण श्रेष्ठ, सुशीला कार्की, सुरेन्द्रप्रसाद सिंहप्रतिको लेखकीय दृष्टिकोण छ।

न्याय–सम्बद्ध पक्षले मात्र नभएर न्याय, न्यायालय र न्यायाधीश बुझ्न यो आलेख निकै उपयोगी छ। यसै खण्डमा ‘नियुक्तिको दुश्चक्रमा न्यायाधीश’ त्यतिकै संवेदनशील छ। स्वतन्त्र, निष्पक्ष, सक्षम र निर्भीक न्यायालयका पक्षधरहरूका लागि कृति पठनीय छ।

उनी लेख्छन्, ‘अदालतभित्रको चरम गुटबन्दी बाहिरबाट हुने हस्तक्षेपभन्दा चर्को देखिएको छ। राजनीतिक दलहरूबीचको दलगत राजनीतिक खेलभन्दा कडा राजनीति अदालतभित्रको गुटगत खेलमा देखिँदै छ। हामी सबै मुकदर्शक भएर बसेका छौं। सत्य बोल्ने हिम्मत गरेका छैनौं। यो दुश्चक्र निरन्तर चलिरहेको छ।’ न्यायाधीशका असुहाउँदा कार्यको सन्दर्भले सम्बद्ध पक्षलाई आत्मसमीक्षा गर्न सघाउँछ कि भन्ने लाग्छ।

यस खण्डमा सबैभन्दा भावविह्वल बनाउने लेख छ ‘अलबिदा तोया’। उप्रेतीको फर्ममा रहेका तोयानाथ ढुङ्गाना कसरी आए? आफ्नो व्यावसायिक कला तथा दक्षता विकास गरिरहेको, व्यावसायिक निष्ठा र अन्तर्मुखी स्वभाव थियो। उनले २०७५ साल फागुन ८ गते झापाको गौरादहस्थित आफ्नै घरमा गरेको आत्महत्याले लेखक मात्र होइन, यो शीर्षक पढ्ने पाठक पनि विह्वल हुन्छन्। उप्रेतीले गरेको कारुणिक स्मरणले कसको मन पग्लिँदैन? मानिसले आत्महत्या किन गर्छ भन्ने सम्बन्धमा फ्रेन्च दार्शनिक तथा समाजशास्त्री इमाइल दुर्खिम (सन् १८५८–१९१७) ले लामो अध्ययन अनुसन्धानपछि ‘दि सुसाइड’ नामक पुस्तक प्रकाशित गरेका थिए।

आत्महत्या सम्बन्धमा यो विश्व प्रसिद्ध पुस्तकमा दुर्खिम भन्छन्, ‘मानसिक कारण, वंशाणुसंक्रमण, आर्थिक अभाव, निराश, प्रेममा असफलता आदिका आधारमा वास्तविक कारण सम्भव छैन, किनकि सबै कारण वैयक्तिक हुन्। जब कि आत्महत्या मूल रूपमा एक सामाजिक घटना हो। समाज या समूह नै आत्महत्याका कारण हुन्। दुर्खिमलाई सम्झनुबाहेक अरू शब्द के लेख्नु र? पाठकको जीवनमा के भयो? पुस्तक पढ्नेको मनमा प्रश्न उठ्छ। दोस्रो संस्करणमा पुस्तक आएमा त्यो खुलाए पुस्तक पढ्ने स्पष्ट हुने थिए।

चौथो खण्डमा ‘नित्य र अनित्य’ मा २८ वटा आलेख छन् : वैयक्तिक मात्र नभएर यसमा दार्शनिक चेतका आलेख छन्, भावनाको प्रधानता, आफ्ना गुरु र सहपाठीका नामको सूची छ, कोरोना कहर, २०७२ साल वैशाख १२ को भूकम्प र अनुभूति छ, जन्मोत्सव मनाउने उनको शैली समावेशी छ। यो खण्ड पढ्दा लाग्छ–उप्रेतीमा विवेकको प्रधानता छ। धनका तीन गति हुन्छन् भनिन्छ–दान, भोग वा नाश। उनले धनको उपयोगिता आफ्ना लागि मात्र नभएर अरूका लागि पनि गरेका छन्। सहयोगी भाव छ उनमा।

समग्रमा कृति पढ्नै पर्ने खालको छ, रसपूर्ण छ, रुचिकर छ। म तत्व हाबी हुन्छ, त्यो स्वाभाविक पनि हो। त्यसको मात्रा कति छ भन्ने पाठकले छुट्याउने हो। यसबाट कुनै आत्मवृत्तान्त लेख्ने लेखक मुक्त हुन सक्दैन। यसलाई पुस्तक पढ्ने पाठकले आत्मसात गर्नुपर्छ। अन्त्यमा मनमा ‘हरि भएका हरिको अन्र्तय’ पढेपछि चाणक्य नीतिको यो श्लोक उल्लेख गर्न मन लाग्यो:

सत्यं माता पिता ज्ञानं धर्मो भ्राता दया स्वसा

शान्तिः पत्नी क्षमा पुत्रः षडेते मम बान्धवाः

प्रकाशित: २७ फाल्गुन २०७९ ०३:०४ शनिबार

अक्षर