काठमाडौं- गन्धर्व बाजाका नामले चिनिने सारंगी बजाउँछन् गोकुल गन्धर्व। पहिले पहिले यो बाजा उनका लागि गाउँघरमा कमाइखाने जोहो हुन्थ्यो। तर आधुनिक बाजाको तामझामले उनको सारंगीको धुन सुन्न रुचाउने घट्दै गए। गाउँघरमा जातकै कारण उनलाई हेयको दृष्टिले हेर्नेहरु बढी थिए। तर बुधबार जमलस्थित राष्ट्रिय नाचघरको मञ्चमा जब उनले त्यही सारंगी बजाए, गडगडाहट तालीको हौसला पाए।
पापीनीले छाडेर गैगयो
मैले मात्र सम्झेर के भयो
बल्ल पर्यो निरमाया माकुरी जालैमा।
यो भाकासँगै उनले सारंगीका संवादजनक गीत धुनसँगै बजाए। सघाउने अरु तीन सहकर्मीले मादल, हार्मोनियम र सहयोगी सारंगीले साथ दिए।
रामेछापका धनबहादुर नेपालीको टोलीले परम्परागत पञ्चेबाजाको ताल मञ्चमा सुनाउँदा गाउँघरकै कुनै बिहेमा पुगेको भान हेर्ने सुन्नेलाई पर्यो। रुपन्देहीको नौमती बाजा समूहले लोक ‰याउरे भाकामा सुर थपे। सनही, ढोलकी, भुर्मा, दमाहा, ट्याम्के, ‰याली र नरसिंह सहितको नौमती बाजासँथै थालनृत्यको तालले उपस्थित सबैलाई नाँचौंनाँचौंको माहोलमा पुर्यायो।
बाजाको ताल हेर्न र सुन्न आएका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले पञ्चेबाजाको तालको मज्जामात्र लिएनन्। कार्यक्रम सुरु गर्दै परम्परागत तालमा नगरा आफैं बजाए।
पुनले बुधबार सुरु भएको दोस्रो राष्ट्रिय नौमती तथा पञ्चेबाजा सांस्कृतिक महोत्सवमा यसरी गाउँले पारामा नगरा बजाएका हुन्। उनले मात्र हैन देशका विभिन्न जिल्लाबाट आएका मौलिक नेपाली बाजा बजाउने कलाकारहरुले आफ्ना मौलिक कला पोखे। पहिले पहिले निश्चित समुदायले बजाउने बाजा अचेल अरु समुदायकाले पनि संरक्षण गर्न थालेका छन्।
दमाइ समुदायले बजाउने बाजामा ठूला बडा रमाउनेमात्र हैन। बाजाको मौलिक तालले नेपाली चाडपर्वमा रौनकता थप्थ्यो। उपस्थित पाहुनाहरु बाजाको तालमा नाँच्दा दलितले बजाएको भनेर बिर्सन्थे। तर त्यही समुदायलाई अरुबेला छुवाछुत हेला गर्थे। जसका कारण पनि मौलिक बाजा बजाउने नयाँ पुस्ताको कमी आएको महोत्सवका संयोजक विनोद पहाडीले बताए। ‘नौमती बाजा एउटा समुदायको मात्र हैन राष्ट्रिय बाजा हो,' पहाडीले भने, ‘दमाई समूहले बजाउने भनेर हेला गर्ने कुराको अब अन्त्य हुनुपर्छ। '
नौमती बाजा लगायत मौलिक नेपाली बाजाको संरक्षण गरेर कलकत्ताबाट ल्याइने ब्यान्ड बाजालाई नेपाली समाज र संस्कृतिले निरुत्साहित गर्नुपर्नेमा उनी जोड दिन्छन्।
पहाडमा हुर्केर आफू यस्ता मौलिक बाजाहरुको संरक्षणमा तल्लीन रहेको उपराष्ट्रपति नन्दबहादुर पुनले सुनाए। पहाडघरमा यस्ता बाजाहरु संरक्षण गरेर राखिएको पुनले बताए।
भूगोलमा नेपाल सानो भए पनि प्राकृतिक सुन्दरता, जातजाति, भाषाभाषी र संस्कृतिका सन्दर्भमा विशाल रहेको उनले उल्लेख गरे। ‘पञ्चेबाजा नेपाली लोकबाजाको ढुकढुकीको बाजा हो,' पुनले भने, ‘मंगल शुभको प्रतीक हो। जुन हरेक नेपाली उत्सवमा घन्किदा आनन्दित हुने गर्छौ।'
पञ्चधातुबाट बनेको पञ्चेबाजा र नौग्रहको प्रतीकका रुपमा रहेको नौमती बाजाले नेपालको मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने प्रतिष्ठानका उपाध्यक्ष गोविन्द नेपालीले बताए। नेपाली संस्कृति र संस्कारमा मंगल कार्यका लागि उपयोग हुने नौमती बाजाको संरक्षणकै लागि सांस्कृतिक संस्थान अरु संस्थासँग हातेमालो गरेर अगाडि बढेको संस्थानका महाप्रबन्धक राजेश थापाले उल्लेख गरे।
लामो समयदेखि गीतसंगीतको क्षेत्रमा योगदान दिइरहेका शुभबहादुर सुनाम, खड्गबहादुर नेपाली, गणेशबहादुर परियार, अमृत परियार, बमबहादुर परियार र सानुशिला पहाडीलाई महोत्सव उद्घाटन समारोहमा सम्मान गरिएको थियो।
संस्थानले पश्चिमेली हुड्केली नृत्य र मयुर नाच प्रस्तुत गरेको थियो। कलाकारहरु राजु परियार, एस कुमार, कुलेन्द्र बिक, कृष्ण परियार लगायले गीतसंगीत प्रस्तुत गरेका थिए। महोत्सव बिहीबारसम्म चल्नेछ।
प्रकाशित: २ मंसिर २०७३ ०२:५९ बिहीबार