१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

बदलिएको विद्यालय चिन्तन

बुद्ध माध्यमिक विद्यालय पहिले र अहिले। तस्बिर : नागरिक

एसएलसी दिएको ९ वर्षपछि आफू पढेको विद्यालयको कक्षा कोठा देख्दा यो मन फुरुङ्ग भयो। रमाइला ती अविस्मरणीय दिन झल्झली आँखामा आइरहे। मैले आफू पढेको विद्यालयलाई एकोहोरो नियालिरहेकी थिएँ। हेर्दा हेर्दै पुराना दिनहरूको याद आयो। गोदावरी नगरपालिका– ६ र ९ को सिमानास्थित टीकाभैरव मन्दिर अगाडि खोलाको छेउमै रहेको श्री बुद्ध माविमा मेरा पाइला परेसँगै आरम्भ भएको थियो मेरो अक्षर यात्रा।  

दु:ख जिलो गर्दा हातमुख जोर्न पुगे पनि पैसाको खाँचोले सधैं पिरोलिरहन्थ्यो। विद्यार्थी जीवनको प्रारम्भमा बुबाले दुई चुल्ठा कपाल बाटिदिएर, ड्रेस लगाइदिएर, बाटोमा लड्दै हिलाम्मे भएर स्कुल आएका ती दिनको सम्झना ताजै छन्।  

म दश कक्षा पास हुँदासम्म पनि नाजुक अवस्थामा रहेको उक्त विद्यालय अहिले त टीकाभैरव क्षेत्रकै नमुना विद्यालय भएको छ। विगतमा अहिलेका जस्तो पक्की व्यवस्थित भवन थिएन। पहिले छाना चुहिएर पानीले पारेका डोब भुइँभरि देखिन्थे। भार थेग्न नसकेर लच्केका दलिन, माटो उप्किएका भित्ता, लेउ लागेको चिसो भुइँ, भित्तामा झुन्ड्याइएको थोत्रो कालोपाटी। दुई चार काठका फल्याक। बस ! तिनै थिए स्कुलका सम्पत्ति। बेन्चमा बस्न बिहान छिटो कक्षाकोठा पुग्नुपथ्र्यो। अन्यथा घरबाट बोकेर लगेका पराले चकटी वा ढुंगामा बस्नुपथ्र्यो। विद्यालयको आँगनबाट बग्दै गरेको खोला आज कुलोसरी भएको छ। निस्सासिँदो सानो कक्षाकोठामा ४०/५० जना विद्यार्थी। कति कहालीलाग्दो थियो विद्यार्थी जीवन। कक्षाकोठाको आकार सधैं एउटै हुन्थ्यो तर हरेक साल विद्यार्थीको संख्या बढ्ने गथ्र्यो। अहिले भने भवन र कक्षाकोठाको आकार बढेको छ, विद्यार्थी संख्या घटेको छ।  

हरिया स्याउलाले कोठा बढार्दा धुलोको बादलभित्र हामी सबै लपक्कै छोपिन्थ्याैं। बिहानै घाँसदाउरा गरेर एक गास खाना खाएर धुलो उडाउँदै टीकाभैरवको बुद्ध स्कुल पुग्थ्यौं। स्कुल पुग्दा पेट आधा भइसकेको हुन्थ्यो। दिउँसोको छुट्टी हुनुअगावै नजिकै रहेका पसलबाट दुनोट, आलुचप, माल्पुवा र पकौडाको मिठो बास्ना नाकैमा ठोक्किने गरी कक्षा कोठासम्मै आइपुग्थ्यो। गोजीमा कहिल्यै एक पैसा हुँदैनथ्यो।  

कक्षामा पढ्दै गर्दा देखिने दृश्य नजिकै रहेको मसानघाटमा पोलिँदै गरेको मान्छे उठ्छ कि, सँगै छत्ल्याङछुत्लुङ गर्दै आएको खोलाको भेलबाढीले विद्यालय नै बगाउने हो कि भन्ने डरमा दश कक्षा पार भएको पत्तै भएन। विद्यालयमाथि गाडी गुड्ने बाटो थियो। मेरै टाउको माथिबाट गाडी गुडिरहेको छ जस्तै लाग्थ्यो। हिउँदमा धुलो र वर्षामा हिलोले पूरै कक्षाकोठा भरिएर पढ्ने अवस्था नहुँदा नजिकै रहेको चौरमा शिक्षकशिक्षिकाले पढाएको हिजोझैं लाग्छ। त्यति मात्र कहाँ हो र, चौरमा पढ्न जाने क्रममा भुइँमा ढुंगा ओछ्याएर बस्नलाई नजिकै खोलामा रहेका पातला ढुंगा खोज्दा साथीहरूसँग लुछापिट हुन्थ्यो। कहिले तानातान गरेपछि पातलो ढुंगा पाइन्थ्यो भने कहिले त चिसो भुइँमा नै बस्नु पर्दाको फेरि अर्को मजा त छँदै थियो। न चिसो नै लाग्ने न त लुगा फोहोर हुन्छ भन्ने डर नै थियो। गर्मी याममा तिर्खाले प्याकप्याक हुँदा पानी खान टीकाभैरव मन्दिर धाउनुपथ्र्यो। अहिले विद्यार्थीलाई स्वच्छ पिउने पानीको व्यवस्था हरेक भवनमा हुँदाहँुदै पनि बोतलको पानी किनेर खाएको देख्दा म दंग पर्छु। विद्यार्थी जीवनमा जुनसुकै चिजको आवश्यकता परे पनि बुबाआमासँग पैसा छैन भन्ने सोचले ३/४ वटा किताबको नोट पनि एउटै कापीमा गरेको सम्झँदा अनौठो लाग्छ। दु:ख के हो ? चिन्ता के हो ? अभाव के हो ? यस्ता कुराबारे केही ज्ञान भने थियो। मैले बयान गरी नसक्ने अनगिन्ती पल विद्यार्थी जीवनमा पाएको छु। विद्यार्थी जीवनका ती मिठा पलबाट अहिले टाढा भए पनि मेरो मनमा ती पल अविस्मरणीय हुने छन्।  

त्यति बेला व्यवस्थित शौचालय पनि नहँुदा महिलाहरूलाई जहाँ पायो त्यहीं शौचालय गर्न पनि मुस्किल थियो। वरिपरि बस्ती हुँदा कहिलेकाहीं त अरूको शौचालय प्रयोग गर्दा गाली खाएको झलझली याद आउँछ। ब्याग नभएर किताब हातमा बोक्दै स्कुल गएको, साथीहरूसँग भुटेका मकै, भटमास र दालमोट–चिउरा बाँडेर खाएको, मजाक गर्ने क्रममा साथीहरूले मसी ढाडभरि छ्यापिदिएको, स्कुल जाँदा लगाइएको चप्पल खोलाले बगाएर रुँदै घर गएको म कहिल्यै बिर्सन सक्दिनँ।

यस्ता अविस्मरणीय क्षणमा दु:ख पाए पनि आनन्दमय लाग्ने रहेछ। अहिले लाग्छ, विद्यार्थी जीवन त ठुलो अवसर रहेछ। उज्ज्वल भविष्य निर्माण गर्न आफ्नो प्रतिभालाई बुझेर प्रस्फुटनका निम्ति मार्गनिर्देश गर्ने महत्वपूर्ण पथ रहेछ।  

पहिला केटाकेटीले एकअर्कालाई छुन हुन्न भन्ने मानसिकता थियो तर अहिले सँगै बस्न नपाउँदा झगडा हुन्छ। हरेक विद्यार्थी शिक्षकसँग डराउँथे तर अहिले शिक्षकसँग नै तँछाडमछाड गर्छन्। मोबाइल भनेको के हो थाहा थिएन तर अहिले मोबाइलबिना बाँच्न नसक्ने विद्यार्थी छन्। पहिले हामीले नजानेका कुरा शिक्षकसँग सोधेर जान्ने कोसिस गथ्र्यौं, अहिलेका विद्यार्थीले ‘गुगल र युट्युबमा’ खोजी गर्छन्।  

समयको परिवर्तनसँगै उमेरमा पनि केही परिवर्तन र माथिल्लो कक्षा प्रवेशसँगै मानसिकतामा पनि केही परिवर्तन हुँदै आउँदा सोच्न सक्ने क्षमता र जिज्ञासु स्वभाव बिस्तारै विकास हुँदै थियो। अरूलाई दु:ख कष्ट पर्दा सहानुभूतिका भावना जाग्थे। घर र परिवारको अवस्था बुझ्ने, घरपरिवारमा भएका समस्या औंल्याउने शक्तिको बिस्तारै विकास हुँदै थियो। आत्मजागरण बढ्दै थियो भने घरका काममा सहयोग गर्न सकिन्थ्यो। उमेरको उतारचढावले गर्दा होला, थोरै जिम्मेवारी पनि बढ्दै थियो।  

म पढेको विद्यालयको कक्षाकोठा घुम्दै गर्दा पूर्व प्रध्यानाध्यापक रघुनाथ बानियाँलाई भेट्दा सारै खुसी लाग्यो। म सानो छँदा जस्तो देखेको थिएँउहाँलाई, त्यस्तै नै अहिले पनि देख्न पाउँदा अचम्मित भएँ। उहाँले हामीलाई रट्न लगाउनुभएको व्याकरण अझै कण्ठ छ। उहाँ सारै सिधा र सरल हुनुहुन्थ्यो। उहाँले मलाई विद्यालय अहिले उत्कृष्ट भएको छ भन्दै विज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष, पुस्तकालय, सभा हल र खाजा घर सबै देखाउनुभयो। मेरो उच्च सम्मान छ रघुनाथ बानियाँ गुरुलाई। जीवनमा लामो समय शिक्षण पेसामा आबद्ध भएर संघर्ष गर्दै टीकाभैरवकै उदाहरणीय विद्यालय बनाउन सफल हुनुभयो।  

२०७२ साल साउनदेखि दीपक बानियाँ प्रध्यानाध्यापकका रूपमा बुद्ध माविका विद्यार्थीलाई अझै उत्कृष्ट बनाउने हेतुले संघर्ष गर्दै गरेको पाएँ। २०७८ सालबाट कक्षा ११ र १२ पनि सञ्चालनमा आएको रहेछ। अहिले बुद्ध माविमा ३ सय ८७ जना विद्यार्थी रहेछन्। त्यस्तै शिक्षक संख्या २०, कर्मचारी १, लेखापाल १ र बालकक्षाशिक्षक २ जना रहेको जानकारी प्रअ बानियाँले दिए।  

विद्यार्थी जीवनका ती पुराना दिन अहिले प्रिय लाग्छन्। फेरि अब कहाँ पाउनु ती रमाइला दिन। अब ती दिन केवल सम्झनामा मात्र बाँकी छन्। सपना धेरै थिए। कति पूरा भए कति अधुरै छन्। कर्मथलोका लागि धेरै गरियो। आफू जन्मे हुर्केको गाउँठाउँ, पढेको स्कुलका लागि चाहेर पनि केही गर्न नसकेकोमा खिन्न लागिरहेको छ।

प्रकाशित: १३ फाल्गुन २०७९ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App