काठमाडौं–अभिनेता दयाहाङ राईकै जन्मदिन पारेर फिल्म ‘घामपानी’ रिलिज हुने भएको छ । दयाहाङको जन्मदिन वैशाख १ हो। फिल्म निर्माण समूहले २०७४ साल वैशाख १ मा ‘घामपानी’ रिलिज गर्ने निर्णय गरेको छ। फिल्मका निर्माताले वितरकसँग छलफल गरी बुधबार रिलिज डेटको टुंगो लगाएका हुन्। दर्शक र फिल्म दुवैका लागि राम्रो अवसर भएकाले नयाँ वर्ष छानिएको निर्देशक दीपेन्द्र लामाले बताए।
जन्मदिनमै पारेर ‘घामपानी’ रिलिज गरिँदा दयाहाङप्रति शुभकामना र सम्मान दुवै हुने भएकाले पनि निर्माताहरुले वैशाख १ लाई रोजेका हुन्। फिल्ममा दयाहाङले फुर्वा तामाङ नामक पात्रको भूमिका निर्वाह गरेका छन्। फुर्वाको तारा शर्मा नामक युवतीसँग प्रेमसम्बन्ध हुने कथा फिल्ममा छ। ताराको भूमिकामा केकी अधिकारीलाई देख्न पाइनेछ।
फिल्म समिक्षक दीपेन्द्र लामाले ‘घामपानी’मार्फत् पहिलोपटक निर्देशनमा हात हालेका छन्। लामाले यसअघि ‘नागबेली’ फिल्मको पटकथा लेखेका थिए। ‘घामपानी’ पनि उनी आफैंले लेखेका हुन्।सिन्धुलीका निबुवाटार र सातपत्रे गाउँमा फिल्मको सुटिङ भइरहेको छ। बुधबारसम्म ५० प्रतिशत सुटिङ सकिएको कार्यकारी निर्माता मणिराम पोखेरलले जनाए। उनका अनुसार तिहारअघि फिल्मको सुटिङ सकिनेछ।
यसअघि ‘कबड्डी कबड्डी’ र ‘पुरानो डुंगा’जस्ता फिल्म बनाएको कम्पनी सिनेमा आर्टले नै ‘घामपानी’को निर्माण गरिरहेको छ। सिनेमा आर्टलाई निर्माण कार्यमा हाइलाइट नेपाल, टर्चलाइट प्रोडक्सन र अश्लेसा इन्टरटेनमेन्टले सघाइरहेका छन्।
‘घामपानी’ अन्तरजातीय प्रेमकथा हो। तर, लेखक तथा निर्देशक लामा अघिपछिका अन्तरजातीय प्रेमकथाभन्दा फरक कथालाई पस्किन आपूmहरु लगिपरेको बताउँछन्। ‘नेपाली फिल्ममा अन्तरजातीय पे्रमकथा भन्नासाथ ब्राह्मण र दलितबीचको कथा सम्झिनेगर्छौं। तर, हामीले चाहिँ तामाङ र बाउनको सम्बन्धलाई पस्किने प्रयास गरेका छौं,’ निर्देशक लामाले भने, ‘फिल्म हेरिसकेपछि पक्कै पनि दर्शकले उपलब्धिमूलक र फरक अनुभव बटुल्नेछन् ।’
दयाहाङ र केकीका अलावा यस फिल्ममा अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, बुद्धि तामाङ, अरुणा कार्की, कविता आले, मणिराम पोखेरल, अमोघ पोखरेल, लक्ष्मी बर्देवा, केशव राई प्रेमवर्षा खड्कालगायतले अभिनय गर्नेछन्।
शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङको संगीत, शंकर थापाको शृंगार रहने फिल्मलाई गोविन्द शाही र मनोज राठीले वितरण गर्नेछन् ।
प्रकाशित: २० आश्विन २०७३ ०५:०३ बिहीबार