शुक्रबार स्याङ्जाको पञ्चमूल सिरुबारीमा फरक उमङ्ग देखिन्थ्यो। देशकै पहिलो ग्रामीण पर्यटनस्थल सिरुबारीमा होमस्टे स्थापनाको रजत महोत्सव चलिरहेको थियो। अग्लो डाँडाको फेदीमा रहेको गुचुमुच्च सुन्दर उक्त गाउँ बेहुलीझैं सजिएको थियो भने दिनभर विवाहको रौनक सम्झाउने शैलीमा बाजागाजा घन्किराखेका थिए।
शिशिर ऋतुको चिसो मौसममा समेत गाउँका घरआँगनभरि बहुरङ्गी फूलहरू ढकमक्क फुलेका देखिन्थे। फूलमाला लिएर बसेका आमा दिदीबहिनीहरू प्रफुल्ल मुद्रामा पाहुनालाई न्यानो स्वागत गरिराखेका थिए। यसरी आउने पाहुना मध्येका एक थिए पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती। माहोललाई साङ्गीतिक रौनक प्रदान गर्न कृष्ण कँडेल एवम् इन्द्रेणीका लोककलाकारहरू, वसन्त थापा, राजु गुरुङ, राजन गुरुङ, प्रह्लाद सुवेदी, कृष्ण गुरुङलगायतका गायकगायिका उपस्थित भइसकेका थिए। कार्यक्रमका लागि मन्त्री किराँती तथा धेरै कलाकार फागुन ४ गते साँझ नै सिरुबारी पुगेका थिए।
होमस्टेका लागि आउने अन्य पाहुनाहरूजस्तै उनीहरू पनि फूलमाला, बाजागाजा अनि न्यानो स्वागत ग्रहण ग्रहण गर्दै गाउँ भित्रिए। साँझ खानपानपश्चात् गाउँको बीचमा रहेको गुम्बामा आयोजित रात्रिकालीन सांस्कृतिक कार्यक्रममा उनीहरू सहभागी भए। गाउँले सांस्कृतिक कार्यक्रम अर्थात् पञ्चेबाचा, रोधी, सोरठी, घाटुलगायतका परम्परागत गीतसङ्गीत त्यहाँका मनोरञ्जनमा माध्यम थिए।
शुक्रबार होमस्टे रजत महोत्सवको उद्घाटनपूर्व बिहानीपख मन्त्री किराँतीलगायत सम्पूर्ण कलाकार तथा गाउँलेहरू प्रभातफेरि कार्यक्रममा सहभागी भए। होमस्टे रजत महोत्सवको उद्घाटन गर्दै मन्त्री किराँतीले लाहुरेहरूको सुन्दर गाउँ सिरुबारीमा आफू पनि लाहुरेको छोरा भएकाले भावना मिलेको बताए। मन्त्री किराँतीका साथै संघीय सांसद राजु थापा, प्रदेश सांसद सरस्वती गुरुङ, पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मी, स्याङ्जाका प्रजिअलगायतका पदाधिकारीलाई साक्षी राखेर दिनभर सांस्कृतिक कार्यक्रम भए। इन्द्रेणी टिम, वसन्त थापा, राजु गुरुङलगायतका स्थापित कलाकारहरू अनि गाउँका स्थानीय कलाकारहरूले दिनभर माहोललाई साङ्गीतिक बनाए। सेतो सर्ट र कालो कोटपाइन्टमा सजिएका गाउँकै पञ्चे वादकहरूले दिनभर बाजा बजाए। बाहिरबाट हेर्दा औपचारिक कार्यक्रमरूपी माहोलको आयोजना भए पनि स्थानीयको परम्परागत शैली, गाउँले बोलीचाली, गुरुङ लवज र भेषभूषा, स्थानीय खानपान, ठाउँठाउँका नाँचगानजस्ता प्रस्तुतिले वातावरणलाई अनौपचारिक बनाइरहे। त्यही अनौपचारिकता नै ग्रामीण पर्यटनको विशेषता हो। औपचारिकताभित्र अनौपचारिकता मौलाएको देखियो। आवरण पनि अनौपचारिक नै भइदिएको भए अझै होमस्टेको वास्तविक स्वाद प्राप्त हुन्थ्योजस्तो पनि धेरैलाई लागेको बुझिन्थ्यो।
कार्यक्रममा बोल्ने क्रममा मन्त्री किराँतीले समेत परम्परालाई जोगाएर पर्यटन व्यवसायलाई दिगो बनाउनु हरेक होमस्टेको चुनौती रहेको बताए। मन्त्री किराँतीले भनेजस्तै देशका अधिकांश होमस्टे लाहुरे समुदायमा सञ्चालित छन्। होमस्टे सञ्चालकहरू पोखरा, काठमाडौं, बेलायत, हङकङजस्ता ठाउँमा बसाइँ सर्ने क्रमसँगै होमस्टेको गुणस्तर र गतिविधिमा कमी आउने हो कि भन्ने चिन्ता पनि कार्यक्रममा सबै वक्ताले प्रकट गरे। गाउँ रित्तिँदै नजाओस्, पर्यटकलाई खुसी बनाउने नाममा परम्परागत खानपान, भेषभूषा र संस्कृतिलाई आघात पुग्ने गतिविधि नहून्, देशविदेशले चिनेको गाउँको पहिचान सधैं कायम रहोस् भन्नेतर्फ सिरुबारीलगायत सबै होमस्टे सचेत हुन जरुरी छ।
सोही अवसरमा ‘रुद्रमान गुरुङ स्मृति ग्रामीण पत्रकारिता पुरस्कार’ अमृत भादगाउँलेलाई प्रदान गरियो भने ‘रुद्रमान गुरुङ उत्कृष्ट सामुदायिक होमस्टे पुरस्कार’ अमलटारीको मध्यवर्ती सामुदायिक होमस्टेलाई प्रदान गरियो। दुवै पुरस्कारको राशी २५–२५ हजार रूपैयाँ रहेको छ। यी दुवै पुरस्कार ग्रामीण पर्यटनका संस्थापक स्व. क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा उहाँकै परिवारबाट स्थापना गरिएको हो।
बेलायतबाट यही महोत्सवका लागि भनेर गाउँ आएका विजय गुरुङ आफ्नो गाउँ ग्रामीण पर्यटनमा विश्वभरि चर्चित भएकोमा हर्षित देखिन्थे। ‘नेपाल आउने कार्यक्रम अलि पछि थियो। अहिले सिरुबारी रजत महोत्सव रहेकाले यतिबेलै आइपुगें,’ सिरुबारीमा जन्मेहुर्केर बेलायती सेनालाई कर्मथलो बनाएका गुरुङले भने, ‘विश्वका धेरै विकसित मुलुक घुमें तर आफ्नो जन्मथलो भएर हो कि वा सुन्दर नै भएर हो, सिरुबारीजस्तो आनन्दको ठाउँ कहीं छैन कि जस्तो लाग्छ।’ सिरुबारी सामुदायिक होमस्टेका अध्यक्ष मोहनबहादुर गुरुङ (जितेन्द्र)ले दुःखसुखको वास्ता नगरीकन निरन्तर होमस्टे सञ्चालन गरेकाले अहिले रजत महोत्सव मनाउन पाएको बताए। ‘यो सिरुबारी होमस्टेको मात्रै रजत महोत्सव होइन, समग्र देशकै होमस्टे यात्राको रजत महोत्सव हो। अझै भनौं समग्र दक्षिण एसियाकै ग्रामीण पर्यटनको रजत महोत्सव हो। यस महोत्सवलाई हामीले गौरवका साथ लिएका छौं,’ अध्यक्ष गुरुङले बताए। सिरुबारी रजत महोत्सव मूल आयोजक समितिका संयोजक तथा सिरुबारी सामुदायिक होमस्टेकी सचिव उर्मिला गुरुङको सक्रियता गजबको देखिन्थ्यो। होमस्टेका संस्थापक क्याप्टेन रुद्रमान गुरुङकी बुहारी तथा महोत्सव संयोजक गुरुङले परम्परागत खानपान, भेषभूषा तथा संस्कृतिको संवर्धनका लागि आफूहरू सचेत रहेको बताइन्। यही सचेतनाकै कारण सिरुबारीको होमस्टे यात्रा गौरवपूर्ण रहेको उनको भनाइ थियो।
पहिलो ग्रामीण पर्यटन क्षेत्र ‘सिरुबारी’
अग्लो पहाडको फेदीमा मिलेर बसेका गुचुमुच्च घरहरू, कलात्मक ढुङ्गाले बनेका सुग्घर घरआँगन, बाटो अनि छाना, जुनसुकै मौसममा पनि घरआँगनभरि फुलिरहने फूलको सुवास, गुरुङ जीवनशैली, संस्कृति र आत्मीयता सिरुबारीका पहिचायक हुन्। सिरुबारी दक्षिण एसियाकै पहिलो नमुना पर्यटकीय गाउँ हो। होमस्टेको सुरुवात यहीबाट भएकाले सिरुबारीलाई होमस्टे पर्यटनको पाठशाला मानिन्छ। गुरुङ समुदायको बाहुल्य, प्राकृतिक र सांस्कृतिक सौन्दर्यले भरिपूर्ण एवम् मानवीय आत्मीयताका कारण सिरुबारी ग्रामीण पर्यटनको रमणीय थलो बनेको छ।
नेपाल ग्रामीण सौन्दर्यले भरिपूर्ण देश हो। प्रकृतिले यो भूमिलाई धेरै माया गरेको पाइन्छ। यहाँ असङ्ख्य नदीनाला, वनजंगल, तालतलैया, हिमाल तथा वन्यजन्तु आरक्षण छन्। जैविक विविधताका दृष्टिकोणले सम्पन्न छ नेपाल। यहाँको सबैभन्दा सुन्दर पक्ष नै सन्तुलित हावापानी हो। यस्तो सौन्दर्यको सदुपयोग ग्रामीणस्तरमै कसरी गर्ने भन्ने सोचको परिणति हो– ग्रामीण पर्यटन। होमस्टे ग्रामीण पर्यटनको प्रमुख संयन्त्र हो। यही सोचका साथ समाजसेवी रुद्रमान गुरुङले आफ्नो गाउँ सिरुबारीमा २०५४ सालदेखि नै औपचारिक रूपमै होमस्टे सञ्चालन गरे।
भारतीय सेनाका क्याप्टेन रुद्रमान गुरुङ आफू सेनामा छँदा भारतका सिक्किम, दार्जिलिङलगायत पर्यटकीय क्षेत्रमा स्थलगत भ्रमण गरेका थिए। उनले स्विजरल्यान्डलगायतका विश्वप्रसिद्ध पर्यटकीय क्षेत्रका बारेमा अध्ययनसमेत गरे। यस्ता भ्रमण तथा अध्ययनपश्चात गुरुङले नेपालका डाँडापाखा र स्विजरल्यान्डका डाँडापाखा त उस्तै रहेछन्, हामीले पनि आफ्नै गाउँबाट नै पर्यटकीय गतिविधि गर्न सक्छौं भन्ने निष्कर्ष निकाले। आफ्नो निष्कर्षलाई गाउँ आएर सुनाए। यस्तो कुरा सुन्दा सुरुमा त गाउँलेहरूले धेरै विश्वास गरेका थिएनन्। तर ग्रामीण पर्यटनको विश्वअनुभव गाउँलेलाई बुझाइसकेपछि उनीहरू आफ्नो गाउँ सिरुबारीमा होमस्टे सञ्चालन गर्न तयार भए। ४० को दशकमा भएको यस्तो प्रयासले २०५४ सालमा सार्थकता पायो। यसरी २०५४ सालमा सिरुबारीमा होमस्टे मात्र सुरु भएन, समग्र देशकै ग्रामीण पर्यटनको औपचारिक सुरुवातसमेत भयो।
त्यसबेला देशको पर्यटन उद्योग फस्टाउने वातावरण थिएन। देशमा गृहयुद्धको बिउ फस्टाउँदै थियो। युवावर्ग ढुक्कले गाउँ बस्न पाउने वातावरण थिएन। यस्तो अवस्थामा पोखरा नजिक भएर पनि दुर्गमजस्तो महसुस हुने सिरुबारीमा पर्यटन प्रवद्र्धन गर्न सहज थिएन। तत्कालीन परिस्थितिमा असहजताका बीच ग्रामीण पर्यटनमा लाग्नु सामान्य कुरा थिएन। देशभर होमस्टेको अवधारणा नै विकसित भएको थिएन। यस्तो असहज परिस्थितिमा सिरुबारीमा होमस्टेको सुरुवात भएको थियो। त्यतिबेलाको साहसपूर्ण कार्य पछि दक्षिण एसियाकै पर्यटन संवद्र्धनको प्रेरक बन्न पुग्यो।
सिरुबारी आँधीखोला गाउँपालिका वडा नं. १ मा पर्छ। ४४ गुरुङ घरहरूको बस्ती हो यो। यहाँ अहिले २० घरमा होमस्टे सञ्चालनमा रहेको र एकैपटक ११० जना पर्यटकलाई घरबास गराउन सक्ने क्षमता रहेको जानकारी सिरुबारी सामुदायिक होमस्टेका अध्यक्ष मोहनबहादुर गुरुङ (जितेन्द्र) ले दिए।
गाउँमा सामुदायिक जंगल, गुम्बा, सङ्ग्रहालय, गाउँ–जंगल पर्यटकीय पदमार्ग, सिरानमा रहेका देउराली तथा थुम्रो जुरोबाट देखिने धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े हिमालको मनमोहक दृश्य, यिनै चुचुराबाट देखिने सूर्योदय पर्यटक लोभ्याउने प्राकृतिक पक्ष हुन्। त्यहाँको प्रकृति जति सुन्दर छ, त्यहाँको स्वागत, लोक–सांस्कृतिक प्रस्तुति, खानपान, गाउँले जनजीवन तथा आत्मीयता त्यसभन्दा बढी लोभलाग्दो छ। डहरे डाँडाको चुचुरोमा देवीको वासस्थान रहेको जनविश्वास रहेको छ। त्यहाँ पहिला डहरा ऋषिले तपस्या गरेका हुनाले उक्त डाँडालाई डहरे डाँडा भन्ने गरेको लोकोक्ति पाइन्छ। हाल पनि डहरे डाँडाको आश्रममा तपस्वीहरू बस्ने गर्छन्।
पाहुना सत्कार सिरुबारीको अनुकरणीय पक्ष हो। पाहुनालाई गाउँको प्रवेशद्वारबाट फूलमाला र पन्चे बाजाले स्वागत गरेर गुम्बा दर्शन गराएपछि घरघरमा बाँडेर राखिन्छ। साँझ सांस्कृतिक कार्यक्रम देखाइन्छ। परिवारमै बसेझैं गरेर आत्मीय व्यवहारका साथ त्यहाँ पर्यटकलाई मिठो खाना खुवाइन्छ। समग्र होमस्टेको खानपानको विशेषता यही हो। अहिले सिरुबारी जात, धर्म, लिंग, वर्णजस्ता विभेदबाट माथि उठेको छ। विभेदमुक्त वातावरण सिरुबारीको अनुकरणीय विशेषता हो। पर्यटकले सुरक्षित वातावरणमा आनन्द लुट्न चाहन्छन्। दिगो पर्यटनको आधार भनेकै आत्मीयता, हार्दिकता एवं इमान्दारी हो। होमस्टे गर्न आउने पर्यटकले यस्तो अनुभव गर्न पाउनुपर्छ। ‘सिरुबारीको विशेषता नै आत्मीयता र हार्दिकता हो। हामीकहाँ आउने पर्यटकले कहिल्यै अप्ठ्यारो महसुस गरेनन्। खुसी बनाएर पाहुनालाई बिदाइ गर्दा हामीलाई आनन्दको अनुभूति हुन्छ,’ सिरुबारी सामुदायिक होमस्टेकी सचिव उर्मिला गुरुङले बताइन्। सिरुबारी समुद्री सतहबाट १६१० मिटरको उचाइमा पर्छ। होमस्टे स्थापनाका बेला पोखराबाट दुरी धेरै नभए पनि विकटताका सिरुबारीमा पुग्न निकै कठिन हुन्थ्यो। सेतीदोभानबाट झन्डै चार घण्टाको उकालो हिँडेर सिरुबारी पुग्नुपथ्र्यो। अहिले सिरुबारी पुग्न निकै सहज छ। पोखराबाट झन्डै दुई घण्टामा सिरुबारीमै पुग्न सकिन्छ।
सिरुबारी सामुदायिक होमस्टेले प्राप्त गरेका पुरस्कारमध्ये ‘पाटा अवार्ड’ (प्यासिफिक एसिया ट्राभल एसोसिएसन २००१) सबैभन्दा महत्वपूर्ण छ। यसबाहेक ‘उत्कृष्ट होमस्टे प्रथम पुरस्कार २०७४’ उल्लेख्य छ। सिरुबारी गाउँको तस्बिर अङ्कित ‘हुलाक टिकट प्रकाशन २०७८’ पनि यस पर्यटकीय गाउँको गौरवको विषय हो।
होमस्टे इतिहास र सिरुबारीको भूमिका
नेपालमा औपचारिक रूपमा होमस्टेको सुरुवात भएको धेरै भएको छैन। अहिले हामेस्टेको औपचारिकताले रजत महोत्सव मनाइरहेको छ। यद्यपि यहाँको अनौपचारिक ग्रामीण पर्यटनको इतिहास भने निकै लामो मानिन्छ। राणा शासनकालका शासकहरूले पर्यटकीय यात्रा गरे होलान्, उतिबेला मनोरञ्जनका लागि जनता घुम्ने वातावरण थिएन। यद्यपि सर्वसाधारण जनता त्यतिबेला पनि धार्मिक भ्रमणमा निस्कने गरेको पाइन्छ।
जंगबहादुर राणाबाट भएको बेलायतको राजकीय भ्रमण, त्यसपछिका राजाहरूको काशीबास अनि बुढापाकाहरूको चारधाम यात्रालाई सम्झने हो भने नेपालको पर्यटन उद्योगको इतिहास पुरानो युगसम्म पुग्न सक्छ। यद्यपि राजामहाराजाहरूका ती भ्रमण राजकीय थिए। त्यसैले त्यस्ता भ्रमणलाई पर्यटन संवद्र्धन गर्ने भ्रमण मान्न सकिँदैन। घुमघाम गर्ने संस्कृतिका लागि सकारात्मक सन्देश भने त्यस्ता भ्रमणले दिएकै थिए।
विश्वमा औपचारिक रूपमा पर्यटन व्यवसाय सुरु भएको झन्डै दुईसय वर्ष भएको मानिन्छ। नेपालमा भने २००७ सालमा प्रजातन्त्रको उदय भएपछि घुमघामको संस्कारको पनि उदय भएको मानिन्छ। पर्यटकीय गन्तव्यका रूपमा नेपाललाई चिनाउने काम सर्वप्रथम हिमालले गरेको पाइन्छ। सन् १९५० मा मौरिस हर्जोकले अन्नपूर्ण र सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे सेर्पाले सगरमाथा आरोहण गरेसँगै पर्यटकीय गन्तव्यका रूपमा नेपाललाई विश्वले एकाएक चिनेको पाइन्छ।
नेपालमा धेरै पछि मात्र ग्रामीण पर्यटनको सुरुवात भएको हो। नेपालका गाउँहरू प्राकृतिक सौन्दर्यका दृष्टिकोणले लोभलाग्दा छन् तर ती गाउँ विकासका दृष्टिकोणले अविकसित र पिछडिएका छन्। गाउँको विकास गर्ने सबैभन्दा उत्तम उपाय भनेकै ग्रामीण पर्यटन हो। ग्रामीण पर्यटन गाउँमा पर्यटक लैजाने र त्यसकै माध्यमबाट आयआर्जन गर्ने क्रियाकलाप हो। गाउँको सुन्दर दृश्य, खुला तथा स्वच्छ वातावरण, एकान्त स्थान, सांस्कृतिक पर्व अनि संस्कारप्रतिको आस्था, गाउँलेको एकताजस्ता पक्ष ग्रामीण पर्यटनका आधारस्तम्भ हुन्।
ग्रामीण पर्यटन व्यवस्थापनको आधार हो– होमस्टे। होमस्टेको अर्थ ग्रामीण भेगमा गएर घरकै परिवारझैं केही रकम तिरेर बस्नु र खानु हो। परापूर्वकालमा होटल हुँदैनथे र त्यसबेला राति बास बस्नुपर्दा पाहुनासँग घरधनीले केही रकम लिएर दाउरा, नुन, तेल दिने गर्थे। यसकै आधुनिक रूप होमस्टे हो।
२५ वर्षपहिला २०५४ सालमा नेपालमा होमस्टे सुरुवात भएको थियो। स्याङ्जाको सिरुबारी नेपालको पहिलो होमस्टे हो। यसका सुरुवातकर्ता हुन्– स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङ। ग्रामीण पर्यटनको इतिहासमा रुद्रमानको नाम सुनौलो अक्षरले लेखिएको छ। उनी नेपालका होमस्टेका प्रणेता त हुन् नै, दक्षिण एसियामै होमस्टेको औपचारिक बीज छर्ने ग्रामीण पर्यटनका अगुवासमेत हुन्। नेपालको होमस्टे लाहुरे प्रथाबाट सुरु भएको देखिन्छ। लाहुरेहरू लाहुर जाने र आउने क्रममा विभिन्न ठाउका घरमा खानेबस्ने गर्थे। सैनिक जीवनकै सिलसिलामा भारतीय तथा बेलायती सेनामा कार्यरत नेपालीहरू स्विजरल्यान्ड, भारत, बेलायत, हङकङलगायतका देशमा जाँदा त्यहाँको ग्रामीण पर्यटकीय विकास देखेर आफ्नो गाउँमा पनि पर्यटकलाई भित्र्याउन पाए हुन्थ्यो भन्ने सद्प्रेरणा प्राप्त गरेको पाइन्छ। भारतीय सेनाका कार्यरत क्याप्टेन रुद्रमान गुरुङलाई पनि आफ्नो गाउँलाई पर्यटकको गन्तव्य बनाउने सन्दर्भमा यस्तै भ्रमणले उत्प्रेरित गरेको देखिन्छ।
२०६७ सालमा आएर बल्ल सरकारले हामेस्टे कार्यविधि ल्याएको थियो। गाउँबासीले सञ्चालन गर्ने होमस्टेमा कम्तीमा पनि ५ घरधनीको प्रतिबद्धतासहित पर्यटन कार्यालयमा दर्ता गर्नुपर्छ। होमस्टे सञ्चालन गर्न न्यूनतम मापदण्ड तोकिएका छन्। हामेस्टेमा चर्पी, बाथरुम तथा सफा कोठा हुनुपर्छ। होमस्टेको जननी सिरुबारीमा तालिम लिनका लागि देशका विभिन्न भेगबाट मानिसहरू आउने गर्छन्। यहाँबाट तालिम लिएर गएपछि उनीहरूले आफ्ना गाउँमा होमस्टे सञ्चालन गरिरहेका छन्।
रुद्रमान गुरुङले रोपेको होमस्टेको बिउ बिस्तारै देशभर फैलिन थाल्यो। त्यसको करिब दुई वर्षपछि प्रेम घलेको अग्रसरतामा लमजुङको घलेगाउँमा होमस्टे सुरु भयो। सार्क स्मार्ट भिलेजको उपमा पाएको घलेगाउँ होमस्टेको राम्रो गन्तव्य बन्यो। त्यसपछि छ्यापछ्याप्ती होमस्टे सञ्चालनमा आए। गुरुङ समुदायको परम्परागत संस्कृतिको केन्द्र भुजुङ, प्राकृतिक सौन्दर्यले भरिपूर्ण घान्द्रुक, नेवारी कला, संस्कृति र श्रमले पोतिएको बन्दीपुरजस्ता थुपै्र होमस्टेले पर्यटकलाई लोभ्याए।
अहिले देशमा २०६६ सालदेखि सुरु गरिएको चितवनको खैरहनी नगरपालिकास्थित घोक्रेलामा रहेको दरै गाउँ होमस्टे, २०६७ सालदेखि सुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको डल्ला होमस्टे, कैलालीको भादा गाउँमा २०६७ सालदेखि सञ्चालनमा आएको थारु सांस्कृतिक होमस्टे, पर्यटन वर्ष सन् २०११ देखि सुरुवात गरिएका मकवानपुरको चित्लाङमा सञ्चालित होमस्टे, पर्यटन वर्ष सन् २०११ देखि नै सञ्चालित लमजुङको काउलेपानी होमस्टे, सिएनएनले केही वर्ष अघि विश्वका घुम्नैपर्ने १२ ठाउँमध्ये छनोटमा पारेको धनकुटाको नाम्जे होमस्टे, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कावासोती नगरपालिकास्थित अमलटारी होमस्टे, बाह्रसिंगाका लागि प्रख्यात कञ्चनपुरको शुक्लाफाँटास्थित होमस्टे आदि सयौंको सङ्ख्यामा होमस्टे सञ्चालित छन्। यसरी ग्रामीण सौन्दर्यले भरिपूर्ण देश नेपालमा होमस्टेको प्रारम्भ र विकास भएको पाइन्छ।
होमस्टेका संस्थापक रुद्रमान गुरुङ
रुद्रमान गुरुङ नेपालको ग्रामीण पर्यटनका संस्थापक हुन्। भारतीय सेनाका क्याप्टेन स्व. गुरुङकै परिकल्पनामा नेपालमा होमस्टेको सुरुवात भएको हो। दक्षिण एसियाकै पहिलो होमस्टे स्याङ्जाको सिरुबारी रुद्रमानकै पहलमा २०५४ सालमा स्थापित भएको हो। ग्रामीण पर्यटनको इतिहासमा रुद्रमानको नाम सुनौलो अक्षरले लेखिएको छ।
देशमा त्यतिबेला होमस्टेको अवधारणा नै विकास भइसकेको थिएन। राज्यले होमस्टेसम्बन्धमा कुनै ऐनकानुन बनाएकै थिएन। त्यस्तो अवस्थामा देशविदेशको ग्रामीण पर्यटनलाई बुझेका रुद्रमानले आफ्नै गाउँमा होमस्टे सञ्चालन गर्नुपर्छ भन्ने सोच बनाए। हुन त रुद्रमानको सोच बहुदलीय प्रजातन्त्र प्राप्तिसँगै होमस्टेलाई सञ्चालनमा ल्याउने रहेछ। यसैअनुरूप सिरुबारीमा भौतिक पूर्वाधारको विकास उनले थालिसकेका रहेछन्। यद्यपि उक्त सोचले २०५४ सालमा व्यावहारिक पूर्णता पायो।
पाहुनालाई होटल वा लजमा होइन, गाउँलेकै भान्छामा खुवाएर गाउँलेकै घरमा बास बसाउने सामुदायिक होमस्टेको अवधारणा उनैले नेपालमा भित्र्याएका हुन्। यही चिन्तन र व्यवहारले उनलाई ग्रामीण पर्यटनका पिताको अहम् भूमिकामा पुर्यायो। रुद्रमानको सपना अनुपम छ। कुनै एक व्यक्तिको सपनाले कति विशाल रूप लिन सक्छ भन्ने उदाहरण हुन् रुद्रमान। उनले सपना मात्र देखेनन्, सपनालाई कार्यान्वयन नै गरे। आज सिरुबारी पाहुना राख्ने घरबास मात्र नभएर होमस्टेको पाठशाला बनेको छ। होमस्टे सञ्चालन गर्नुभन्दा पहिला सिरुबारीमा आएर होमस्टे कसरी चलाउने भन्ने सन्दर्भमा पाठ सिक्नेहरूको संख्या उच्च देखिन्छ। सिरुबारीबाट सुरु भएको ग्रामीण पर्यटन अनि होमस्टेले हाल विशाल रूप लिइसकेको छ। अहिले देशभर एक हजारभन्दा बढी होमस्टे विधिवत दर्ता नै भएर सञ्चालित छन्। बिनादर्ता सञ्चालित होमस्टेको संख्या अझै धेरै रहेको पाइन्छ।
स्थानीय त्रि–सहिद नमुना माविका अवकाशप्राप्त शिक्षक नन्दलाल ढकालको अनुभूति पनि त्यस्तै छ। ‘गाउँ आफैमा सुन्दर छ। यस्तो सुन्दर गाउँलाई ग्रामीण पर्यटनसँग जोड्ने काम महत्वपूर्ण हो। सिरुबारीले ग्रामीण पर्यटनको पाठ सिकाएको छ,’ शिक्षक ढकाल सम्झन्छन्, ‘ग्रामीण पर्यटनका पिता क्या. रुद्रमान गुरुङ नेपालका मात्र होइनन्, विश्व पर्यटनकै अभिभावक हुन्। उनी पर्यटन क्षेत्रको नोबेल पुरस्कारका हकदार छन्। नेपालमा ग्रामीण पर्यटनको जग बसाल्ने काम उनैले गरेका हुन्।’
२०७२ फागुन १५ मा ग्रामीण पर्यटनका सम्बाहक रुद्रमान गुरुङको निधन भयो। भौतिक शरीर अस्ताए पनि उनको दूरगामी पर्यटकीय अवधारणा कहिल्यै अस्ताउने छैन। उनले प्रवर्तन गरेको होमस्टे पर्यटन देशभर उदाइराखेको छ।
प्रकाशित: ६ फाल्गुन २०७९ ०१:२३ शनिबार