२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

भूगोल साहित्य समाजले सम्झे शेरचन, पौड्याल र समहरू

भूगोल साहित्य समाजले कवि भूपि शेरचन,कवि शिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट बालकृष्ण समको स्मृतिमा परिचर्चा कार्यक्रम आयोजना गरेको छ।

समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा ‘शब्दहार’ नाम दिई भएको सो कार्यक्रममा गजलकार एवं अनुवादक रामबहादुर पहाडी प्रमुख अतिथि र युवराज मैनाली, कलानिधि दहाल,वासुदेव गुरागाई, डा.टंकप्रसाद पन्थ र ममता मृदुल अतिथिको रूपमा रहेका थिए।

त्यसैगरी कार्यक्रममा समाजका मानार्थ सदस्यहरू सुशील श्रेष्ठ, टेकराज जोशी र उद्धव खनालको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा साहित्यकार ममता मृदुलले भूपिको व्यक्तित्व-कृतित्वबारे बोलेकी थिइन्। उनले भूपिका दुई कविता पनि वाचन गरेकी थिइन्।

साहित्यकार वासुदेव गुरागाईल कविशिरोमणि लेखनाथ पौड्यालको व्यक्तित्व र कृतित्वबारे बोलेका थिए। उनले लेखनाथका केही कविता पनि वाचन गरेका थिए।

समीक्षक युवराज मैनालीले समको बहुआयामिक व्यक्तित्वबारे बोल्नुका साथै समका कृतिका केही अंश सुनाएका थिए। कार्यक्रमका अतिथि डा. पन्थले तीनै स्रष्टाका एक-एकवटा रचना लयात्मक शैलीमा वाचन गरेका थिए।

अर्का अतिथि दाहालले तीनै जना स्रष्टाबारे बोल्नुका साथै भूगोल साहित्य समाजले अझ सक्रियता बढाउँदै राम्रा-राम्रा कार्यक्रम गर्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथि पहाडीले समाजका साहित्यिक क्रियाकलापको प्रशंसा गर्दै समाजको उज्ज्वल भविष्यको कामना गरेका थिए।

कार्यक्रममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३ सय एकऔं जन्मजयन्तीको अवसरमा उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। त्यसैगरी शताब्दी पुरुष सत्यमोहन जोशीप्रति पनि हार्दिक श्रद्धाञ्जलि अर्पण गरिएको थियो।

समाजका सदस्य नवराज पुडासैनी ‘ज्योत्सना’ ले स्वागत मन्तव्य, उपाध्यक्ष दिनेशविक्रम थापाले धन्यवाद ज्ञापन र सचिव शैलेन्द्रकुमार शाहले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रकाशित: २७ पुस २०७९ ०८:२२ बुधबार

अक्षर