१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

'कोशीको पानी यो जिन्दगानी'

काठमाडौं- नेपथ्य आफ्नो सांगीतिक यात्राको दसौं अल्बमको तयारीमा ब्यस्त छ। देशका विभिन्न भाग घुमेर संकलन गरिएका केही गीत र कविहरुका सिर्जना उक्त अल्बममा सुन्न पाइनेछ।

यसै क्रममा पूर्वी नेपालको संखुवासभाबाट संकलन गरिएको लोकलय 'हाक्पारे'मा आधारित नेपथ्यको नयाँ गीत 'कोशीको पानी यो जिन्दगानी' शुक्रबार सार्वजनिक गरिएको छ। पितापुर्खाका पालादेखि सांगीतिक अभ्यास गर्दैआएका चैनपुर निवासी वृद्ध डिल्ले दमाईका माध्यमबाट नेपथ्यका मुख्य गायक अमृत गुरुङले यसको संकलन गरेका हुन्। चार वर्षअघि धुलिखेल नजिकैबाट पैदलयात्रा सुरु गरेका अमृतले सधैंझैं धुनको खोजी गर्दै दुर्गम मार्ग भएर पूर्वी नेपाल घुमेका थिए। त्यसैक्रममा चैनपुर पुगेको बेला डिल्ले दमाई भेटिएका थिए।

'अग्रज संगीतकर्मीहरु रामेश र मञ्जुलले कुनैबेला तय गर्नुभएको त्यो बाटोमा मैले धेरै अनुभव गर्न पाएँ,' गायक अमृत भन्छन्, 'यात्रा अन्त्यमा पुगेको बेला भेटिनुभएका डिल्ले दाइका माध्यमबाट पूर्वी नेपालका थुप्रै लोकलयसँग परिचित हुने मौका पनि मिलेको थियो।'

लोकलयलाई नै आफ्नो साधनाको केन्›विन्दु मान्ने गरेका अमृतको प्रेरणाको श्रोत फराकिलो घेरामा अटाएको छ।

'परिचित संगीतज्ञदेखि लिएर बाटोमा सारंगी बजाउँदै हिँड्ने गाइनेदाईहरु सम्मलाई मैले गुरुका रुपमा ग्रहण गरेको छु,' उनी भन्छन्, 'गुरु पुर्णिमाको छेक पारेरै सार्वजनिक हुनलागेको यो हाक्पारे गीत म मेरा अर्का गुरु डिल्ले दमाइ दाइमा समर्पित गर्न चाहन्छु।'

लोकगीत भनेको गाउनेनाच्ने साधन मात्र नभई सुदूर भेगका स्थानीय जनजीवनलाई गहिरिएर बु‰ने माध्यम पनि हो। 'बढ्दो बाह्य प्रभावले यस्ता गीत हिजोआज हराउँदै जानथालेका छन्,' अमृत भन्छन्, 'तैपनि यात्राका क्रममा अहिले पनि फाट्टफुट्ट संकलन गर्न पाइन्छ।'

लामो अन्तरालपछि 'वान टेक रेकर्डिङ' प्रविधि अपनाइएको कारण पनि नेपथ्यको यो दसौं अल्बम संगीत पारखीका निम्ति विशेष रहनेछ। डिजिटल ट्रयाक रेकर्डिङ सुविधा आउनुअघिको यो प्रविधिमा गायक र वाद्यवादकले एकसाथ गाउँदागाउँदै र बजाउँदाबजाउँदै एकैपटक रेकर्ड सम्पन्न गरिन्छ। यसरी रेकर्ड गर्दा अप्ठेरो पर्ने र तुलनात्मक कम सफा सुनिने भए पनि कृत्रिमतारहित अनि बढी जीवन्त आवाज श्रोतासम्म पुग्नेगर्छ। यो रेकर्ड नेपथ्यले पहिलोपटक ब्याण्डको आफ्नै अभ्यास कक्षमा गाएर गरेको हो।

'दसौं अल्बमका अरु गीतजस्तै प्रस्तुत हाक्पारेको पनि रेकर्डिङ यसै प्रविधिबाट सम्पन्न भएको हो,' नेपथ्यको संयोजन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, 'यसमा प्रयोग गरिएको भिडियो भने गत वर्ष दुबईमा आयोजना भएको कन्सर्टका दृश्यहरुबाट तयार पारिएको छ।'

यस गीतलाई नेपथ्यले गत वर्षदेखि मुलुकभित्र र बाहिरका केही कन्सर्टमा गाएर पनि सुनाइसकेको छ। श्रोता दर्शकबाट यो गीतले राम्रो प्रतिक्रिया पाउँदै आएको छ।

प्रकाशित: ८ श्रावण २०७३ ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App