विचार

चितवनलाई ३ नं. बाट किन हटाउने ?

ऐतिहासिक, सामाजिक र जातीय अन्तरसम्बन्ध

साविकमा विभिन्न जनजाति समुदायको सीमित बसोबास रहेको चितवनमा २००७ सालपछिको आधुनिकीकरणको प्रवाहसँगै पहाडका छिमेकी जिल्ला र खासगरी गण्डकी एवं धवलागिरी अञ्चलबाट उल्लिखितरूपमा बसाइँ सराइ हुन गयो । जसले गर्दा चितवन तनहुँ, गोरखा, लमजुङ, स्याङ्गजा, कास्की, बाग्लुङ जस्ता जिल्लाका उल्लेख्य संख्याका आप्रवासीका लागि दोस्रो घरका रूपमा रहन गयो । यस जिल्लामा २००७ सालपछि हालसम्म बसाइँ सरेर आउनेको उत्पत्ति जिल्लाबारे सर्वेक्षण गर्ने हो भने त्यसमा गण्डकी र धवलागिरीका जिल्लाको नाम अग्रपंक्तिमा आउँछ । यस दृष्टिले हेर्दा आज पनि बहुसंख्यक चितवनबासीको पहिचान, उत्पत्ति र पुख्र्याैलीलगायतको अन्तरसम्बन्ध वाग्मती अञ्चल (३ नं. प्रदेश) भन्दा गण्डकी, धवलागिरीतर्फ बढी रहने प्रष्टै देखिन्छ । साथमा जिल्लाको वर्तमान जातीय समिश्रणको अनुपात पनि समग्रमा प्रदेश नं. ३ भन्दा प्रदेश नं. ४ सँग नै बढी मिल्दोजुल्दो छ ।

पूर्वाधारको स्वरूप र आर्थिक पक्ष

नेपालको आर्थिक, सामाजिक र राजनीतिक भूगोलमा चितवनले धमनीको काम गरिरहेको छ । पूर्व–पश्चिम राजमार्गको कुरा छाड्ने हो भने यो जिल्लालाई देशको अन्य भूभागसँग जोड्ने पहिलो राजमार्ग नारायणगढ–गोरखा नै हो जसको निर्माण वि.सं. २०३७ सालमा भएको थियो । उक्त राजमार्गको निर्माण गोरखा एवं गण्डकी अञ्चलका अन्य जिल्लाको चितवनसँग रहिआएको ऐतिहासिक आर्थिक सम्बन्धको नयाँ अध्यायका रूपमा लिन सकिन्छ । यसै पनि परम्परागतरूपमा गण्डकी अञ्चलका जिल्ला खासगरी तनहुँ, गोरखा, लमजुङ, कास्कीतिरबाट दशकौँदेखि नून÷तेल खरिदका लागि ठोरी बजार झर्ने परिपाटी थियो। त्यसमाथि चितवन राप्ती  परियोजनाको लोकप्रियताकै सेरोफेरोमा बन्दिपुरे साहू÷महाजनको आँखा नारायणगढको व्यापारिक सम्भावनाप्रति पर्न गयो र फलस्वरूप नारायणगढ बन्दिपुरेको कर्मथलो बन्न पुग्यो । बन्दिपुरे साहू÷महाजन जुनरूपमा नारायणगढको व्यापारमा स्थापित हुन पुगे त्यसकै समानान्तर गण्डकी धवलागिरीका अन्य जिल्लाका आप्रवासीले चितवनको कृषि विकासमा ठूलो योगदान गरे । तर सोअनुरूप धादिङ, नुवाकोट वा ३ नं. प्रदेशको अन्य जिल्लाको चितवनसँगको आर्थिक अन्तरसम्बन्ध त्यस्तो घनिभूत देखिन्न । बरु तिनको त्यस्तै सम्बन्ध काठमाडौतिर नै बनेको पाइन्छ ।

प्रादेशिक सन्तुलन

प्रदेश नं. ३ मा देशको राजधानी रहेको काठमाडौँ उपत्यकाका तीनै जिल्ला र तिनका साथै विकासको प्रचुर सम्भावना बोकेको दुन भित्री मधेसका मकवानपुर, उदयपुर र सिन्धुली जस्ता जिल्लासमेत रहनुले उक्त प्रदेश चितवन जिल्लाबेगर नै पनि स्रोत र साधनसम्पन्न देखिन्छ । यसै प्रदेशमा प्रस्तावित काठमाडांै– हेटौँडा सुरुङ मार्ग, चीनको सिमाना छेड्ने तातोपानी तथा कोदारी मार्गसमेत विद्यमान छन् । ती सबविपरित ४ नं. प्रदेशमा पोखराको सीमित पर्यटकीय क्षेत्र छाडेर अन्य त्यस्तो कुनै समृद्ध स्रोत देखिन्न । तसर्थ प्रादेशिक सन्तुलनका लागिसमेत चितवन ४ नं. प्रदेशमा राख्नु अत्यन्त न्यायिक हुन आउँछ ।

भौगोलिक सामीप्यता र नक्शांकन

चितवन प्रदेश नं. ३ मा राख्दा नक्सामा यो जिल्ला प्रदेशका बाँकी जिल्लासँग दक्षिण पश्चिमतिर नमिल्दो गरी झुण्डिएको जस्तो देखिन्छ । प्रदेश नं. ३ को पहाडतर्फको सबभन्दा पश्चिममा धादिङ छ जसको सिमाना तराई मधेसतर्फ मकवानपुरको सिमानासँग सिधा र समानान्तर देखिन्छ । त्यसको विपरित चितवन प्रदेश ४ को पहाडतर्फको पूर्वी जिल्ला गोरखासँग सिधा र समानान्तर रहेको देखिनुले यस जिल्लालाई प्रदेश नं. ४ तिर राख्दा  मिल्दो र भौगोलिक औचित्य पुष्टि हुन्छ ।

जलाधार र तटीय सम्बन्ध

नेपालका ३ ठूला नदीमध्येको नारायणी चितवन भएर बगेको छ र यो पहाडतिरबाट बगी आउने विभिन्न नामका मझौला खोलाको मिश्रणबाट बन्छ । त्रिशूली एउटाको अपवादबाहेक नारायणीका सवै सहायक नदी प्रदेश नं. ४ का पहाडी जिल्लाबाटै बगी आउने गर्छन् । जलस्रोत उपयोग, जलाधार संरक्षण, भूउपयोग र लाभ लगानी बाँडफाँटमा तल्लो–उपल्लो तटीय समुदायहरूको अन्तरसंवाद र सहकार्य आवश्यक मानिँदै आएको वर्तमान सन्दर्भमा पनि चितवन प्रदेश नं. ४ तर्फ राख्दा बढी व्यावहारिक हुने प्रष्ट छ ।

पर्यावरणीय संरक्षण र वन्यजन्तु व्यवस्थापन

प्रदेश नं. ४ मा नेपालकै प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र र राष्ट्रिय निकुञ्ज पनि छ । चराचुरुङ्गीका साथै वन्यजन्तुको संख्या र गुणात्मक विस्तारका लागि तिनको चरिचरणस्थल विस्तार हुनु आवश्यक मानिन्छ। यस अर्थमा केही समयदेखि चितवन निकुञ्जलाई अन्नपूर्ण क्षेत्रसम्म लिंक गर्दै वन्यजन्तुको बसाइँ सराईको करिडोर विकास गर्ने र समग्र क्षेत्रलाई नै  संरक्षण क्षेत्रमा नमुनाका रूपमा पेश गर्ने सोच पनि विकास भइरहेको छ । यसका लागि पनि चितवनलाई ४ तर्फ गाभ्दा प्रशासनिक समस्या सहज हुनेछन् ।

जनसंख्या

काठमाडौंका ३ जिल्लामा यसै पनि जनसंख्याको चाप तीव्र छ । त्यसमाथि चितवन त्यतैतिर रहँदा ३ नं. मा ४ नं. को भन्दा धेरै बढी जनसंख्या र जनघनत्व देखिन आउँछ । त्यसको विपरित देशको ज्यादा आवादी भएको जिल्लामध्येको चितवन ४ नं. मा राख्दा प्रदेशबीचको जनसंख्याको अनुपात पनि सन्तुलित हुन सक्छ ।

धार्मिक र मानवशास्त्रीय

सनातन हिन्दु धर्म ग्रन्थका महिमा एवं लोकविश्वासमा पहाडबाट बगी आउने नदी तल दोभान आइपुग्दा त्यसको भौतिक र आध्यात्मिक पहिचान र महत्व फेरिन पुग्छ । त्यसकै कारण २,३,४ नदीका संगमस्थलमा ठूला ठूला मन्दिर र तीर्थ रहिआएको हुन्छ । चितवन देवघाट गण्डकी क्षेत्रका लागि त्यस्तै उल्लिखित मानव एवं पर्यावरणीय भूगोलको समष्टि हो । यो जटिल मानवशास्त्रीय अवधारणा बुझ्न अलि कठिन त छ । त्यो जे भए पनि देवघाटमा लाग्ने वार्षिक मकर मेला जहाँ आज पनि गण्डकी धवलागिरीका दशौँ हजार भक्तजनको घुँइचो लाग्ने गरेबाट चितवन र उपल्लो तटीय गण्डकी प्रदेशबीच अन्योन्याश्रित धार्मिक सम्बन्धसमेत रहे÷भएको देखिन्छ जो त्यहीरूपमा प्रदेश न. ३ का जिल्लासँग भने रहेको देखिन्न ।

यसरी विविध आधार र प्रमाण विचार गर्दा चितवनको अन्तरसम्बन्ध प्रदेश नं. ३ भन्दा प्रदेश नं. ४ तर्फ नै बढी रहेको प्रष्ट देखिन्छ । त्यसो हुन सकेको खण्डमा चितवनलाई ३ नं. प्रदेशबाट हटाइ ४ नं. प्रदेशमा गाभ्न त्यस्तो ठूलो महाभारत पर्ने पनि देखिन्न ।

 

प्रकाशित: २० चैत्र २०७३ ०३:५१ आइतबार

चितवनलाई नं. किन हटाउने