अन्तर्राष्ट्रिय

मंगल ग्रहमा ज्वालामुखी !

यस्तो पनि !

यतिबेला वैज्ञानिक जगत्मा मंगल ग्रहको एउटा तस्वीर निकै लोकप्रिय भएको छ। मंगल ग्रहको अग्लो पहाड ओलम्पस मोन्समा फुटेको अण्डाजस्तो भाग देखिएपछि यसका बारेमा अनेकन् अड्कलहरू हुन थालेका छन्।  

मंगल ग्रहको जाडो याममा यो तस्बिर खिचिएको बताइएको छ। जसमा एकाबिहानै अण्डा फुटालेर पकाउन लागेजस्तो तस्वीर देखिएपछि यो तस्वीरको अर्थ के हुन सक्छ भनी अनुमान हुन थालेको हो।

केही वैज्ञानिकले मंगल ग्रहमा नियमित रूपमा ज्वालामुखी फुट्ने र त्यो ज्वालामुखीले यस्तो देखिएको अनुमान गरेका छन्। यसलाई हाम्रो सौर्यमण्डलकै सबैभन्दा अग्लो ज्वालामुखी पहाडका रूपमा अथ्र्याइरहेका छन्।  

यो तस्वीरलाई युरोपेली स्पेस एजेन्सीले सार्वजनिक गरेको हो। यो ज्वालामुखी पहाडमा कटौराजस्तो आकार देखिएको छ र बीचमा अण्डाको सेतो भागजस्तो पनि देखिएको छ। यो सेतो भाग हिउँ हुनसक्ने वैज्ञानिकहरूले अनुमान गरेका छन्।  

यहाँ १ लाख ५० हजार टन पानीयुक्त हिउँ रहेको अनुमान गरिउको छ। अध्ययनअनुसार यस क्षेत्रमा हावाको गति सुस्त रहेको तर वरिपरिका क्षेत्रमा तुलनात्मक रूपमा बढी हावा चल्नेसमेत वैज्ञानिकहरूले अनुमान गरेका छन्।  

लामो समयदेखि मंगल ग्रहमा पानी छ कि छैन भन्ने विवाद यो तस्वीरले मेटिदिएको छ। त्यसो त राति हिउँ जमे पनि बिहानी केही क्षणपछि यहाँको हिउँ वाष्पीकरण भएर बिलाउने गरेको पनि वैज्ञानिकहरूले पत्ता लगाएका छन्।  

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ९ भाद्र २०८१ १२:३२ आइतबार

#Magal