प्रविधि

ट्रम्पले नासाबाट इसाकम्यानलाई हटाए, चर्चामा मस्कसँगको सम्बन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नासाको प्रमुखका लागि जेरेड इसाकम्यानको मनोनयन फिर्ता लिएका छन्। ह्वाइट हाउसले यसबारे जानकारी गराउँदै नयाँ उम्मेदवारको घोषणा चाँडै हुने बताएको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘नासाको प्रमुखका लागि जेरेड इसाकम्यानको मनोनयन फिर्ता लिएको छु। म चाँडै नयाँ उम्मेदवारको घोषणा गर्नेछु। नयाँ उम्मेदवार मिसनमा आबद्ध भई अमेरिकालाई अन्तरिक्षको प्रतिस्पर्धामा पहिलो स्थानमा राख्न नेतृत्व गर्नेछ।’

गत वर्षको अन्त्यमा ट्रम्पले अर्बपति तथा निजी अन्तरिक्ष यात्री इसाकम्यानलाई नासाको प्रमुख बनाउन मनोनित गरेका थिए। सिनेटको वाणिज्य, विज्ञान र यातायात समितिले अप्रिलमा उनको मनोनयन अनुमोदन गरेको थियो।

अर्बपति एलन मस्कका निकट सहयोगी इसाकम्यानले मस्कको कम्पनी स्पेसएक्ससँग गहिरो सम्बन्ध राख्छन्। उनले स्पेसएक्सबाट करोडौँ डलरमा निजी अन्तरिक्ष उडानहरू गरेका छन्, जसले उनको नासा प्रमुखको मनोनयनमा मस्कको प्रभावको चर्चा बढाएको थियो। तर हालै मस्क आफैं पनि ट्रम्प प्रशासनबाट बिदा भएका छन्। एजेन्सी  

प्रकाशित: १९ जेष्ठ २०८२ ०८:०८ सोमबार

#NagarikNews #DonaldTrump #Elonmusk #NASA