खाली जमिनमा मेहनत गरे के हुँदैन भन्ने उदाहरण बनेका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरुङ। उनीहरूले अहिले जीवनभरको मेहनतको फल प्राप्त गरिरहेका छन्।
गुरुङ दम्पतीलाई पहिले बगरमा स्याउ लगाउँदा गाउँलेहरूले कुरा काटेर हैरान पारेका थिए। छिरिङ भन्छन्, ‘तत्कालीन समय सम्झदा नरमाइलो लागे पनि अहिले राम्रो गरेको जस्तो लाग्छ।’ एकै वर्षमा दुईवटा राष्ट्रिय पुरस्कार पाएपछि गुरुङ दम्पतीमा मेहनत र परिश्रमको जोश बढेको देखिन्छ।
कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक हुँदै उत्तरी सिमाना कोराला नाका जाने बाटो नजिकै तिरी गाउँ भए पनि विकट जस्तो लाग्छ। एउटा पक्की पुलको आसमा वर्षौं बिताएका कालीगण्डकी नदी पारी तिरी गाउँका स्थानीयसँगै गुरुङ दम्पती मुस्ताङका किसानको उदाहरण बनेका छन्। सडक सञ्जालले सहज रूपमा नछोए पनि गुरुङ दम्पतीले स्याउ र च्याङ्ग्रा बेचेर वार्षिक लाखौं आम्दानी गर्छन्।
गुरुङ दम्पतीले सुरु गरेको ङवाङ हिसी कृषि तथा पशुपक्षी अग्र्यानिक फर्म करिब एक रोपनीबाट सुरु भएको थियो। अहिले मुस्ताङ जिल्लाकै नमुना किसानको पहिचान बनाएका उनीहरूको स्याउ खेती ६० रोपनीमा फैलिएको छ। उनीहरूलाई दैनिक स्याउ खेती स्याहार्ने, बगैंचा व्यवस्थापन गर्नेदेखि अन्य काममा समय खर्चिनुपर्छ। बिहानदेखि बेलुकासम्म किसान भएर काम गर्न पाउँदा उनीहरू दम्पतीलाई आनन्द आउँछ। तर, स्याउ बगैंचा व्यवस्थापन र च्याङ्ग्रा हेरचाहका लागि अहिले उनीहरूसँग ८ जना मजदुर छन्।
पहिले व्यावसायिक स्याउ खेती नहुने बगरमा बेकार लगानी गरेको भन्दै खिसी गर्ने गाउँलेहरू अहिले उनीहरूको सफलता देखेर चकित छन्। करिब १८ वर्षअघि सन्तानको शिक्षादीक्षा र घरखर्च चलाउने सोचबाट सुरु भएको स्याउ खेतीले आम्दानी दिन थालेपछि आङ्ग्या र छिरिङ दम्पतीले उक्त फर्म स्थापना गरेका थिए। निरन्तर मेहनत र परिश्रमले सफलता मिल्छ भन्ने उदाहरण हुन् गुरुङ दम्पती। अहिले उनीहरूको मेहनत र परिश्रमले पछिल्लो केही वर्षमा मुस्ताङवासीको प्रेरणाको स्रोत बनेका छन्।
पहाडको शिरमा ५०० भन्दा बढी च्याङ्ग्रा र खाली बगरमा रैथाने तथा आधुनिक स्याउ खेती गरेर वार्षिक ५० लाखसम्म आम्दानी भए पनि मेहनत धेरै हुने गरेको छिरिङ ढोका गुरुङले बताए। यसै वर्ष छिरिङ ढोका गुरुङलाई सरकारबाट र दम्पतीलाई गण्डकी प्रदेश सरकारबाट वर्षको सर्वोत्कृष्ट किसानको रूपमा सम्मान गरिएको छ। छिरिङ ढोका गुरुङले २ लाख नगदसहितको राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार र गुरुङ दम्पतीलाई गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सर्वोत्कृष्ट किसान घोषित गरेको छ।
शुक्रबार पोखरामा कृषि मन्त्री पद्यमा जिसी श्रेष्ठ र सचिव वासुदेव रेग्मीले ५० हजार नगदसहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरे। गुरुङ दम्पतीको स्याउ बारीमा अहिले करिब २,५०० स्याउका बोट छन्। यस वर्ष मनाङबाट ५०० हाइडेन्सिटी (उच्च घनत्वमा उत्पादन हुने) प्रजातिको स्याउ रोप्ने तयारी छ।
गत वर्ष खर्च कटाएर ३५ लाख स्याउ बिक्रीबाट र ५०० च्याङ्ग्राबाट १३ लाख आम्दानी भएको थियो। जलवायु परिवर्तनले पानीको मुहान सुकेपछि १३ घरधुरी विस्थापित हुने जोखिममा रहेको अवस्थामा गाउँमा व्यावसायिक स्याउ खेती र पशुपालनमा सक्रिय गुरुङ दम्पतीको सङ्घर्ष र सफलताको चर्चा भइरहेको छ। रासस
प्रकाशित: ३० असार २०८२ ०८:१९ सोमबार