भिडियो केही सेकेन्डको मात्र छ। तर, ती केही सेकेन्डभित्र कैद भएको दृश्यले शताब्दीकै सबैभन्दा भयानक प्राकृतिक त्रासदीको कथा भन्छ।
नेपाल-तिब्बत सीमाको चिनियाँ भूभाग जिरोङ (केरुङ) तर्फ उभिएका भव्य भवनहरूको पछाडिबाट अचानक एउटा भीमकाय अँध्यारो पर्खालजस्तो आकृति देखापर्छ।
सुरुवाती क्षणमा त्यो आकाशबाट खस्न लागेको कुनै कालो बादलजस्तो भान हुन्छ। तर, आँखा झिम्काउन नपाउँदै त्यसले विकराल आकार र अकल्पनीय गति लिन्छ। ढुङ्गा, लेदो, माटो, हिउँका विशाल ढिस्का र अनियन्त्रित पानीको त्यो प्रलयंकारी भेल पहाडको भित्तो चिर्दै तलतिर उर्लिन्छ। सीमा क्षेत्रमा जडान गरिएको सीसीटीभी क्यामेराको फुटेजमा स्थानीय समयअनुसार बिहान १० बजेर ५९ मिनेट ५३ सेकेन्डको टाइमस्ट्याम्प अंकित छ।
त्यसपछिका केही मिनेटभित्र त्यहाँ वास्तवमा के भयो भनेर ठ्याक्कै अनुमान लगाउन आज पनि कठिन छ। तर विपत्तिअघि र पछिका भिडियो दृश्य तथा उपग्रह तस्बिरहरूले विनाशको भयावह तस्बिर छर्लङ्ग पारिसकेका छन्।
चिनियाँ सीमा परिसरको अधिकांश भौतिक संरचना सोत्तर भएको छ। केही सेकेन्डअघिसम्म मानिसहरूको बाक्लो चहलपहल रहेका ठूला भवनहरू एकै झट्कामा बगरमा परिणत भएका छन्।
सीमापारि नेपालतर्फ रसुवा जिल्लाको उत्तरी नाका रसुवागढीमा पनि प्रकृतिको ताण्डव उत्तिकै भयानक थियो। नेपाल र चीनलाई जोड्ने ऐतिहासिक मित्रताको प्रतीक मितेरी पुल, नेपालको अध्यागमन कार्यालय, भन्सार यार्ड र सुरक्षा पोष्टहरू बाढीको पहिलो झोक्कामार्फत क्षणभरमै बगे। सीमा नाकाबाट करिब डेढ किलोमिटर तल रहेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय बस्ती टिमुरे पूर्ण रूपमा बगरमा परिणत भयो।
‘यो काठमाडौँ र तिब्बतबीचको परापूर्वकालदेखिको ऐतिहासिक व्यापारिक मार्ग हो,’ वरिष्ठ जलविद् अजय दीक्षित भन्छन्, ‘तर यो क्षेत्र भौगोलिक र भौगर्भिक दृष्टिकोणले अत्यन्तै संवेदनशील र कमजोर छ। यहाँ गहिरा खोँच र अत्यन्तै ठाडो भिरालोमा बग्ने नदीहरू छन्। यस्ता नदीहरूमा पानी उच्च गतिमा मात्र बग्दैन, यसले ठूलो मात्रामा गेग्रान र पहाडजत्रा ढुङ्गाहरू समेत सजिलै बगाएर ल्याउँछ।’
यो नाका केवल सीमा स्तम्भ मात्र थिएन, यो नेपाल र चीनबीचको जीवनरेखा थियो। हिन्दु र बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने हजारौं तीर्थयात्री, सीमावर्ती व्यापारी, दैनिक उपभोग्य सामान बोक्ने कन्टेनरका चालक, भन्सार अधिकृत, विश्वभरका पर्यटक र सीमा क्षेत्रका स्थानीय बासिन्दा यही बाटो भएर ओहोरदोहोर गर्थे।
विपत्ति आएको बिहान मात्रै सीमा क्षेत्रमा १०० भन्दा बढी भारतीय नागरिक रहेको अनुमान गरिएको थियो। भारतको विदेश मन्त्रालयका अनुसार नेपालको यस बाढीपहिरोमा परी कम्तीमा २७५ जना भारतीय नागरिक अझै बेपत्ता छन्।
अध्यागमनको अन्तिम कारोबार: ८ बजेर ३५ मिनेट ०३ सेकेन्ड
अहिले नेपालको अध्यागमन विभाग विपद् आउनुभन्दा ठीक एक घण्टाअघिसम्म रसुवागढी नाका भएर आवतजावत गरेका स्वदेशी तथा विदेशी नागरिकहरूको डिजिटल पदचाप पछ्याउने कठिन प्रयासमा जुटिरहेको छ।
विभागको केन्द्रीय सर्भरमा सुरक्षित विद्युतीय अभिलेख (डिजिटल लग) अनुसार त्यो बिहान ८९ जना नेपाली तथा विदेशी नागरिकले तिब्बततर्फ जानका लागि नेपालको बहिर्गमन अनुमति लिइसकेका थिए। उताबाट चार जना विदेशी नागरिक नेपाल भित्रिएको अभिलेख छ।
अध्यागमन प्रणालीले आफ्नो अन्तिम कारोबार स्थानीय नेपाली समयअनुसार बिहान ८ बजेर ३५ मिनेट ०३ सेकेन्डमा रेकर्ड गरेको थियो। यो समय चिनियाँ सीसीटीभी फुटेजमा बाढीको कालो पर्खाल देखिनुभन्दा ठीक आठ मिनेटअघिको घडी थियो।
त्यसको केही मिनेटभित्रै रसुवागढी अध्यागमन कार्यालयका प्रमुखसहित चार जना कर्मचारी बाढीको भेलसँगै बेपत्ता भए। कार्यालय प्रमुखको शव केही दिनपछि धेरै तल नदी किनारमा फेला पर्यो भने कम्प्युटरमा अन्तिम कारोबार रेकर्ड गर्ने महिला कर्मचारीको अवस्था आजसम्म अज्ञात छ।
त्यो बिहान नेपालबाट बिदा भएर सीमापार गर्न लागेका विदेशी नागरिकहरूमा ३२ जना भारतीय, १२ जना चिनियाँ, ९ जना अमेरिकी तथा बेलायत, क्यानडा, अस्ट्रेलिया र इटालीका नागरिकहरू थिए।
रसुवागढी अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन सहायक टीकाराम पोखरेल उक्त कार्यालयका एकमात्र जीवित कर्मचारी हुन्। त्यस दिन उनी संयोगले लोकसेवा आयोगको परीक्षा दिन काठमाडौं झरेका कारण बाँच्न सफल भए। तर आफ्ना सहकर्मी र आँखाअगाडिको भूगोल गुमाउनुको पीडाले उनलाई पलपल पोलिरहेको छ।
पोखरेलका अनुसार अध्यागमनको कम्प्युटरमा देखिएको त्यो ८९ जनाको संख्याले त्यस बिहान सीमामा उर्लिएको मानवीय उपस्थितिको एउटा सानो अंश मात्र देखाउँछ।
‘हाम्रो अध्यागमन कार्यालय टिमुरेभन्दा करिब १.५ किलोमिटर उत्तरतर्फ पर्ने घट्टेखोला बजारमा थियो,’ पोखरेल सम्झिन्छन्, ‘त्यहाँबाट तिब्बतको सीमा छुट्ट्याउने मितेरी पुलसम्म पुग्न अझै करिब दुई किलोमिटर पैदल हिँड्नुपर्थ्यो। त्यो पूरै क्षेत्रमा होटल, लज, रेस्टुरेन्ट, पसल र ठूला पार्किङहरू थिए। सीमा पार गर्ने सयौं मानिस र गाडीहरू झुम्मिएका हुन्थे।’
नेपाली अध्यागमन कार्यालय बिहान ८ बजे खुल्थ्यो। प्रक्रिया पूरा गरेका यात्रुहरू पैदल वा गाडीमा मितेरी पुलतर्फ लाग्थे र चिनियाँ अध्यागमन खुल्ने प्रतीक्षामा बस्थे।
त्यस बिहान ८ः२० बजे पोखरेलले काठमाडौंबाटै कार्यालयका सहकर्मीलाई फोन गरेका थिए। सहकर्मीले नाकामा त्यो दिन अस्वाभाविक रूपमा ठूलो भीड रहेको सुनाएका थिए। पोखरेलका अनुसार कम्तीमा ३०० देखि ४०० जना मानिस नेपालबाट तिब्बत छिर्न लाइनमा थिए भने चिनियाँ भूभागबाट नेपालतर्फ आउन लागेका मानिसहरूको पनि ठूलो समूह मितेरी पुल छेउछाउ जम्मा भएको थियो।
‘नेपाली अध्यागमनबाट प्रस्थान अनुमति लिएका अधिकांश मानिसले चिनियाँ अध्यागमनमा प्रवेश पाउनै सकेनन् जस्तो देखिन्छ,’ पोखरेल भन्छन्, ‘किनकि हाम्रो कार्यालयबाट मितेरी पुल पुग्नै १५ देखि २० मिनेट लाग्थ्यो। समूहमा यात्रा गर्नेहरू आफ्ना सबै साथीहरूको कागजात नसकिउन्जेल पुल नजिकै पर्खिन्थे। त्यसैले बाढीको त्यो बज्रपात पर्दा ती ८९ जना कहाँ पुगेका थिए, कसैलाई थाहा छैन।’
नेपालको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले तयार पारेको वैज्ञानिक समयरेखाअनुसार बिहान ८ बजेर ३७ मिनेट जाँदा अर्थात् अध्यागमन प्रणालीको अन्तिम कारोबार भएको ठीक दुई मिनेटपछि हिमाली भेगमा जडान गरिएका भूकम्पीय उपकरणहरूले सीमामाथिको उच्च पहाडी क्षेत्रमा तीव्र कम्पन रेकर्ड गरेका थिए।
अनुसन्धानकर्ताहरूका अनुसार उच्च हिमाली क्षेत्रमा हिउँ र चट्टानको विशाल पहिरो फुटेर नदीमा खसेपछि यो अकल्पनीय बाढी सिर्जना भएको थियो।
चिनियाँ वैज्ञानिक तथा सीमा अधिकारीहरूले पनि पहिरो आफ्नो उद्गमस्थलबाट सीमा नाकासम्म आइपुग्न केवल सात मिनेटको समय लागेको पुष्टि गरेका छन्।
त्यस सात मिनेटको अन्धकारमा घट्टेखोला बजारमा कफी पिउँदै गरेका, मितेरी पुलतर्फ लम्किरहेका वा चिनियाँ गेट अगाडि लामबद्ध भएका कसैले पनि भाग्ने वा ज्यान जोगाउने मौका पाएनन्।
घट्टेखोला केवल एउटा नाका मात्र थिएन, त्यो एउटा चलायमान सहर थियो। पोखरेलका अनुसार त्यहाँ ५० देखि ६० वटा पक्की घर, होटल, स्थानीय व्यवसाय र चारवटा ठूला जलविद्युत् आयोजनाका सम्पर्क कार्यालयहरू थिए।
काठमाडौंबाट छुटेका रात्रि तथा दिवा बसहरूको अन्तिम गन्तव्य नै घट्टेखोला थियो। भन्सार जाँचपासको पर्खाइमा रहेका दर्जनौँ ट्रक चालक, सहचालक, भारी बोक्ने मजदुर र पर्यटक गाइडहरू त्यहीँ बास बस्थे।
‘मेरा आफ्नै ४०/५० जना घनिष्ठ साथीहरू बाढीसँगै बिलाए,‘ पोखरेल भक्कानिन्छन्, ‘आधिकारिक तथ्यांकमा जे-जति संख्या आए पनि मेरो व्यक्तिगत अनुमानमा त्यो बिहान २ हजारदेखि २५ सय मानिसहरू सोत्तर भएका हुन सक्छन्। हाम्रो कार्यालय नदीको सामान्य सतहभन्दा करिब १०० मिटर माथि थियो, तर बाढीको लेदो त्योभन्दा पनि माथिसम्म पुगेको थियो।’
‘हामी चीन छिर्न पर्खिरहेका छौं’
सीमामा रहेका भारतीय तीर्थयात्रीहरूका लागि त्यो बिहान अन्य दिनजस्तै सामान्य र रमाइलो थियो। बिहानीको चिसो हावासँगै उनीहरूले घरमा रहेका परिवारलाई भिडियो कल गरिरहेका थिए, टिकटक र फेसबुकका लागि हिमाली भिडियोहरू खिचिरहेका थिए।
भारतका सुदिप्तो भट्टाचार्य त्यस बिहान आफ्नी श्रीमती शुभ्रश्री चक्रवर्तीसँग निरन्तर ह्वाट्सएप संवादमा थिए। शुभ्रश्री ६० जनाभन्दा बढी सदस्य रहेको कैलाश यात्राको ठूलो समूहसँग थिइन्।
बिहान ७ बजेर ५७ मिनेटमा उनले आफ्नो राहदानीमा लागेको नेपालको प्रस्थान छापको फोटो खिचेर श्रीमान्लाई पठाइन्। त्यसको ६ मिनेटपछि, अर्थात् बिहान ८ः०३ बजे उनले अर्को छोटो म्यासेज लेखिन्, ‘हामी चीन प्रवेश गर्न पर्खिरहेका छौं।’
त्यस म्यासेजपछि शुभ्रश्रीको मोबाइलमा ‘डबल टिक’ देखिएन।
उता चिनियाँ अध्यागमन क्षेत्रमै कैलाश पर्वतको परिक्रमा सकेर फर्किँदै गरेका सदगुरुको ‘ईशा फाउन्डेशन’ सँग आबद्ध ७७ जना भारतीय तीर्थयात्रीहरूको समूह पनि तीन जना सहयोगीसहित त्यहीँबाट सम्पर्कविहीन बन्यो।
घटनापछि जिरोङ पुगेको २१ सदस्यीय चिनियाँ उद्धार टोलीका एक सदस्यले रोयटर्ससँग भनेका थिए, ‘हामी पुग्दा त्यहाँ आँखाले देख्न सक्ने क्षितिजसम्म केवल ढुङ्गा, लेदो र भग्नावशेषबाहेक जीवनको कुनै नामोनिसान बाँकी थिएन।’
यो नाकाले भर्खरै मात्र अर्को ठूलो प्राकृतिक विपत्तिबाट पुनर्जीवन पाएको थियो। सन् २०२५ को जुलाईमा आएको बाढीले रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि चीनले ६ महिना लगाएर अस्थायी पुल निर्माण गरी जनवरी १ देखि बल्ल सञ्चालनमा ल्याएको थियो।
त्यसपछि सीमामा व्यापार तीव्र रूपमा बढेको थियो। चिनियाँ सीमा अधिकारीहरूका अनुसार जुन महिनासम्म मात्रै १ लाखभन्दा बढी मानिसले जिरोङ नाका भएर यात्रा गरेका थिए।
नेपाली अध्यागमनको अभिलेखअनुसार पनि जुलाईको मध्यसम्म ५३ हजार ७४२ जनाको आवागमन दर्ता भइसकेको थियो। सबैभन्दा ठूलो हिस्सा भारतीय तीर्थयात्री र त्यसपछि नेपाली तथा चिनियाँ व्यापारीहरूको थियो।
काठमाडौंस्थित आर्थिक अनुसन्धान संस्था ‘साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोमेन्ट’ का पूर्वअध्यक्ष डा. पोषराज पाण्डेका अनुसार नेपाल र चीनबीचको करिब २.९५ अर्ब अमेरिकी डलर बराबरको कुल व्यापारमध्ये झण्डै एक तिहाइ कारोबार रसुवागढी नाकाबाटै हुने गर्दथ्यो।
‘दैनिक ६० देखि ७० वटा ठूला कन्टेनरहरू इलेक्ट्रोनिक्स, भारी मेसिनरी, लत्ताकपडा, फलफूल र सवारीसाधन बोकेर काठमाडौं भित्रिन्थे,’ डा. पाण्डे भन्छन्, ‘नेपालमा आयात हुने कुल विद्युतीय गाडी (ईभी) मध्ये ८० प्रतिशत यही बाटोबाट आउँथ्यो। यो नाका प्रस्तावित ‘ट्रान्स-हिमालयन रेलवे’ को मुख्य प्रवेशद्वारसमेत हो।’
रसुवागढी पूर्ण रूपमा ध्वस्त भएपछि नेपालको उत्तरी व्यापारिक निर्भरता सिन्धुपाल्चोकको तातोपानी नाकामा सरेको थियो। तर, चिनियाँ पक्षले नेपालतर्फको पहिरोको उच्च जोखिम देखाउँदै तातोपानी नाकासमेत तत्कालका लागि बन्द गरिदिएको छ।
डा. पाण्डे नेपालको पूर्वाधार विकास रणनीतिमै गम्भीर त्रुटि रहेको औंल्याउँछन्। ‘हामीले हाम्रा सबै अण्डा एउटै टोकरीमा राख्यौं,’ उनले भने, ‘एउटै नदी प्रणालीमा दर्जनौं जलविद्युत् आयोजना थुपार्ने र एउटै असुरक्षित मार्गमा सिङ्गो देशको व्यापार निर्भर गराउने नीति घातक साबित भएको छ। अब हामीले तत्काल वैकल्पिक सीमा नाकाहरू विकास गर्नैपर्छ।’
काठमाडौंमा रहेका अध्यागमन सहायक टीकाराम पोखरेल आज पनि आफ्ना ती चार सहकर्मी र सयौँ परिचित अनुहारहरूलाई सम्झेर टोलाइरहन्छन्।
अघिल्लो वर्षको बाढीपछि रसुवागढीका कर्मचारीहरू सधैं एउटा अज्ञात त्रासमा बाँचिरहेका हुन्थे। रातको समयमा सानो कम्पन महसुस हुँदा पनि उनीहरू ओछ्यानबाट जुरुक्क उठेर टर्च बाल्दै नदीको बहाव हेर्न निस्कन्थे। यदि फेरि त्यस्तै बाढी आइहालेमा कुन बाटो भएर माथिल्लो डाँडाको चरन क्षेत्रतर्फ भाग्ने भनेर उनीहरूले आपसमा योजना पनि बनाएका थिए।
‘हामीले विपद् आयो भने कसरी भाग्ने भनेर धेरैपटक सल्लाह गरेका थियौं,’ पोखरेलले गहभरि आँसु पार्दै अन्तिममा भने, ‘तर त्यो दिन काल यसरी आयो कि मेरा साथीहरूले ती योजना सम्झिने र एक पाइला पर भाग्ने मौकासमेत पाएनन्।’
प्रकाशित: १६ भाद्र २०८३ १७:५९ मंगलबार



