समाज

उद्धारका लागि भारतले टनेल रेस्क्यु टोली पठाउने

रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि भारतले नेपालमा ‘टनेल रेस्क्यु टिम’ पठाउने तयारी गरेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालको अनुरोधमा उद्धार टोली नेपाल पठाउन लागिएको जानकारी दिएका हुन्। 

उनका अनुसार उद्धार टोली पठाउनुअघि आवश्यक उपकरण तथा सामग्रीबारे जानकारी लिन रेक्की टोली नेपाल पठाइनेछ। भारतले स्वास्थ्यकर्मीको टोलीसमेत नेपाल पठाउने तयारी गरेको जैसवालले बताए। त्यसैगरी, भारतमा रहेको एउटा बेलीब्रिज नेपालमा प्रयोग गर्न सकिने जानकारी पनि उनले दिएका छन्। नेपालले शुक्रबार भारत र चीनलाई ४२ वटा बेलीब्रिज पठाइदिन आग्रह गर्दै पत्राचार गरेको थियो। 

भारतले नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) का उद्धारकर्तालाई नेपाल पठाउने प्रस्तावसमेत गरेको छ। उक्त प्रस्तावबारे नेपाल सरकारको जवाफको प्रतीक्षामा रहेको जैसवालले बताए। यसैबीच, भारतले शुक्रबार साँझसम्म करिब १३ टन राहत सामग्री बोकेको तेस्रो विमान काठमाडौं पठाउने तयारी गरेको पनि उनले जानकारी दिए। 

नेपालबाट उद्धार गरिएका २१ जना तमिलनाडुका नागरिक दिल्ली पुगेको जैसवालले बताए। उनीहरूको उद्धारमा सहयोग गरेको भन्दै भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली सेना र नेपाल सरकारलाई धन्यवाद दिएका छन्।

प्रकाशित: १२ भाद्र २०८३ १७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App