समाज

ट्याक्टर दुर्घटनामा घाइते १४ वर्षीय बालकको मृत्यु

खोटाङमा शुक्रबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा घाइतेमध्ये एक बालकको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका १४ वर्षीय दिवस परियारको उपचारका क्रममा मृत्यु भएको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेलाबाट भक्तजन बोकेर फर्किरहेको ना.५ त ४५५५ नम्बरको ट्याक्टर सोही नगरपालिकाको वडा नम्बर २ सोल्मास्थित छेपेखोलामा दिउँसो करिब २:३० बजे दुर्घटनामा परेको थियो।

दुर्घटनामा गम्भीर घाइते परियारलाई उद्धार गरी दिक्तेलस्थित जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। पोस्टमार्टमका लागि उनको शव बाटोबाटै फर्काएर जिल्ला अस्पताल खोटाङमा ल्याइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ४५ वर्षीय सविन तिरुवा, ९ वर्षीय योनिश विश्वकर्मा र ३५ वर्षीया बिमला विश्वकर्मा गम्भीर घाइते छन्। उनीहरूको टाउको, हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

प्रहरीका अनुसार लफ्याङकै एउटै गाउँका करिब ४० जना भक्तजन भुलभुले मन्दिरमा लागेको धार्मिक मेला भरेर ट्याक्टरमा फर्किंदै गर्दा दुर्घटना भएको हो।

दुर्घटनामा घाइतेमध्ये १६ जनाको अवस्था खतरामुक्त रहेको छ। बाँकी घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको अस्पतालले जनाएको छ।

काठमाडौं रेफर गरिएकामा ५७ वर्षीया लुलादेवी विश्वकर्मा, ५० वर्षीय राजन विश्वकर्मा, ५१ वर्षीय रामबहादुर विश्वकर्मा, ३४ वर्षीय सीताराम विश्वकर्मा, ३५ वर्षीय बुडीराम विश्वकर्मा, १७ वर्षीया चन्द्रकला विश्वकर्मा, २३ वर्षीय नवीन परियार, २१ वर्षीया मनिका परियार, ४० वर्षीया बिना परियार, १४ वर्षीया दिपसना परियार, १८ वर्षीया निशा परियार, १६ वर्षीय युकेश तिरुवा, १८ वर्षीय मन्दिप तिरुवा र १२ वर्षीय न्युकेश तिरुवा छन्।

प्रहरीका अनुसार घाइतेमध्ये ३० वर्षीया लिला श्रेष्ठबाहेक अधिकांश दलित समुदायका छन्। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १२ भाद्र २०८३ २२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App