राजनीति

भारतबाट उद्धार र राहतका लागि थप सहयोग आउँदै

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग गर्न भारतले नेपालमा ‘टनेल रेस्क्यु टिम’ पठाउने तयारी गरेको जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा नेपालको अनुरोधपछि उद्धार टोली पठाउन लागिएको जानकारी दिएका हुन्। उनका अनुसार टोली पठाउनुअघि आवश्यक सामग्री तथा उपकरणबारे जानकारी लिन भारतले रेक्की टोली नेपाल पठाउनेछ।

भारतले स्वास्थ्यकर्मीको टोलीसमेत नेपाल पठाउने तयारी गरेको जैसवालले बताए।

यसैबीच, नेपालमा रहेको एउटा बेलीब्रिज समेत आवश्यकताअनुसार प्रयोग गर्न सकिने उनले जानकारी दिए। बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा पुलमा क्षति पुगेपछि नेपालले शुक्रबार भारत र चीनसँग ४२ वटा बेलीब्रिज उपलब्ध गराइदिन आग्रह गर्दै पत्राचार गरेको थियो।

भारतले नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) का उद्धारकर्तालाई समेत नेपाल पठाउने प्रस्ताव गरेको जैसवालले बताए। उक्त प्रस्तावबारे नेपाल सरकारको जवाफको प्रतीक्षा भइरहेको उनको भनाइ छ।

त्यस्तै, भारतले शुक्रबार साँझसम्म करिब १३ टन राहत सामग्री बोकेको तेस्रो विमान काठमाडौं पठाउने तयारी गरेको जनाएको छ।

यसअघि भारतले नेपालबाट उद्धार गरिएका तमिलनाडुका २१ जना नागरिक दिल्ली पुगेको जानकारीसमेत दिएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले उनीहरूको उद्धारमा सहयोग गरेकोमा नेपाली सेना र नेपाल सरकारलाई धन्यवाद दिएका छन्।

प्रकाशित: १२ भाद्र २०८३ १८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App